News Summary
Generated by OK AI. Editorially reviewed.- मोहम्मद ईश्तियाक राईले बाँके-२ बाट २४ हजार ६२६ मत ल्याएर नेकपा एमालेलाई पहिलो जित दिलाएका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठले १८ हजार ५८१ मत ल्याएर निकटतम प्रतिस्पर्धा गरेका थिए।
- ईश्तियाकले ५ माघमा एमाले प्रवेश गरी ०७४ सालदेखि विभिन्न दलमा रहेर राजनीतिक करिअर बनाएका छन्।
२३ फागुन, काठमाडौं । मोहम्मद ईश्तियाक राईले बाँके-२ बाट निर्वाचित भएर नेकपा एमालेलाई पहिलो जित दिलाएका छन् । २४ हजार ६२६ मत ल्याएर उनले एमालेका निम्ति जितको खाता खोल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठ निकटतम प्रतिद्वन्द्वी बने ।
श्रेष्ठले १८ हजार ५८१ मत ल्याएका छन् । ६ हजारको मतान्तरमा जितेका ईश्तियाकले गणनाभर अग्रता लिएका थिए । उनको अग्रता र जित एमालेका निम्ति ठूलै राहत बन्न पुगेको छ ।
एकल बहुमततिर लम्किरहेको रास्वपाले १२ स्थानमा जित हासिल गर्दा एमालेले खाता खोल्न समेत सकेको थिएन । नेपाली कांग्रेसले ४ र नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जित निकालेपछि बल्ल एमालेका निम्ति इश्तियाक राईले खाता खोलेका हुन् ।
१३ स्थानमा मात्र अग्रता लिएको एमालेका निम्ति एकप्रकारले सान्त्वाना जित निकालेका ईश्तियाक नवएमाले हुन् । उनी मनोनयन दर्ताको अघिल्लो दिन ५ माघमा एमाले प्रवेश गरेका थिए ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एमालेमा प्रवेश गर्न उनले बाँके–२ को टिकटलाई सर्त बनाएका थिए । ईश्तियाकसँगै प्रदीप यादवले पनि पर्सा–१ को टिकट लिएर एमाले प्रवेश गरेका थिए । यद्यपि यादव भने मत गणनामा पछाडि परेका छन् ।
तर एमाले प्रवेशको लाभ उठाउँदै ईश्तियाक राईले जितेका छन् । देशभर रास्वपाको लहर आउँदा इश्तियाक राईले एमाले प्रवेश गरेर जित्ने आधार भने सत्ता यात्रासँगै शुरु भएको थियो ।
०७४ सालको निर्वाचनपछि केपी ओली नेतृत्वको सरकारमा उनी सहभागी थिए । त्यो सरकारमा सहरी विकास मन्त्री बनेबाटै उनी ओली नजिक हुने अवसर पाएका थिए ।
०८१ साल असारमा उपेन्द्र यादव नेतृत्वको जसपा विभाजित हुँदा उनले अशोक राई खेमा रोजे । तर यो निर्वाचनको मुखमा पार्टी जसपा छोडेर एमाले प्रवेश गर्दै उम्मेदवार बनेका थिए ।
ईश्तियाकको राजनीतिक करिअरमा एमाले बन्नु चौथो पार्टी प्रवेश हो । ०३६ सालका उनले ०५३ सालमा राप्रपाबाट राजनीति थालेका थिए ।
०६४ सालको मधेश आन्दोलनसँगै उनी उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरममा लागे । उपेन्द्रकै पार्टीको उम्मेदवार बनेर बाँके–२ बाट ०६४ र ०७४ सालको निर्वाचन निर्वाचन जितेका उनले ०७० र ०७९ को निर्वाचन पराजित भएका थिए ।
पहिलोपटक निर्वाचन जितेपछि उनी श्रम तथा यातायात मन्त्री बनेका थिए । उनी जसपाको केन्द्रीय महासचिव बनिसकेका छन् ।
प्रतिक्रिया 4