News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले बिहीबार अपरान्ह ३ बजेसम्म करिब ५० प्रतिशत मत खसेको आंकलन गरेको छ।
- निर्वाचन आयुक्त डा. जानकी तुलाधरले १६५ निर्वाचन क्षेत्रबाट मत विवरण अद्यावधिक भइरहेको र ५ बजेसम्म इन्ट्री पूरा हुने बताउनुभयो।
- मतदानपछि मतपेटिका हेलिकप्टरबाट ल्याउने योजना छ र मतगणना आजै बेलुकीदेखि सुरु हुनसक्छ।
निर्वाचन आयोगले बिहीबार अपरान्ह ३ बजेसम्म करिब ५० प्रतिशत मत खसेको आंकलन गरेको छ । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले अनलाइनखबरसँगको संक्षिप्त प्रतिक्रियामा करिव ४० देखि ५० प्रतिशत मत खसेको र त्यसको अद्यावधिक विवरण आइरहेको बताइन् । आयुक्त तुलाधरसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी :
अहिलेसम्म मतदानको अवस्था के छ ?
अहिले १६५ निर्वाचन क्षेत्रबाट नै विवरण अद्यावधिक गर्ने क्रम चलिरहेको छ । विवरण प्रणालीमा इन्ट्री भइसकेपछि हामीले प्रकाशित गर्नेछौं । कहि धेरै मतदान भएको देखिन्छ । कतै विवरण अद्यावधिक गर्ने काम चलिरहेको छ । सालाखाला ४० देखि माथि ४५ सम्म र कतिपयमा ५० स्थानमा मत खसेको छ ।
मतदानको अद्यावधिक विवरण कति बेलासम्म आउला ?
हामीले आफ्नो प्रणालीमा अपडेट गरिरहेका छौं । मतदाताको भीड भएको ठाँउमा कर्मचारीहरूलाई विवरण इन्ट्री गर्न समय लागेको छ । कतै फुर्सद भएको अवस्थामा कर्मचारीले इन्ट्री गर्नुभएको छ । मलाई लाग्छ, ५ बजेसम्म इन्ट्री भइसक्छ होला ।
केही ठाँउमा मतदान स्थगित भएको कुरा आएको छ ? किन होला ?
सुचारु भइरहेको छ । दोलखामा पनि फेरि मतदान सुचारु गर्ने प्रयास भइरहेको छ । सर्वदलीय बैठक बसेको यहाँले पनि जानकारी पाइसक्नुभएको होला । सबै क्षेत्रमा मतदान भइरहेको छ ।
अहिलेसममको अवस्थामा विगतको तुलनामा यसपालीको निर्वाचन कस्तो हो ?
विगतभन्दा राम्रोसँग निर्वाचन भएको पाएका छौं । अहिलेसम्म सबै केन्द्रहरुमा मतदान चालु हुनु भनेको धेरै राम्रो हो । यसले स्वतः अघिल्लो भन्दा राम्रो मतदान भएको छ ।
हिमाली क्षेत्रमा आज कसरी मतपेटिका व्यवस्थापन गरिन्छ ?
मतदान भइसकेपछि हामीले हेलिकप्टरबाट ल्याउने योजना छ । आजैदेखि त्यसको शुरुवात हुन्छ ।
अनि कहिलेदेखि र कसरी मतगणना सुरु हुन्छ ?
मतगणनास्थलमा सबै ठाँउको मतपेटिका आउनासाथ मतगणना सुरु हुन्छ । आजै बेलुकीदेखि नै सुरु हुनसक्छ ।
कहिलेसम्म नतिजा आउला ?
निर्वाचन आयोगले छिटोभन्दा छिटो मतगणनाको नतिजा दिने कोशिस गरिरहेको छ ।
आजको मतदानबारे आयोगले आज कतिबेलासम्म आफ्नो विवरण दिनसक्छ ?
हामीले अपरान्ह ६ बजे पत्रकार सम्मेलन गर्ने योजना बनाएका छौं । त्यहाँ यहाँहरुले सबै कुरा पाउनुहुन्छ ।
प्रतिक्रिया 4