News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले संसद्मा आफू सबैभन्दा वरिष्ठ र निर्णायक नेता रहने दाबी गरेका छन्।
- प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सल्लाह बिना सरकार सञ्चालन गर्न नसक्ने र सल्लाह लिएर मात्र सरकार बनाउने बताए।
- उनले गत भदौ २३ र २४ को 'जेनजी' आन्दोलनले नयाँ तरंग ल्याएको र स्थिरता दिने जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गरे।
२२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको भावी राजनीति र संसद्मा आफ्नो भूमिका निर्विकल्प रहेको दाबी गरेका छन्।
प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले अबको संसद्मा आफू नै सबैभन्दा ‘वरिष्ठ’ र ‘निर्णायक’ नेताका रूपमा रहने जिकिर गरेका हुन्।
विजयी र्यालीपछि आयोजित कोणसभामा बोल्दै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका अन्य स्थापित शीर्ष नेताहरू यसपटकको प्रतिस्पर्धामा पाखा लाग्ने अवस्था आएको टिप्पणी गरे।
‘यस पटकको निर्वाचनमा केपी ओलीसहित आफ्नै दलका कतिपय नेताहरूले जित्ने छाँटकाँट देखिँदैन’ उनले भने, ‘मुलुकको राष्ट्रिय राजनीतिको मियो र संसद्को सबैभन्दा अनुभवी नेतृत्व अब म नै हूँ।’
आफ्नो दलको नेतृत्वमा सरकार बन्ने गणितीय सुनिश्चितता नभए पनि नयाँ उदायका शक्तिहरूले आफ्नो छत्रछायामै रहनुपर्ने उनको तर्क छ । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सल्लाह र मार्गनिर्देशनबिना सरकार सञ्चालन गर्न नसक्ने उनले दाबी समेत गरेका छन् । ‘रास्वपाले मसँगै सल्लाह र सुझाव लिएर मात्र सरकार बनाउनेछ’ उनले भने।
सम्बोधनका क्रममा उनले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनलाई समेत सम्बोधन गरे। उक्त युवा विद्रोहले मुलुकको राजनीतिमा नयाँ तरंग ल्याएको र त्यसलाई सही तार्किक निष्कर्षमा पुर्याउने ल्याकत आफूसँग मात्रै रहेको उनले जिकिर गरे।
युवा पुस्ताको आक्रोशलाई सम्बोधन गर्दै देशलाई स्थिरता दिने जिम्मेवारी अब आफ्नो काँधमा आएको उनले भने ।
प्रतिक्रिया 4