+
+
Shares

बालेनले उठाएको जोखिम जनअनुमोदित

चारपटक प्रधानमन्त्री, सात पटक सांसद, तीनपटक पार्टीको अध्यक्ष बनेका केपी शर्मा ‌ओलीलाई एमालेको गढ झापामै उत्रेर बालेन शाहले पराजित गरेका छन् । बालेनको यो विजयले अब उनको प्रधानमन्त्रीको यात्रा निश्चित गरेको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ फागुन २३ गते २१:०३

२३ फागुन, झापा । राजनीतिमा जब कोही व्यक्ति स्थापित परम्परा र सुरक्षित बाटो छोडेर अकल्पनीय जोखिम मोल्न तयार हुन्छ, तब इतिहास कोरिन्छ । ३६ वर्षीय इन्जिनियर, पूर्व र्‍यापर तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) ले त्यस्तै एउटा इतिहास कोरेका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीको अभेद्य मानिएको गढमा गएर चुनाव लड्ने घोषणा गर्दा धेरैले यसलाई बालेनको ‘अपरिपक्व राजनीतिक स्टन्ट’ वा ‘आत्मघाती कदम’ भनेका थिए ।

गत निर्वाचनमा २८ हजार ५७६ मतान्तरसहित विजयी भएका ओलीलाई उनकै आधार क्षेत्रमा हराउनु विना संगठनको पार्टीका लागि ‘फलामको च्युरा चपाउनु’ सरह मानिएको थियो । तर, बालेनले त्यो फलामको च्युरा चपाएर मात्र छाडेनन्, ६८ हजार ३४८ मतको विशाल आँधी ल्याएर ओलीलाई १८ हजार ७३४ मतमै खुम्च्याइदिए । बालेनले ओलीलाई ४९ हजार ६१४ को विशाल मतान्तरले पराजित गरेका हुन् ।

र्‍यापरदेखि राजनीतिमा, मेयर हुँदै प्रधानमन्त्रीको उम्मेदवारसम्म

काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।

चार वर्ष अगाडिसम्म नयाँ पुस्ताबीच र्‍यापरका रूपमा मात्र चर्चित बालेन २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयरमा उदाए । राजनीतिक विश्लेषकदेखि सञ्चार माध्यमसम्मले नोटिसमा नलिएको त्यो जितले नेपाली समाजभित्र मतदाताको बदलिँदो मनोविज्ञानको बलियो संकेत दिएको थियो ।

भर्चुअल संसारको लोकप्रियतालाई भूगोलको यथार्थमा बदल्न उनी खप्पिस देखिए । मेयरको कुर्सीमा बसेर उनले विकासका भिजन, शिक्षा र स्वास्थ्यमा गरेका कामले उनलाई देशव्यापी ‘क्रेज’ दियो । तर, उनको राजनीतिक परिपक्वताको असली परीक्षण ‘जेन-जी आन्दोलन’ (भदौ २३ र २४ को विद्रोह) पछि भयो ।

आन्दोलनलगत्तै सडकबाटै उनलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको थियो । तर, बालेनले त्यो ‘सर्टकट’ बाटो अस्वीकार गरे । उनले सन्देश दिए- मेरो उद्देश्य प्रधानमन्त्री हुनुमात्र होइन, प्रणाली बसाल्नु हो, बदल्नु हो ।

बालेनले सुरक्षित निर्वाचन क्षेत्र (जस्तै काठमाडौं) रोज्न सक्थे, तर उनले जानीजानी सबैभन्दा बढी मतान्तरसहित विजयी एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्ने जोखिम उठाए । उनले साथीसर्कलमा भन्ने गरेका थिए- प्रधानमन्त्री बन्ने हो भने प्रधानमन्त्रीकै उम्मेदवारलाई हराएर बन्नुपर्छ ।

यसबीचमा उनी आफ्नो जितका लागि एउटा निर्वाचन क्षेत्रमा खुम्चिएनन्, युवा जोश प्रयोग गर्दै अभूतपूर्व रोड सोमा निस्किएर दुई तिहाई नेपालको भ्रमण केही दिनमा गरे । जबकि देशका शीर्ष नेताहरू आफ्नै निर्वाचनमा क्षेत्रमा कैद थिए- पराजयको डरले ।

यो जोखिम मोल्ने आत्मविश्वास उनलाई जेन-जी आन्दोलन र पुराना दलप्रतिको चरम जनआक्रोशले दिएको थियो ।

छोटो भाषण, बलियो सन्देश

चुनाव जित्न मनसँगै मत पनि जित्नुपर्छ भन्ने बुझेका शाह सधैं राजनीतिभन्दा धेरै विकास र डेलिभरीका कुरा गर्छन् । रास्वपा प्रवेशपछि मधेश झरेर जनकपुरको उद्घोष सभामा उनले भनेका थिए, ‘म काम गर्ने मान्छे हुँ, म काम गरेर देखाउँछु । मलाई काम गर्न अवसर दिनुहुन्छ ? काठमाडौं नगरवासीले अवसर दिए, काम गरेर देखाएँ ।’

उनले राजनीतिक मुद्दालाई सीधै नागरिकको दैनिकीसँग जोडे । संघीयताको मर्मलाई आम मानिसले बुझ्ने भाषामा व्याख्या गर्दै उनले भनेका थिए, ‘जनकपुरका प्रशासकीय अधिकृत फेर्न काठमाडौं जानुपर्ने अवस्था छ, हो कि होइन ? अधिकार माग्न होइन, पशुपतिनाथ दर्शन गर्न पो काठमाडौं जाने हो त !’

उनी भाषण गर्न जाँदा मञ्च उक्लिएसँगै संवाद सुरु गर्थे । उनको यो संवादात्मक शैलीले झापाका मतदाताको मन पनि सहजै जित्यो । झापासँगै देशभरीकै मतदाताको मन र मत दुवै जित्यो ।

धेरै मतदाता जसलाई रास्वपा भन्ने नाम थाहा थिएन । उनीहरूले कि घन्टी चिने कि बालेन । यही आधारमा मत दिए ।

यस्तो लाग्थ्यो कि यो चुनावमा बालेन प्रत्यक्ष उम्मेदवार हुन् र अरु रास्वपाका उम्मेदवार समानुपातिक ।

विजय लहरमा बदलिएको प्रतिकूलता

झापा-५ को लडाइँ सहज थिएन । एमालेको बलियो संगठन, ओलीको उचाइ र गठबन्धन नहुँदा एमालेको एकल भोट ब्यांक बालेनका लागि ठूला प्रतिकूलता थिए । तर, उनका पक्षमा दुईवटा ठूला हतियार थिए- पहिलो, व्यक्ति बालेन र उनी मिसिएसँगै नयाँ दल (रास्वपा) को पक्षमा देखिएको अभूतपूर्व चुनावी लहर ।

दोस्रो, भदौ २३ र २४ को घटनापछि रक्षात्मक अवस्थामा पुगेका पुराना दलहरूप्रतिको चरम वितृष्णा ।

अन्ततः, मतदाताले संगठन र परम्परागत पार्टीप्रतिको ‘बफादारी’ लाई भत्काउँदै विवेकको मत प्रयोग गरे । पुरानालाई प्रतिस्थापन गर्न चाहने युवा मतदाता मात्र होइन, हजुरबुवा-हजुरआमा पुस्ताले पनि विकल्पका रूपमा बालेनलाई नै पत्याए ।

नयाँ युगको सुरुवात

झापा-५ मा बालेनको यो जित एउटा व्यक्तिको वा पार्टीको मात्र जित होइन; यो ‘जसरी पनि सत्तामा टिकिरहने’ पुरानो राजनीतिक सिन्डिकेटविरुद्ध जनताले गरेको अन्तिम प्रहार हो । सत्तालोलुप ठहरिएका पुराना दलहरूविरुद्ध मतदाताले गरेको महागठबन्धन जस्तो बन्यो ।

नहिँडेको बाटो हिँड्ने र जोखिम उठाउने बालेनको शाहसले नेपाली राजनीतिलाई एउटा नयाँ गोरेटोमा ल्याएर उभ्याइदिएको छ । अब प्रश्न बालेनले चुनाव कसरी जिते भन्ने होइन, यो विशाल जनमतको भारीलाई उनले संसद र सम्भावित सत्तामा कसरी बोक्छन् भन्ने हो ।

सँगै, मतदाताको मन बोल्न बहुरंगी पृष्ठभूमिबाट एउटै छातामुनि जुटेका नेताहरूलाई कसरी मिलाउँछ, एउटा साझा संस्कृतिमा बदल्छन् र पार्टी हुँदै सरकारको नेतृत्व गर्छन् भन्ने चुनौती छँदैछ  ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?