+
+
Shares

शेरधनले महाधिवेशन प्रतिनिधि बन्नै रोके, दल बदलेर ध्रुवले हराइदिए

गत मंसिरमा सम्पन्न महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि बन्न खोज्दा रोकिएका ध्रुवले अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका हेभिवेट नेता एवं सचिव शेरधन राईलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ फागुन २४ गते २१:४५

२५ फागुन, विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि बन्न नपाएका ध्रुवराज राईले महाधिवेशनबाट निर्वाचित सचिव शेरधन राईलाई नै पराजित गर्दै संघीय संसद्को यात्रा तय गरेका छन् ।

गत मंसिरमा सम्पन्न महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि बन्न खोज्दा रोकिएका ध्रुवले अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका हेभिवेट नेता एवं सचिव शेरधन राईलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् ।

श्रम संस्कृति पार्टीका उम्मेदवार बनेका ध्रुव १६ हजार ६६३ मतका साथ विजयी हुँदा एमाले सचिव शेरधन राईले १४ हजार ७५० मत पाए ।

नेपाल कांग्रेसका वालकृष्ण थापाले ८ हजार ६७०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद ओझाले ६ हजार १०२ र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर काङमाङ राईले ५ हजार ७२८ मत पाए ।

ध्रुवले आफ्नो राजनीतिक यात्रा एमालेको विद्यार्थी संगठन अखिलबाट सुरु गरेका थिए । २०५८–५९ साल तिर उनलाई राजनीतिमा संगठित गर्ने व्यक्ति शेरधन राई नै थिए ।

ध्रुवले शेरधनकै मार्गनिर्देशमा भोजपुर क्याम्पसको स्ववियु सभापति भएर दुई कार्यकाल नेतृत्व गरे । तर, पछिल्लो समय उनीहरूबीचको सम्बन्धमा तिक्तता आयो ।

२०७४ को स्थानीय तह निर्वाचनमा टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष जितेका ध्रुव २०७९ को निर्वाचनमा पराजित भए । सो हारमा शेरधनले आफूलाई असहयोग गरेको ध्रुवको बुझाई थियो ।

नेकपा एमालेको ११ औँ महाधिवेशनमा ध्रुव जिल्लाबाट प्रतिनिधि बन्न चाहन्थे । एमालेको प्रदेश कमिटी सदस्य र अखिलको केन्द्रीय सचिवालय सदस्य भइसकेका ध्रुवलाई संस्थापन पक्षमा रहेका शेरधनले महाधिवेशन प्रतिनिधि बन्नबाटै रोके ।

राजनीतिक गुरुबाट पटकपटक पेलिएपछि उनले विद्रोह गर्दै हर्क साम्पाङले गठन गरेको श्रम संस्कृति पार्टी प्रवेश गरे । श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेका उनले महाधिवेशनमा रोक्ने नेतासँग बदला लिए ।

२०५६ सालमा मात्र २५ वर्षको उमेरमा संसद छिरेर कान्छो सांसदको छवि बनाएका शेरधन राई २०७४ मा कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए । २०७९ को निर्वाचनमा माओवादी केन्द्रका सुदन किरातीसँग पराजित भएका उनी यसपटक आफ्नै पूर्वकार्यकर्तासँग रोकिन पुगे । शेरधन राईका लागि यो लगातार दोस्रो हार हो । यो पटक सुदन किराती आफैँ उम्मेदवार नबनी ध्रुव राईलाई समर्थन गरेका थिए, जसले शेरधनलाई थप संकटमा पार्‍यो ।

सुदन किरातीसँग नजिक रहेका नेता राजन राईका अनुसार सुदनले समर्थन गरेका दुई नेताले नै चुनाव जितेका छन् ।‘धरानमा हर्कराज राई र भोजपुरमा ध्रुवलाई समर्थन गर्नुभएको थियो, दुवैले जित्नुभयो,’ उनले भने ।

भोजपुरबाट छैटौँपटक चुनावी मैदानमा उत्रिएका शेरधनले २०५६ सालको प्रतिनिधिसभा निर्वाचन, २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रदेशसभा निर्वाचन जितेका थिए । २०६४ सालको संविधानसभा, २०७९ सालको प्रतिनिधिसभा र अहिलेको निर्वाचनमा भने पराजित भए ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि शेरधनले लोकतान्त्रिक अभ्यासमा आएको जनादेशलाई सम्मान गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले भोजपुरको विकासका लागि आफूले देखेको सपना अधुरै रहे पनि जिल्लाप्रतिको जिम्मेवारीबाट कहिल्यै टाढा नहुने बताएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि ध्रुवराज राईले आफ्नो जीतलाई जनताको परिवर्तनप्रतिको चाहना भनेका छन् ।

ध्रुवले शेरधन राईलाई आफ्नो राजनीतिक गुरु मान्छन् । ‘उहाँले मलाई अखिलमा संगठित गर्नु भएको हो,’ उनी भन्छन्,‘ अखिल संगठीत भएपछि भोजपुर क्याम्पसमा दुई कार्यकाल स्ववियु जिते ।’ उनी पार्टीको नीति अनुसार काम गर्ने बताउँछन् । ‘भ्रष्टचार मुक्त समाज निर्माणका लागि पार्टीको नीति अनुसार काम गर्छु,’ उनले भने,‘ गाउँघरमा श्रमदान मार्फत काम गर्नका लागि अभियान पनि चलाउँछु ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?