+
+
Shares

समयमै बनेन नयाँ संसद् भवन, बहुउद्देश्यीय हलमा अस्थायी व्यवस्थापन (भिडियो)

‘शपथग्रहण र सुरूका केही बैठक बहुउद्देश्यीय हलमा रहने’

बैठक कक्षको अभावका कारण प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण वा संसद बैठक रोकिने अवस्था नआउने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १३:५७
Listen News
0:00
0:30
🔊

२६ फागुन, काठमाडौं । निर्माणाधीन नयाँ संसद् भवन समयमा नै सम्पन्न हुन नसकेपछि प्रतिनिधि सभाका बैठकहरू संसद् परिसरमा रहेको बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

प्रतिनिधि सभाको सभाकक्ष समयमै तयार हुन नसकेपछि बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको हो ।

संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाको बैठक नयाँ निर्माणाधीन संसद् भवन परिसरमै बस्ने भएपनि मुख्य सभाकक्ष निर्धारित समयमा तयार नहुने सम्भावना देखिएकाले वैकल्पिक व्यवस्था गरिएको जानकारी दिए ।

सरकारले प्रतिनिधि सभाका लागि निर्माण गरिरहेको सभाकक्ष चैत १ गतेभित्र सचिवालयलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो । तर पछिल्लो प्रगति हेर्दा सो मितिभित्र निर्माण सम्पन्न हुने अवस्था नरहेको सचिवालयका प्रवक्ता गिरीले जानकारी दिए ।

शहरी विकास मन्त्रालय तथा निर्माण व्यवसायीसँग समन्वय गरी बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको पनि उनले जानकारी दिए ।

‘प्रतिनिधिसभाको लागि निर्माण गर्दै गरेको हल, प्रतिनिधि सभा सदस्यको बैठक कक्ष चैत १ गतेसम्ममा सचिवालयलाई हस्तान्तरण गर्ने भन्ने थियो । यद्यपी पछिल्लो समयमा चैत १ गतेभित्र उक्त हल निर्माण भइसक्ने देखिएन,’ उनले भने, ‘अहिले बहुउद्देशीय हलमा शपथग्रहण गराउने र प्रतिनिधि सभाका केही प्रारम्भिक बैठकहरू समेत बस्नेगरी कार्यसम्पादन भइरहेको छ । यो अस्थायी व्यवस्थापन हो ।’

उनका अनुसार बहुउद्देश्यीय हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । केही प्राविधिक काम मात्र बाँकी रहेकोले ती कार्य शिघ्र सम्पन्न गर्नेगरी काम भइरहेको उनले जानकारी दिए ।

सचिवालयले नियमित रूपमा समन्वय, अनुरोध तथा स्थलगत अनुगमन गरिरहेको छ ।

बैठक कक्षको अभावका कारण प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण वा संसद बैठक रोकिने अवस्था नआउने प्रवक्ता गिरीको भनाइ छ ।

एकराम गिरी, संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ।

यसअघि संसद् बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा आगजानी भएपछि बैठक बस्नको लागि समस्या भएको हो ।

राष्ट्रिय सभाको बैठक भने सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सञ्चालन गरिएको छ ।

सिंहदरबार परिसरको १ सय ५६ रोपनी क्षेत्रफलमा संसद् भवन निर्माण भइरहेको छ । २०७९ असोज १६ गते भित्र निर्माण गरिसक्ने गरि २०७६ असोज १६ मा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा तुन्दी–सेक जेभीले ठेक्का लिएको थियो ।

तर २०८२ फागुनसम्म आइसक्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन । संसद् भवन निर्माणको लागी पाँचौ पटक थपिएको म्याद पनि सकिसकेको छ ।

संसद् भवनको ‘रुफिङ’ को लागि छुट्टै चेनलिंक इन्जिनियरिङ कम्पनीले २०८० फागुन २७ गते ३ करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।

यस्तै ‘इन्टेरियर’ को जिम्मा केसी–श्यामसुन्दर–बानियाँ जेभीले २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा दिएको थियो । यी सबैको ठेक्का सम्झौता सकिएको भएपनि काम पूरा हुन सकेको छैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?