२६ फागुन, काठमाडौं । जवाफदेही निगरानी समूहले जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
समूहले मंगलबार एक विज्ञप्ति जारी गरी सार्वजनिक चासो र सरोकार भएको उक्त प्रतिवेदन आम नागरिकमाझ ल्याउनुपर्ने भनेको हो ।
समूहले विज्ञप्तिमार्फत भनेको छ, ‘प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने सरकारको तजबिजको विषय होइन । प्रतिवेदनबारे जानकारी पाउने आम नागरिकको संविधानप्रदत्त अधिकार हो भने छानबिन प्रतिवेदनलाई यथाशीघ्र सार्वजनिक जानकारीमा ल्याउनु सरकारको दायित्व हो ।’
विगतमा जस्तो छानबिन प्रतिवेदनहरू लुकाउने र सिफारिसहरू लत्याउने काम गर्न नहुने भन्दै उसले त्यसका सिफारिसहरूलाई सक्दो छिटो कार्यान्वयनमा लैजान सुझाव दिएको छ ।
दण्डहिनता रोक्न त्यो काम अपरिहार्य रहेको भन्दै समितिले पीडितलाई न्याय दिलाउन र भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चितता हुनुपर्ने भनेको हो ।
उसले विगतका मल्लिक आयोग, रायमाझी आयोग, लाल आयोग तथा लम्साल आयोग लगायतका जाँचबुझ आयोगहरूका प्रतिवेदनहरू समेत सार्वजनिक गर्न माग गरेको छ ।
प्रतिक्रिया 4