२१ फागुन, नुवाकोट । प्रतिनिधिसभा निर्वाचनका लागि आज नुवाकोटमा उत्साहजनक रुपमा मतदान जारी छ । दिउँसो दुई बजेसम्मको समयमा करिब ४० प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
अहिलेसम्म शान्तिपूर्ण वतावरणमा मतदान भइरहेको जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीले बताए ।
दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा मतदातासँगै उम्मेद्वारहरुले पनि मत दिएका छन् । क्षेत्र नं. १ बाट उम्मेद्वार रहेका नेकपाका हितबहादुर तामाङले पञ्चकन्यास्थित केन्द्रबाट मतदान गरेका छन् भने क्षेत्र नं. २ मा हिरानाथ खतिवडाले विदुर नगरपालिकास्थित चण्डेश्वरी केन्द्रमा मतदान गरेका छन् ।
यसैगरी, नेपाली कांग्रेसका १ नं. क्षेत्रका डा. प्रकाशशरण महत, २ बाट जगदिश्वर नरसिंह केसी, एमालेका क्षेत्र नं. १ का उम्मेदवार बद्री मैनाली, २ बाट केशवराज पाण्डेले मतदान गरेका छन् ।
रास्वपाका विक्रम तिमल्सिनाले क्षेत्र नं. १ मा र अच्युतम् लामिछानेले २ मा मत दिएका छन् ।
मतदाताहरुको उत्साहपूर्वक सहभागिता देखिएको छ । विगतको तुलनामा आजको निर्वाचन सभ्य र शान्तिपूर्वक भइरहेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरिक्षक रेग्मीका अनुसार अहिलेसम्म कुनैपनि अप्रिय घटना भएको छैन ।
निर्वाचन तयारीका लागि धेरै दिनअघिदेखि नै सुरक्षा व्यवस्था मजबुत पारिएकाले कुनैपनि विवाद वा अवरोध हुन नपाएको र शान्त वातावरणमा मतदान चलिरहेको रेग्मीले जानकारी दिए ।
अघिल्ला निर्वाचनहरुभन्दा यसपटक धेरै मत खस्ने अनुमान गरिएको नुवाकोट जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले दाबी गरे ।
नुवाकोटमा कुल २ लाख ४७ हजार ८६८ मतदाता छन् । उनीहरुले जिल्लामा १३२ मतदान स्थलका २९३ मतदान केन्द्रहरुबाट मतदान गर्नेछन् ।
क्षेत्र नं. १ मा एक लाख २३ हजार ९२९ मतदाताले ६८ मतदान स्थलका १४४ केन्द्र र क्षेत्र नं. २ मा एक लाख २३ हजार ९३९ जना मतदाताले ६४ मतदान स्थलका १३९ केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया 4