News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुर–२ निर्वाचन क्षेत्रमा २१ फागुन बिहान ९ बजे युनिक नेपाल एकेडेमीमा मतदाताको बाक्लो चहलपहल देखियो।
- भक्तपुर–२ मा कुल ९८ हजार ३ सय ५६ मतदाता छन्, जसमा पुरुष ४८ हजार ७४ र महिला ५० हजार २ सय ७७ छन्।
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उक्त क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण मतदान भइरहेको प्रतिक्रिया दिएका छन्।
२१ फागुन, काठमाडौं । भक्तपुर लोहकन्थलीस्थित युनिक नेपाल एकेडेमीमा बिहान ९ बजे मतदाताको बाक्लो चहलपहल थियो ।
केन्द्र बाहिर सडक डिलमा आफ्ना संगीहरूसँगै बसेर गफिएकी रमा तामाङ भोट हाल्न आउने मुडमा भने थिइनन् । तर, साथीहरूले कर गरेपछि उनी मताधिकार प्रयोग गर्न आइन् ।
‘मलाई त खासै यस्तो भिडभाडमा जान रहर लाग्दैन,’ उनले भनिन्, ‘साथीहरूले कर गरेपछि आएकी हुँ ।’
भक्तपुर–२ वर्तमान निर्वाचनको बहुचर्चित क्षेत्रमध्ये एक हो । जहाँ एमाले नेता महेश बस्नेत चुनावी प्रतिस्पर्धामा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मत दिने क्षेत्र पनि यही हो ।
तामाङले आफ्नो भोट कहाँ दिइन्, खुलाइनन्, तर उनको अपेक्षा ‘अब देश बनोस्’ भन्ने छ । रमासँगै बसेकी उनकी साथीले थपिन्, ‘अब फेरि, जो आए पनि उस्तै त रहेछ नि भन्न चाहिँ नपरोस्, यही लेखिदिनुस् ।’
सोही केन्द्रमा भेटिएका कमल पौडेल भने अलि निराश देखिए । पाका उमेरका उनले प्रजातन्त्र आएपछि हरेक पटक मतदान गर्दै आएका छन् ।
‘मतदान त आफ्नो अधिकार भइगो, दिनैपर्यो,’ उनले भने, ‘तर, भोटको सम्मान गरेको अनुभूति गर्नै पाइएन ।’
उनले यसपालि पनि धेरै अपेक्षा गरेका छैनन् । केही खुलेर प्रस्तुत भएका पौडेल लोहकन्थलीमै आफ्नो व्यवसाय गर्छन् । सन्तान नेपालमा छैनन् ।
‘तपार्इंकै उमेरको होला मेरो छोरा, ऊ विदेशियो, युवाले आफ्नो देशमा भविष्य देखेन,’ उनले भने, ‘म एक्लै यहाँ कसरी खुसी हुन सक्छु ?’ युवा रोक्ने नीति ल्याउन उनले नयाँ नेतृत्वलाई सुझाव दिए ।
आदर्श जनप्रेमी माविमा मतदान सकेर साथीइसँग गफिँदै गरेका सक्षम बिकले समेत पहिलो पटक मतदानमा भाग लिए । उनले यसपालि युवाको प्रतिनिधित्व संसद्मा होस् भन्ने चाहेका छन् । सोही अनुसार आफूले मत दिएको समेत उनको भनाइ छ ।

‘परिवर्तन होस् भन्ने चाहना स्वाभाविक हुने भयो,’ उनले भने, ‘हामीले चाहेको त नेपालको व्यवस्था युवामैत्री बनोस् भन्ने हो, विकास होस्, शान्ति आओस् ।’
उनको भनाइमा हो मा हो मिलाए सँगै उभिएका उनका साथीहरूले । सबै साथीले भोट खसालेपछि माहोल हेर्दै सडकतिर निस्कने योजना रहेको समेत बिकले सुनाए ।
बिकसँगै रहेका उनका साथीहरू समेत देश धनी भएको हेर्ने रहर गर्छन् । अर्का एक युवाले सुनाए, ‘युवा कहाँ गए त्यो छाडिदिनुस्, देश धनी होस् त, सबै फर्केर आइहाल्छन् नि !’
अहिले अवसरका लागि युवा विदेशिए पनि उनीहरूको सपना पूरा गर्ने दायित्व अबको नेतृत्वमा हुने उनको तर्क छ । ‘होइन भने यस्ता लफडा कहिल्यै रोकिन्न,’ ठट्यौली पारामा उनले भने ।
महेन्द्र माविमा मतदानका लागि पुगेका डा. नयनबहादुर महतो पहिलो पटक मतदानमा सहभागी भए । बसाइँसराइ गरी आएपछि उनले आफ्नो मताधिकार समेत यतै ल्याए ।
जेनजी आन्दोलनले जुन परिवर्तन खोजेको छ, त्यो प्राप्त होस भन्ने अपेक्षा सहित आफूले भोट दिएको उनले प्रतिक्रिया दिए । अब आउने नेतृत्वले भ्रष्टाचार रोक्नुपर्ने उनको भनाइ छ ।
भक्तपुर–२ कै मतदाता पुष्करराज भट्टले शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको अनुभूति गरे । उनको चाहना सरकार ५ वर्ष टिकोस्, मुलुक शान्त रहोस् र दुई–दुई वर्षमा भोट हालिरहनु नपरोस् भन्ने आफ्नो चाहना रहेको बताए ।
भक्तपुर–२ का विभिन्न मतदान केन्द्रमा आफ्नो नाम नखुलाइ बोलेका अन्य मतदाताको इच्छा समेत सुशासन र भ्रष्टाचारमुक्त नेपाल होस् भन्ने थियो ।
युनिक नेपाल एकेडेमीमा मत खसालेर कौशलटारतर्फ लम्किरहेकी एक युवतीले आफ्नो नाम नखुलाइ यात्राकै क्रममा पंक्तिकारसँग गफमा सामेल भइन् ।

उनलाई राजनीतिमा धेरै चासो छैन । तर, आफ्नो क्षेत्रका यस पटकका मुख्य पार्टीका उम्मेदवारहरूलाई भने उनी चिन्छिन् । सरकारले अनलाइनबाट भोटिङ आईडी खोल्न सकिने बनाएपछि उनले पनि सोही अनुसार आफ्नो आईडी बनाइन् । उनी भक्तपुरकै रैथाने हुन् । भक्तपुरभित्र विकास निर्माणका धेरै आवश्यकता पूरा भएको छ । उनको चाहना ‘अब देश राम्रो होस् र नराम्रो खबर कतै सुन्न नपरोस्’ भन्ने छ ।
‘जताततै युद्ध, मान्छे मरेको र दुर्घटनाका खबरमात्र फेसबुकमा आउँछ,’ उनी भन्छिन्, ‘मेरो घरमा सानो भाइ छ, ऊसमेत यस्ता कुराले आत्तिन्छ ।’
कम्तीमा नेपालमा कसैको नराम्रो सुन्न नपरोस् भन्ने चाहना आफूले राखेको उनले बताइन् ।
भक्तपुर–२ निर्वाचन क्षेत्र २०७९ सालमा नेपाली कांग्रेसले जितेको थियो । जहाँ दुर्लभ थापा क्षेत्रीले जित निकाल्दा एमाले नेता महेश बस्नेत निकटतम प्रतिद्वन्द्वी थिए । यसपालि कांग्रेसबाट कविर राणा निर्वाचनमा होमिएका छन् । बस्नेत समेत मैदानमा छन् । उनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्रीले चुनौती दिएका छन् । नेकपाका रामप्रसाद सापकोटा समेत प्रतिस्पर्धामा छन् ।
भक्तपुर–२ मा आफ्नो मत खसाल्न पुगेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत त्यस क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भइरहेको आफूले पाएको प्रतिक्रिया पत्रकारलाई दिए ।
देशभरिको निर्वाचन सोही रूपमा सम्पन्न हुने अपेक्षा गर्दै उनले देशमा शान्ति–सुव्यवस्था कायम राख्न निर्वाचन महत्त्वपूर्ण रहेको समेत बताए ।
भक्तपुर–२ मा कुल ९८ हजार ३ सय ५६ मतदाता छन् । जसमा पुरुष ४८ हजार ७४ र महिला ५० हजार २ सय ७७ छ ।
प्रतिक्रिया 4