+

फुटबल खेलाडी संघले एन्फा कम्प्लेक्समा लगायो ताला

२०८२ फागुन  २४ गते १६:२७ २०८२ फागुन २४ गते १६:२७
फुटबल खेलाडी संघले एन्फा कम्प्लेक्समा लगायो ताला

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल फुटबल खेलाडी संघले आफ्ना तीन माग पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघको मुख्यालयमा तालाबन्दी गरेको छ।
  • संघले शहिद स्मारक ए डिभिजन लिगको मिति तोक्न, अक्षय कोषको विवरण सार्वजनिक गर्न र सन् २०१७ देखि बाँकी तलब उपलब्ध गराउन माग गरेको छ।
  • खेलाडी संघले माग पूरा नगरेसम्म तालाबन्दी जारी राख्ने र सहमतिविना खोल्दा सम्पूर्ण क्षतिको जिम्मेवारी एन्फा आफैंले लिनुपर्ने चेतावनी दिएको छ।

२४ फागुन, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले आफ्ना विभिन्न मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा आईतबार तालाबन्दी गरेको छ ।

संघले लामो समयदेखि फुटबल खेलाडी र समग्र नेपाली फुटबलको हितका विषयमा एन्फासँग वार्ता तथा आन्दोलन गर्दै आएको भए पनि मागहरू बेवास्ता गरिएको आरोप लगाएको लगाएको छ ।

खेलाडी संघले तीन बुँदे मागसहित विज्ञप्ती जारी गरेको छ र एन्फा मुख्यालयको मुख्य ढोकामा ताला लगाउँदै ढोकामै त्यो विज्ञप्ती पनि टाँसेको छ ।

संघले जारी गरेको विज्ञप्तिअनुसार आफ्ना जायज मागहरू सम्बोधन नभएकाले आजदेखि माग पूरा नभएसम्म एन्फा मुख्यालयमा तालाबन्दी गर्ने निर्णय गरिएको जनाएको छ ।

‘पटक-पटक वार्ता र सडक संघर्षका बाबजुद पनि हाम्रो जायज मागहरु एन्फाले बेवास्ता गरेका कारण आजदेखि हाम्रा निम्न मागहरु पूरा नगरेसम्म अखिल नेपाल फुटवल संघ (एन्फा) को मुख्यालयमा तालाबन्दी गर्ने निर्णय गरेका छौ ।’ विज्ञप्तीमा भनिएको छ ।

खेलाडी संघले तीन मुख्य माग अघि सारेको छ। जसमा शहिद स्मारक ए डिभिजन लिगको मिति तोक्दै प्रतियोगिता सञ्चालनको निश्चितता गर्नुपर्ने, खेलाडी अक्षय कोषको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने तथा हालको कार्यसमितिबाट पारित भएअनुसार खेलाडीहरूको सन् २०१७ देखि बाँकी रहेको तलब, भत्ता र पुरस्कार रकम उपलब्ध गराउनुपर्ने माग रहेको छ ।

यदि माथिका मागहरुको उचित सम्बोधन नगरी आफ्नो सहमतिविना एन्फाले तालाबन्दी खोलेमा त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी एन्फा स्वयंले लिनुपर्ने चेतावनी पनि खेलाडी संघले दिएको छ ।

फुटबल खेलाडी संघले एन्फाको पछिल्लो कार्यशैलीप्रति बारम्बार प्रश्न उठाइरहेको छ भने चेतावनी समेत दिइरहेको छ ।

यसअघि गत कात्तिकमा खेलाडी संघले आन्दोलन नै घोषणा गरेर एन्फाको गेट बाहिर आफूले जितेको मेडल झुण्डाएर विरोध गरेको थियो ।

यस्तो छ विज्ञप्ती:

नेपाल फुटबल खेलाडी संघले फुटबल खेलाडी र समग्र नेपाली फुटवलको हितमा लामो समयदेखि एन्फाविरुद्ध चरणवद्ध रुपमा विभिन्न माग राख्दै आइरहेको छ। पटक-पटक वार्ता र सडक संघर्षका बाबजुद पनि हाम्रो जायज मागहरु एन्फाले बेवास्ता गरेका कारण आजदेखि हाम्रा निम्न मागहरु पूरा नगरेसम्म अखिल नेपाल फुटवल संघ (एन्फा) को मुख्यालयमा तालाबन्दी गर्ने निर्णय गरेका छौ ।

हाम्रा मागहरुः

१, शहिद स्मारक डिभिजन लिगको सन्चालनको निश्चिततता जसमा ए डिभिजनको मिति तोक्नैपर्ने (एन्फाले बचन दिएको मिती भित्रको)

२, खेलाडी अक्षय कोषको विस्तृत विवरण। गत वर्ष एकै प्रतियोगिताबाट जम्मा हुनुपर्ने ६५ लाख सहित)

३, खेलाडिहरुको तलव भत्ता तथा पुरस्कार रकम उपलब्ध गर्नु पर्ने (सन् २०१७ देखिको पुरस्कार तथा नियमित तलब भत्ता) जुन हालको कार्यसमितिको बैठक बाट पनि पास गरिएको थियो ।

अन्ततः उल्लेखित मागहरुमाथि उचित कार्यान्वयन नहुँदै संघले लगाएको यस तालावन्दी हाम्रो सहमतिविना खोलेमा यसबाट आइपर्ने सम्पूर्ण क्षतिको जिम्मेबारी स्वयं एन्फा नै हुनेछ ।

एन्फा नेपाल फुटबल खेलाडी संघ नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय