+
+
Shares

पूर्वसुरक्षाकर्मीको संसदीय यात्रा

बालेन शाहका विश्वास पात्र मानिने पाण्डेले नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि फुटपाथ व्यवस्थापन, शहरी सुव्यवस्था, ट्राफिक अनुशासन र अव्यवस्थित संरचना हटाउने अभियान चलाएका थिए ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ फागुन २३ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका पूर्वमहानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र पूर्वडीएसपी गोविन्द पन्थी पहिलो प्रयासमै संसदमा विजयी भएका छन्।
  • पूर्वसुरक्षाकर्मी शम्भु सुस्केरा झापा क्षेत्र नम्बर ४ बाट अग्रस्थानमा छन् र दोस्रो प्रयासमा संसद छिर्ने सम्भावना छ।
  • पूर्वएसएसपी थापा कपिलवस्तु-२ बाट अग्रस्थानमा छन् र दोस्रो प्रयासमा संसद छिर्ने संघारमा पुगेका छन्।

२३ फागुन, काठमाडौं । दुई पूर्वसुरक्षाकर्मीले जित निकाल्दै संसदीयको यात्रा निश्चित बनाएका छन् । संयोग यी दुवै सुरक्षाकर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन् ।

यसरी विजयी हुनेमा काठमाडौं महानगरपालिकाका पूर्वमहानगर प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डेदेखि र प्रहरीका पूर्वडीएसपी गोविन्द पन्थी छन् ।

यी दुवै उम्मेदवारले चर्चित र निकै कठिन प्रतिस्पर्धी भनिएका हाई प्रोफाइल उम्मेदवारलाई पराजित गरेका छन् ।

चुनावको मुखमा पार्टी प्रवेश गरे लगत्तै संसदको यात्रा

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा रास्वपाबाट उम्मेदवार बनेका पूर्वडीएसपी पन्थी नेकपा एमालेका उम्मेदवार (एमाले उपाध्यक्ष) गोकर्ण बिष्टलाई ४९६ मतान्तरले पराजित गर्दै विजयी भए ।

पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिष्टले १६ हजार ३८२ मत प्राप्त गरे ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठ १४ हजार ४०५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।

रास्वपाको उम्मेदवार बन्नुपूर्व उनी कुनै पार्टीमा आबद्ध थिएनन् । ३० वर्ष प्रहरी सेवा गरेर डीएसपी दर्जाबाट उनी २०८१ सालमा अवकाश भएका थिए ।

त्यसपछि अधिवक्ताको रुपमा काम गर्दै आएका उनी चुनावको मुखमा रास्वपामा प्रवेश गरेर उम्मेदवार बनेका थिए । पहिलो प्रयासमै सफल भएका उनी अब संसद छिर्ने छन् ।

उनी प्रहरीमा रहँदा वैदेशिक रोजगारी ठगी मानव बेचबिखनविरुद्ध आफूले ठूलो काम गरेको दाबी गर्छन् ।

महानगर प्रहरीबाट अब सांसद

महानगर प्रहरीबाट संसद छिरेका राजुनाथ पाण्डेले चर्चित उम्मेदवार कुलमान घिसिङलाई हराए । काठमाडौं ३ मा रास्वपाबाट उम्मेदवार बनेका पाण्डे सहज जित निकाले ।

उनले १८ हजार ७५७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याए ।

यहाँ कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयाँलले ३ हजार ८१६ मत ल्याए ।

राजनीतिमा लाग्नुपूर्व उनी महानगर प्रहरी थिए । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी प्रमुख (एसएसपी)को रूपमा उनी कार्यरत थिए ।

मेयर बालेन शाहले समेत राजीनामा दिएर रास्वपा प्रवेश गरेपछि उनका विश्वासपात्र पाण्डे पनि राजनीतिमा होमिएका थिए । उनी पनि पहिलो प्रयासमै निर्वाचित भए ।

पाण्डेको जन्म २६ माघ २०२७ मा नुवाकोटमा भएको हो । हाल उनी काठमाडौं महानगरपालिका सामाखुसीमा बसोबास गर्दै आएका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् । पाण्डे २०५० सालमा काठमाडौं महानगरपालिकाको नगर प्रहरी सेवामा प्रवेश गरेका थिए । उनले विभिन्न जिम्मेवारी सम्हालेका छन् ।

भदौ २०७९ मा तत्कालीन महानगर प्रमुख बालेन्द्र शाहले पाण्डेलाई नगर प्रहरी बलको प्रमुखमा नियुक्त गरेका थिए ।

बालेन शाहका विश्वास पात्र मानिने पाण्डेले नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि फुटपाथ व्यवस्थापन, शहरी सुव्यवस्था, ट्राफिक अनुशासन र अव्यवस्थित संरचना हटाउने अभियान चलाएका थिए ।

यद्यपि, उनको कार्यकाल विवादरहित भने रहेन । काठमाडौं महानगरमा ठेलागाडा हटाउने, संरचना भत्काउने, पार्किङ लगायतका विषयमा उनको आलोचना हुने गरेको थियो ।

२०८२ जेठमा प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण उनलाई ६ महिनाका लागि निलम्बन गरिएको थियो ।

तर, अदालतको आदेशपछि उनी पुनः आफ्नो पदमा फर्किएका थिए । पाण्डे माघ ४ गते नगर प्रहरी प्रमुख पदबाट राजीनामा दिएर राजनीतिमा होमिएका थिए ।

सुस्केरा दोस्रो प्रयासमा संसद छिर्ने संघारमा

संसद छिर्ने संघारमा रहेका अर्का पूर्वसुरक्षाकर्मी हुन् शम्भु सुस्केरा (शम्भुप्रसाद ढकाल) । झापा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका उनी १८ हजार ८११ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लालप्रसाद साँवा लिम्बु (एसलबी) ले जम्मा ५ हजार ५९० मत ल्याएका छन् । सुस्केरा जितको नजिक छन् ।

२ मंसिर २०३२ सालमा खोटाङको लामाखुमा जन्मेका सुस्केरा २०३६ सालमा झापा झरेका थिए । झापाको कनकाई नगरपालिका–१ मा बस्दै आएका उनी पूर्व नेपाल प्रहरी हुन् ।

वास्तविक नाम शम्भुप्रसाद ढकाल भए पनि शम्भु सुस्केराबाटै उनी परिचित छन् । यही नामबाट ‘शहीदकी आमा’ र ‘सरोगेट लोग्ने’ कथा संग्रह उनले प्रकाशित गरे ।

१० वर्षदेखि प्रहरी जवानको लोक सेवा तयारी पुस्तक भने उनले शम्भु ढकाल नामबाटै प्रकाशित गरे ।

झापाकै कनकाई क्याम्पसबाट उनले प्सटु उतिर्ण गरेका छन् । समाजशास्त्रमा स्नातक र राजनीतिशास्त्रमा उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तिर्ण गरेका छन् ।

प्रहरीमा रहँदा प्रहरी कार्यक्रमका लागि १ वर्ष रेडियो कान्तिपुर, १४ वर्ष रेडियो नेपालमा कार्यक्रम उत्पादक र प्रस्तोताको रुपमा उनले काम गरे ।

ट्राफिक एफएममा ३ वर्ष कार्यक्रम प्रमुखको रुपमा काम गरे । २२ वर्षसम्म प्रहरीमा सेवा गरेका उनी सई पदबाट राजिनामा दिएर राजनीतिमा होमिए ।

काठमाडौंको मेयरमा बालेनलाई जिताउन महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछन् ।

‘२०७९ को स्थानीय निर्वाचनमा काठमाडौको मेयरमा रमेश खरेल र बालेन शाह दुबै उठ्ने तयारीमा थिए । २०७४ मा रन्जु दर्शना र किशोर थापाकोझैँ हारको हाल नहोस् भनेर रमेश खरेलाई पछि हट्न अनुरोध गरेँ । बालेन र रमेशको भेट र सहमति गराउन भूमिका खेलेँ । अन्ततः बालेन निर्वाचित भए’ सुस्केरा भन्छन् ।

त्यसैबाट हौसिएर वैकल्पिक भनिने शक्ति र व्यक्तिको एकताका लागि टिम बनाउनु प्रयास गरेको दाबी पनि उनी गर्छन् । सबै वैकल्पिक २०७९ मा एक ठाउँमा आउन सम्भव नभएपछि त्यतिबेला रास्वपाबाट काठमाडौं–४ मा चुनाव लड्न प्रस्ताव गर्दा पार्टीले झापा–४ पठाएको उनी बताउँछन् ।

त्यतिबेला एमालेका लालप्रसाद साँवा लिम्बु (एलपी) विजयी भएका थिए । साँवाले २९ हजार ३१५ मत ल्याएर विजयी हुँदा १४ हजार ६९ मतसहित सुस्केरा तेस्रो भएका थिए ।

७ पुस २०८१ मा उनले रास्वपा झापाको जिल्ला सचिवको जिम्मेवारी सम्हाले । अहिले उनी जितको नजिक छन् ।

प्रदेशमा पराजित, संघमा छिर्ने संघारमा

जितको संघारमा रहेका अर्का पूर्वसुरक्षाकर्मी हुन् थापा । उनी कपिलवस्तु-२ बाट जित नजिक छन् । रास्वपाबाट उम्मेदवार बनेका उनी २१ हजार १४६ मतसहित अग्र स्थानमा छन् । उनलाई नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले १२ हजार १८४ मतसहित पच्छ्याएका छन् ।

थापा नेपाली कांग्रेसबाट समेत उम्मेदवार सिफारिस भएका थिए । तर कांग्रेसभित्रको आन्तरिक द्धन्द्धपछि उनी रास्वपा प्रवेश गरे । रास्वपा प्रवेश गर्दा उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत थिए ।

यसअघि उनी २०७९ को निर्वाचनमा लुम्बिनी प्रदेशसभा उम्मेदवार बनेका थिए । त्यतिबेला उनी पराजित भएका थिए । अब दोस्रो प्रयासमा भने संसद् छिर्ने संघारमा छन् ।

थापाले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख रहेर काम गरेका थिए । थापा नेपाल प्रहरीका पूर्वएसएसपी हुन् ।

ओखलढुंगामा पच्छ्याउँदै पोखरेल

रास्वपाबाट ओखलढुंगाको उम्मेदवार बनेका पूर्वएआईजी विश्वराज पोखरेल पनि नेपाली कांग्रेसका उम्मेदवारलाई पच्छ्याइरहेका छन् । कांग्रेसका कुमार लुइँटेल ६ हजार ३०१ मतसहित अग्रस्थानमा रहँदा पोखरेल ५ हजार २५८ मतसहित पच्छ्याइरहेका छन् ।

अन्य ठाउँमा भने सुरक्षाकर्मी उम्मेदवारको अवस्था नाजुक छ ।

राप्रपाबाट उम्मेदवार बनेका पूर्वआईजीपी ध्रुवबहादुर प्रधान भने हारको संघारमा छन् । पश्चिम नवलपरासीको २ बाट उम्मेदवार बनेका उनले अहिलेसम्म १ हजार ५३९ मत ल्याएका छन् । यो क्षेत्रबाट २४ हजार ९३ मतसहित रास्वपाका नरेन्द्रकुमार गुप्ता जितको नजिक छन् ।

पूर्वआईजीपी सर्वेन्द्र खनालले बारा–४ बा उम्मेदवारी दिएका थिए । उनको अवस्था भने नाजुक छ । यो क्षेत्रबाट रास्वपाका रहबर अन्सारी ४१ हजार २ सय मतसहित विजयी भएका छन् । राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवार बनेका खनालको भने जम्मा ४६४ मत छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?