२६ फागुन, काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार डा. लेखजंग थापा फराकिलो मतान्तरले निर्वाचित भए ।
२०७९ को निर्वाचनमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पराजित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहरा निर्वाचित भएको यो क्षेत्रमा राप्रपाले यसपटक उनकै छोरा गौरव बोहरालाई मैदानमा उतारेको थियो । तर, अन्तिम मत परिणामअनुसार रास्वपाका थापा ५८ हजार ८१४ मतसहित विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार सुशील गुरुङ रहे । उनीहरूबीचको मतान्तर ५० हजार ५३९ मत रह्यो ।
विजेता र निकटतम प्रतिद्वन्द्वीबीच यो स्तरको फराकिलो जित-हार मात्र नभई यो क्षेत्रको रोचक पक्ष अर्को पनि छ । त्यो हो–-रास्वपाका थापाबाहेक अन्य सबै उम्मेदवारले जमानत समेत जोगाउन नसकेको तथ्य ।
प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार प्रत्यक्षतर्फका उम्मेदवारले जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत पुर्याउनुपर्छ । तर, यस क्षेत्रमा विजेता उम्मेदवार थापाबाहेक सबै उम्मेदवारले १० प्रतिशत मत पुर्याउन सकेका छैनन् ।
यस क्षेत्रमा ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । निर्वाचन आयोगका अनुसार यहाँ ९४ हजार २३२ मत खसेको थियो । जसमध्ये चार हजार १६२ मत बदर हुँदा ८९ हजार ४१४ मत सदर भएको छ ।
सो मतमा थापा एक्लैले प्राप्त गरेको मत ६५.७७ प्रतिशत हुन आउँछ कांग्रेस उम्मेदवार गुरुङले आठ हजार ४३५ मत मात्रै प्राप्त गरेका छन् । जुन सदर मतमा ९.४३ प्रतिशत मात्रै हुन आउँछ । यसर्थ दोस्रो भएका उनको पनि जमानत जफत भएको छ ।
यस्तै तेस्रो भएका नेकपा एमालेका बासुदेव घिमिरेले आठ हजार २७५ मत प्राप्त गरेका छन् । त्यो मत कुल सदर मतको ९.२५ प्रतिशत हुन्छ ।
राप्रपा उम्मेदवार बोहराले सात हजार ७८९ मत प्राप्त गरेका छन् । जुन सदर मतको ८.७१ प्रतिशत हुन आउँछ ।
नेपाली कम्युनिस्ट पार्टीका फैज मोहमद खाँले दुई हजार ५९४ मत प्राप्त गर्दा उनको कुल सदर मतको २.९० प्रतिशत मात्रै हुन आउँछ ।
उनीहरूबाहेक नागरिक उन्मुक्ति पार्टी नेपालकी नन्दकुमारी थापाको ७५० मत, स्वतन्त्र उम्मेदवार जितबहादुर गुप्ताको ६०१ मत, जनमत पार्टीका विशाल गुप्ताको ४२९ मत, राष्ट्रिय जनमुक्ति पार्टीका मोजिब अलि मुसलमानको ४१७ मत, उज्यालो नेपाल पार्टीका सरोजसिंह चौधरीको २०६ मत, राष्ट्रिय जनमोर्चाका बद्रे आलम मुसलमानको १९५ मत, जनता समाजवादी पार्टी नेपालका श्रीनिवास यादवको १०४ मत, नेकपा माओवादीका शंकरप्रसाद ज्ञवालीको १०४ मत मात्रै आएको छ ।
उनीहरूबाहेक अन्य उम्मेदवारले ४ मतदेखि ७८ मत पाएका छन् ।
प्रतिक्रिया 4