२२ फागुन, पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) उम्मेदवार उत्तमप्रसाद पौडेलको जित सुनिश्चित भएको छ । ५२ हजार ७३६ मत खसेकोमा हालसम्म ४१ हजार ५४१ सदर मत गणना भएको छ । यस्तै एक हजार ५७२ मत बदर भएको छ ।
अब ११ हजार १९५ मत गन्न बाँकी हुँदा रास्वपा उम्मेदवार पौडेल १८ हजार ८१७ मतान्तरले अगाडि छन् । उत्तमले २५ हजार १३७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रश्मी आचार्यले ६ हजार ३२० मत ल्याएका छन् ।
नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तेस्रो हुँदै ४ हजार ६६९ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले एक हजार १०७ मत ल्याउँदा राप्रपाका उम्मेदवार हेमजङ गुरुङले एक हजार २५८ मत ल्याएका छन् ।
उज्यालो नेपाल पार्टीका कुशल गुरुङले ९२७ मत प्राप्त गरेका छन् । निर्वाचन आयोगले गणना सकेर मतपरिणाम घोषणा गर्ने तयारी गरेको छ ।
कास्की-२ मा अघिल्ला निर्वाचनहरूमा एमालेले जित्दै आएको थियो । रास्वपा सभापति रवि लामिछानेसँगै टेलिभिजनमा काम गरेका पौडेलले यसपटक एमालेको विरासत तोड्दै संसद्को यात्रा तय गरेका छन् ।
प्रतिक्रिया 4