२३ फागुन, गुल्मी । गुल्मी-१ पछिल्लो डेढ दशकको राष्ट्रिय राजनीतिमा चासोको केन्द्र बन्दैआएको क्षेत्र हो । यहाँको चुनावी नतिजाले केवल एक क्षेत्रको प्रतिनिधित्व मात्र तय गर्दैन, बरु राष्ट्रिय शक्ति सन्तुलनमा समेत सन्देश दिने गरेको थियो ।
विशेषगरी नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले यो क्षेत्रबाट आलोपालो जित निकाल्दै आएका थिए । दुवै स्थानीयदेखि राष्ट्रिय राजनीतिमा लोकप्रिय र शालीन नेता पनि मानिन्छन् ।
यही दुई नेताबीच २०६४ को निर्वाचनयता आलोपालो जितको शृङ्खला चल्दै आएको थियो । जसले पनि यस क्षेत्रलाई विशेष पहिचान दिएको थियो ।
२०६४ को संविधानसभा निर्वाचनमा एमाले नेता ज्ञवाली विजयी भएका थिए । त्यो बेला कांग्रेसका भण्डारी पराजित भए । त्यसपछि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले जित निकाले ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा फेरि एमालेका ज्ञवाली विजयी भए । २०७९ मा उनले जित दोहोर्याउन नसक्दा कांग्रेसका भण्डारीले जित निस्कियो । जसले दुई नेताबीच आलोपालोको शृंखला देखिएको थियो ।
झट्ट हेर्दा यो आलोपालोको शृंखला कायम रहेको भए यसपालि एमाले नेता ज्ञवालीको जित्ने पालो हुनसक्थ्यो । तर, गुल्मेली जनताले अर्कै जनादेश दिए । यसपटक गुल्मी-१ को नतिजाले ती दुई नेताभन्दा तेस्रो व्यक्तिलाई रोजेको छ ।
यसपटक गुल्मी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकाल विजयी भएका छन् । ढकालले स्थापित दुई शीर्ष नेतालाई पराजित गर्दै गुल्मी-१ मा परिवर्तनको सन्देश दिएका छन् ।
अन्तिम मतपरिणामअनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गरेका छन् । ज्ञवाली भने निकटतम प्रतिद्वन्द्वीमा सीमित रहे । उनले १५ हजार १८१ मत पाएका छन्, भने कांग्रेसका भण्डारीले १३ हजार ५०५ मतसहित तेस्रो स्थान हासिल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका सुदर्शन बरालले ती हजार १७६ मत प्राप्त गरे ।
२०७९ को निर्वाचनमा डडेलधुरा पुगेर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका ढकाल यसपटक आफ्नै गृहजिल्लामा फर्किएका थिए । उनको चर्चा डडेलधुराको निर्वाचनदेखि नै भइसकेको थियो । सोही कारण उनी गुल्मीमा पनि परिचित भइसकेका थिए । यसपटक देशव्यापी आएको रास्वपाको लहरले उनलाई जित्न थप सजिलो बनायो ।
प्रतिक्रिया 4