२२ फागुन, संखुवासभा । सङ्खुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपेटीका सङ्कलन जारी छ । शुक्रबार बिहान सम्म जिल्लाका १० स्थानीय तहमध्ये ८ स्थानीय तहको मतपेटीका सङ्कलन भइसकेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताए ।
जिल्लाका १ सय ९ मतदानस्थलका १ सय ६४ वटा मतदान केन्द्र मध्ये ९ वटा मतदान केन्द्रको मतपेटीका प्राप्त हुन बाँकी छ । भौगोलिक रूपमा निकैविकट सडक सञ्जाल नपुगेका भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रका ९ वटा मतदान केन्द्रको मतपेटीका शुक्रबार साँझ सम्म आइपुग्ने प्रमुख जिल्ला अधिकारी थपलियाले बताए ।
जिल्लाका भौगोलिक रूपमा निकै विकट मानिएका ५ वटा मतदान केन्द्रका मतपेटीका हेलिकप्टर मार्फत ल्याइने भएको छ । भोटखोलाका तीन र सिलिचोङ गाउँपालिकाका दुई मतदान केन्द्रका मतपेटीका सेनाको हेलिकप्टर मार्फत ल्याइने भएको छ ।
जिल्लाका भौगोलिक रूपमा निकै विकट मानिएको भोटखोला गाउँपालिकाअन्तरर्गतका थुदाममा, रिदाक र किमाथाङ्का र सिलिचोङ गाउँपालिका –५ को खेम्पालुङ आधारभूत विद्यालयको र वडा नम्बर ३ को शिव शक्ति माध्यमिक विद्यालय काम्पेक मतदान केन्द्रको मत पेटीका शुक्रबार दिउँसो हेलिकप्टर मार्फत ल्याइने प्रजिअ थपलियाले बताए ।
सडक सञ्जाल नपुगेका केही स्थानमा मतपेटीका आउन समय लाग्ने भएका कारण मतगणना भने २२ गते राति देखि मात्र हुने बताइएको छ ।
मतगणनाका जिल्ला समन्वय समितिको सभा हलमा मत गणना स्थल समेत तयार पारिसकिएको छ । गणना स्थलमा सिसी क्यामेरा र तारजाली सहितको सुरक्षा व्यवस्था रहेको प्रजिअ थपलियाले बताए ।
प्रतिक्रिया 4