+

टी२० विश्वकपको उपाधिका लागि भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै

२०८२ फागुन  २४ गते ७:४० २०८२ फागुन २४ गते ७:४०
टी२० विश्वकपको उपाधिका लागि भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी२० विश्वकप २०२६ को फाइनलमा भारतले न्युजिल्यान्डसँग ८ मार्च साँझ ७:१५ बजे अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा गर्नेछ।
  • भारतले सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरी चौथो पटक फाइनलमा पुगेको छ भने न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै दोस्रो पटक फाइनल खेल्न सफल भएको छ।
  • न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले फाइनलमा घरेलु समर्थकलाई शान्त पार्दै उपाधि जित्ने योजना रहेको र भारतका कप्तान सूर्यकुमार यादवले फाइनलमा नेतृत्व गर्न पाउनु विशेष रहेको बताएका छन्।

२४ फागुन, काठमाडौं । आईसीसी टी२० विश्वकप २०२६ को उपाधिका लागि आज सह-आयोजक भारतले न्युजिल्यान्डसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

दुई पटकको विजेता तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने न्युजिल्यान्ड भारतलाई घरेलु मैदानमा शान्त पार्दै पहिलो विश्वकप उपाधि उचाल्ने अभियानमा छ ।

भारतले सेमिफाइनलमा अर्को दुई पटकको विजेता इंग्ल्यान्डलाई पराजित गरेको थियो भने न्युजिल्यान्डले दक्षिण अफ्रिकाको अपराजित यात्रालाई सेमिफाइनलमा ब्रेक लगाउँदै फाइनल पुगेको हो ।

भारत समग्रमा चौथो पटक र न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दैछ ।

विश्वकपमा राम्रो सुरुवात गरेपनि दक्षिण अफ्रिकासँग सुपर ८ मा हारपछि सम्हालिएर अघि बढेको भारतले अर्को दुई पटकको विजेता इंग्ल्यान्डमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । न्युजिल्यान्डले उतारचढावपूर्ण यात्रा तय गर्दै समूह चरण र सुपर ८ मा एक-एक हार बेहोरेपनि सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि ९ विकेटको शानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

न्युजिल्यान्डको सेमिफाइनल जित एकपक्षिय जस्तै रह्यो । दक्षिण अफ्रिकालाई १६९ रनमै रोकेपछि फिन एलेनले टी२० विश्वकपकै छिटो शतक (३३ बलमा अविजित १००) बनाउँदै न्युजिल्यान्डलाई शानदार जित दिलाएका थिए ।

फाइनलअघि भारत र न्युजिल्यान्ड दुवै टोली तयार अवस्था छन् । शनिबार भएको प्रि म्याच प्रेस कन्फेरेन्समा न्युजिलयान्डका कप्तान मिचेल सान्टनरले आफूहरु फेभरेट टोली नभएकोले फाइनलमा चुनौती हुने बताए । साथै उनले फाइनलमा घरेलु समर्थकलाई शान्त पार्दै उपाधि जित्ने योजना रहेको पनि सुनाए ।

भारतका कप्तान सूर्यकुमार यादव भने फाइनलअघि निकै रिल्याक्स मोडमा देखिएका थिए । उनले प्रि म्याच प्रेस कन्फेरेन्समा भारतीय टिमलाई फाइनलमा नेतृत्व गर्न पाउनु विशेष रहेको र सबैजना फाइनलका लागि उत्साहित रहेको प्रतिक्रिया दिए ।

भारत चौथो पटक टी२० विश्वकप फाइनल खेल्दैछ । यसअघि भारतले सन् २००७ को पहिलो संस्करण र २०२४ मा भएको पछिल्लो संस्करणको उपाधि जितेको थियो । सन् २०१४ को फाइनलमा भने भारत श्रीलंकासँग पराजित भएको थियो ।

भारत घरेलु मैदानमै उपाधि जित्दै तीन पटक जित्ने कीर्तिमान बनाउने लक्ष्यमा छ । भारत बाहेक वेस्ट इन्डिज (२०१२ र २०१६) र इंग्ल्यान्ड (२०१० र २०२३) ले पनि समान दुई पटक टी२० विश्वकप जितेका छन् ।

यदी  भारतले उपाधि जितेमा तीन पटक जित्ने पहिलो टिमका साथै  टी२० उपाधि रक्षा गर्ने पनि पहिलो टिम बन्नेछ ।

अर्कोतर्फ न्युजिल्यान्डले यसअघि सन् २०२१ मा टी२० विश्वकप फाइनल खेलेपनि अस्ट्रेलियासँग पराजित भएको थियो । त्यसैले यस पटक उपाधि जितेमा ओडिआई/टी२० मै पहिलो उपाधि हुनेछ । ओडिआई विश्वपकमा सन् २०१५ र २०१९ मा फाइनल पुगेपनि न्युजिल्यान्ड पराजित भएको थियो ।

पछिल्लो एक दशकमा न्युजिल्यान्डले विश्वकपसहित आईसीसीको ५ टुर्नामेन्टमा फाइनल खेलेको थियो । जसमा ओडिआई र टी२० गरी तीन विश्वकप फाइनलमा पराजित भएको थियो भने २०२५ को च्याम्पियन्स ट्रफी फाइनलमा पनि पराजित भएको थियो । सन् २०१९-२१ को पहिलो वर्ल्ड टेस्ट च्याम्पियनसिपमा भने न्युजिलयान्डले भारतलाई हराएर उपाधि जितेको थियो ।

भारत र न्युजिल्यान्डको यस पटकको फाइनल यात्रा फरक खालको रह्यो । उपाधिको प्रबल दाबेदारको रुपमा रहेको सहआयोजक भारत सुपर ८ मा दक्षिण अफ्रिकासँग एक खेलमा पराजित भएको थियो । भारतले अहिलेसम्म खेलेको ८ मध्ये ७ खेल जितेको छ ।

अर्कोतर्फ न्युजिल्यान्डको फाइनल यात्रामा भने केही उतारचढाव रह्यो । समूह चरणमा चार मध्ये तीन जित र एक हारको नतिजासहित उपविजेता बनेको न्युजिल्यान्ड सुपर एटमा एक जित एक हारको नतिजा निकालेको थियो भने एक खेल रद्ध भएको थियो । न्युजिल्यान्डले फाइनल यात्रासम्म ५ खेल जित्दा २ खेलमा पराजित भएको थियो ।

भारतले टी२० विश्वकपमा अहिलेसम्म न्युजिल्यान्डलाई हराउन सकेको छैन । यसअघि टी२० विश्वकपमा यी दुई टोलीबीच तीन खेल हुँदा तीनै खेल न्युजिल्यान्डले जितेको थियो ।

सन् २००७ को पहिलो संस्करणमै न्युजिल्यान्डले भारतलाई १० रनले पराजित गरेको थियो । यस्तै सन् २०१६ मा भारतकै नागपुरमा भएको खेलमा यी दुई टोली समूह चरणमा भिडेका थिए । जहाँ न्युजिल्यान्डले भारतलाई ४७ रनले पराजित गरेको थियो ।

सन् २०२१ मा दुबईमा भएको खेलमा सुपर १२ को खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेट पराजित गरेको थियो । भारतले दिएको ११ रनको लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमै पूरा गरेको थियो ।

समग्रमा भने भारत र न्युजिल्यान्डबीच टी२०आईमा ३० खेल भएको छ । जसमा भारतले १८ खेल जितेको छ भने न्युजिल्यान्डले ११ खेल जितेको छ । भारत जितेको १८ खेलमा दुई खेल सुपर ओभरमा जितेको थियो । एक खेल भने टाई भएको थियो ।

आईसीसी टी२० विश्वकप २०२६ फाइनल

भारत भर्सेस न्युजिल्यान्ड

मिति : २०२६ मार्च ८

स्थान : नरेन्द्र मोदी स्टेडियम, अहमदावाद

समय : साँझ ७:१५ बजे (नेपाली समय)

कभर तस्बीर: आईसीसी

आईसीसी टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय