News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता एनपी साउदले कञ्चनपुर क्षेत्र नम्बर २ मा पराजित भएपछि विजेता दीपकराज बोहरालाई बधाई दिएका छन्।
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वपराष्ट्रमन्त्री एनपी साउदले आफू पराजित भएपछि विजेता उम्मेदवारलाई बधाई दिएका छन् । कञ्चनपुर क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका साउद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहरासँग पराजित भएका थिए । बोहरालाई बधाई दिँदै उनले आफू सधैँ स्थानीयसँग रहने बताएका छन् ।
साउद दोस्रो भएका थिए । लोकतान्त्रिक निर्वाचनलाई जितहारभन्दा माथि संस्कार र संस्कृतिको विकास प्रक्रियाको रूपमा लिएको उनले बताए ।
नेपालको एकता, अखण्डता र सार्वभौमिकताको रक्षा लोकतान्त्रिक पद्धतिबाट जनताको भरोसा जितेको सरकारबाट मात्र सम्भव भएको धारणा उनले राखेका छन् ।
विजयी उम्मेदवार बोहरालाई बधाई दिँदै साउदले लेखेका छन्, ‘उहाँले आफ्नो कार्यकालमा यस क्षेत्रका जनताको सेवा, विकास र समृद्धिका लागि गर्ने योगदानमा मेरो सदभाव र समर्थन रहने छ ।’
निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न सफल भएकोमा निर्वाचन आयोग, प्रशासन, सुरक्षा निकायलगायत सबैलाई उनले धन्यवाद दिएका छन् । यो जितहारले आफ्नो यस क्षेत्रसँगको अटुट सम्बन्ध र प्रेममा कुनै आँच नआउने साउदले बताएका छन् ।
प्रतिक्रिया 4