+
+
Shares

पछि परे एमालेका चर्चित उम्मेदवार, रास्वपा हाबी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ६:१४

२२ फागुन, काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा नेकपा एमालेका प्राय सबैजसो चर्चित नेता निकै पछि परेका छन् ।

बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ ।

प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ ।

रुपन्देही क्षेत्र नम्बर २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेल पछि परेका छन् । रुपन्देही क्षेत्र नं २ का ताजा मतगणनामा रास्वपाले शुरुवाती अग्रता लिएको छ । तिलोत्तमा वडा नं १ को मतगणना सकिंदा  रास्वपाका सुलभ खरेलले २७ सय ७९ मत पाउँदा एमालेका विष्णुप्रसाद पौडेलले ६०९ मत पाएका छन् ।

नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले ३०५ र नेपाली कम्युनिष्ट पार्टीका सुभास पाण्डे (विश्वदीप)ले ३५ मत पाएका निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए । रुपन्देही २ मा एकलाख ३५ हजार ५० मतदाता छन् ।

यसैगरी काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेल पनि प्रारम्भिक मत गणनामा पछि परेका छन् ।  यस क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन् । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १ हजार ४२४ मतसहित सुरुवाती अग्रता लिएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल छन् । उनले ४१२ मत प्राप्त गरेका छन् । तेस्रोमा एमाले उम्मेदवार ईश्वर पोखरेलले २८५ मत प्राप्त गरेका छन् । बुढानीलकण्ठ–६ को मत गणना हुँदा आएको यो प्रारम्भिक मत हो ।

यसैगरी भक्तपुर क्षेत्र नम्बर २ का एमाले उम्मेदवार महेश बस्नेत पनि पछि परेका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले निरन्तर मत अगाडि बढाइरहेका छन् । बिहान ५ बजेसम्मको मत गणना अनुसार खत्रीले २००० मत पाउँदा बस्नेतले १ हजार २८१ मत ल्याएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका कबीर रानाले १७४ मत सहित पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?