+
+
Shares
गण्डकीबाट प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद  :

रास्वपाकी बिना : परम्परागत अनुमान फेल गराउँदै संसदको यात्रा

चुनाव अघिका सबै अनुमान फेल गराउँदै बिना गुरुङ गण्डकी प्रदेशबाट प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद बनेकी छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ फागुन २६ गते १०:३९
कास्की क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित रास्वपाकी बिना गुरुङ । तस्वीरः युनिश गुरुङ

२६ फागुन, पोखरा । देशमा जेनजी आन्दोलन नभएको भए राजनीतिमा लाग्नुपर्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छिरे पनि सांसद नै हुने अवसर सामुन्ने आउँछ भन्ने बिना गुरुङलाई लागेको थिएन । देशमा सुशासन र पार्टी रुपान्तरणको एजेण्डा राख्दै देशमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले बिनालाई पनि सांसद भएर देशमा काम गर्ने अवसरको ढोका खोलिदियो ।

देशमा भ्रष्टाचार र बेथिति भएको जेनजी पुस्ताको आवाजमा रास्वपाको जन्मसँगै बिनाले राजनीतिमै होमिने निश्कर्ष निकालिन् र जेनजी आन्दोलनले सिर्जना गरेको फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार हुने निश्कर्षमा पुगिन् ।

सामाजिक संघ, संस्थाबाहेक सरकारी लाभको पदमा प्रतिस्पर्धा नगरेकी बिनाले संसदीय चुनावमा लड्ने योजना बनाउँदै नेतृत्वसँग टिकट दाबी गरिन् । गण्डकीमा महिला र त्यसमा पनि जनजाती समुदायबाट बिना अब्बल उम्मेदवारको रुपमा रास्वपाले बिनालाई टिकट दियो ।

जेनजी पुस्ताको आन्दोलनको माग र नयाँ परिवर्तनको आशासहित देशमा सुशासन, विकास र नीति निर्माणको तहमा काम गर्न यिनै बिनालाई कास्की क्षेत्र नम्बर ३ का मतदाताले संसदमा पठाउन लोकप्रिय मत दिएका छन् ।

पुराना दलहरुको विकल्पमा खडा भएकी बिनालाई २४ हजार ९७० मतान्तरका साथ कास्की क्षेत्र नम्बर ३ का मतदाताले जिताएका छन् ।

बिना ३७ हजार ७५० मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाए । यहाँ ६५ हजार ४ सय ७ मत खसेको थियो ।

यसअघि चुनाव जितेका नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले ७ हजार ९०६ मत ल्याए ।

२०६२/०६३ को जनआन्दोलनपछि भएको पहिलो संविधान सभाको चुनावमा जिताएको माओवादीसहित मिलेर बनेको नेकपाका उम्मेदवार गोपाल गिरीले जम्मा १ हजार ४५६ मत पाएका छन् ।

संघीय व्यवस्थाको विरोध र देशमा सनातन धर्मसहितको राजसंस्थाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनाललाई कास्की–३ ले १ हजार ४०६ मत दिएको छ ।

श्रम संस्कृति पार्टीका उम्मेदवार हितकाजी गुरुङले पनि ५८६, उज्यालो नेपाल पार्टीका उम्मेदवार तर्कबहादुर गुरुङले ४६३ मत ल्याउन सके भने १५ जना उम्मेदवारमध्ये अन्यले निकै कम मत पाएका छन् । रास्वपाप्रतिको जनलहर र देश परिवर्तनको आशासहित बिनालाई कास्की–३ का मतदाताले लोकप्रिय मतका साथ विजयी गराएका हुन् ।

गण्डकीमा अन्य महिला उम्मेदवार नहुँदा र त्यसैमाथि गुरुङ समुदायको मतसमेत निर्णायक हुने स्थिति देखेर बिनालाई रास्वपाबाट टिकट दिने निश्कर्ष निकालेको थियो ।

यसअघि राजनीतिक पार्टी र त्यसको कुनै पनि संगठनमा आवद्ध नभएकी बिना रास्वपाबाट गण्डकीमा एक्ली महिला उम्मेदवारका रुपमा खडा भइन् र चुनाव जितेर संसदको यात्रा तय गरेकी छन् ।  गण्डकीका १८ मध्ये १५ सिट रास्वपाले जितेकाे छ । दुई क्षेत्रमा कांग्रेस र म्याग्दीबाट महावीर पुनले स्वतन्त्र जितेका छन् ।

व्यवसायिक र सामाजिक क्षेत्रबाट राजनीतिमा

रास्वपा कास्कीको कोषाध्यक्षसमेत रहेकी बिनाको पारिवारिक पृष्ठभूमि आर्थिक हिसाबले पनि सम्पन्न थियो । उनी महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेकी थिइन् ।

सञ्जीवनी सिस्टर्स एसोसिएसन नामको संस्था खालेर संस्थापक अध्यक्षको रुपमा काम गरिरहेकी बिनाको नेतृत्वले सयौं महिलाहरुलाई सहयोग गर्ने, विभिन्न तालिम र सशक्तीकरण गर्ने काम गरिरहेको थियो । त्यसो त तमुहरुको साझा संस्था तमुधिं नेपालको केन्द्रीय सदस्य, लायन्स क्लब, सिर्जना संसार कोसेली घर, तमु सांस्कृतिक प्रतिष्ठानलगायत संस्था, कोपिला नेपालजस्ता संस्थाको नेतृत्व तथा आवद्धतामार्फत काम गरिरहेकी बिनालाई कास्की–३ मा रास्वपाले बलियो उम्मेदवारको उतारेको थियो ।

विभिन्न व्यावसायिक प्रतिष्ठानमा निर्देशक भएर काम गरेकी बिनाका निम्ति अनुभवी भनिएका दलका उम्मेदवार नै प्रमुख प्रतिस्पर्धी थिए । तर, उनले झण्डै २५ हजार मतान्तरले जित निकाल्न सफल भइन् । नेपाली कांग्रेसले बलियो उम्मेदवार ठानेर मनोजलाई खडा गरेको थियो । कांग्रेसले कास्कीका ३ वटा क्षेत्रमध्ये क्षेत्र नम्बर ३ लाई जित्न सक्ने सम्भावना भएको सूचीमा राखेको थियो । तर, सबै अनुमान फेल भयो ।

मतदाताको विश्वास कायम राख्ने प्रतिबद्धता

बिनाले नयाँ दलप्रतिको आकर्षणलाई बढाउँदै जनजाति तथा गुरुङ समुदायको मत आफ्नो पक्षमा ल्याउने कोसिस गरिन् भने महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेको अनुभव, सामाजिक तथा व्यावसायिक सम्बन्धलाई आफ्नो जितमा रुपान्तरण गर्न सफल भइन् ।

बिनाले मतादाताको विश्वासलाई कहिल्यै मर्न नदिने प्रतिबद्धता जनाइन् । ‘मलाई कास्की क्षेत्र नम्बर ३ वासीले लोकप्रिय मत दिएर जिताएका छन् । यसको मतलाई मलाई देशको सुशासन र विकासका पक्षमा, नवयुवा र जेनजी आन्दोलनका सहिद, घाइतेका भावना बुझेर काम गर्न जनादेश दिएका हुन्,’ बिनाको प्रतिवद्धता छ, ‘मैले जितें भनेर उत्माद राख्दिनँ, जिम्मेवारीवोध गर्छु । यो अवसरलाई मतदाताको भावना र देशको विकासमा लगाउँछु ।’

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?