+
+
Shares

पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीकै दलहरूको कटेन थ्रेसहोल्ड

मतगणना नसकिँदै पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री र पूर्व मन्त्रीहरूले हाँकेका दलहरूकै थ्रेसहोल्ड कट्न नसक्ने निश्चित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते २२:१०

२६ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना नसकिँदै पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री र पूर्व मन्त्रीहरूले हाँकेका दलहरूकै थ्रेसहोल्ड कट्न नसक्ने निश्चित भएको छ ।

२०७९ को निर्वाचनमा समानुपातिकमा सिट जितेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले यस पटक थ्रेसहोल्ड पार गर्न नसक्ने निश्चित प्राय: भएको छ ।

एक करोड साढे ६ लाख मत गन्दा जसपा नेपालले एक लाख ७४ हजार १३५ मत पाएको छ । जुन अहिलेसम्म गणना भएको मतको दुई प्रतिशत भन्दा पनि कम हो ।

पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपालले गत झन्डै चार प्रतिशत मत ल्याएर समानुपातिकबाट ५ सांसद निर्वाचित गरेको थियो । यस पटक जसपा नेपालले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी, वृषेशचन्द्र लालको तराई मधेश लोकतान्त्रिक पार्टीसँग एकीकरण गरेको थियो ।

२०७९ को निर्वाचनमा समानुपातिकमा ३.७४ प्रतिशत ल्याएर पाँच सांसद् जितेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीको पनि थ्रेसहोल्ड नकट्ने भएको छ । जनमतले यस पटक ७८ हजार ७२६ मत पाएको छ ।

प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ऐनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था गरिएको छ ।

राष्ट्रिय परिवर्तन पार्टीको मत एक लाख ७० हजार २५८ पुगेको छ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले तालमेल गरेको यो पार्टीको पनि तीन प्रतिशत नपुग्ने भएको छ ।

एकल चिह्न चकिया (जाँतो)बाट चुनाव लडेको अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पनि थ्रेसहोल्ड कटाउन सकेन । तीन पार्टीको चुनाव चिह्न जाँतोमा ६१ हजार २२६ मत खसेको छ ।

त्यस्तै, नारायणमान बिजुक्छेको नेपाल मजदुर किसान पार्टीले ४२ हजार १६७, राष्ट्र निर्माण दलले ३८ हजार ८१७ र पूर्व प्रधानमन्त्री चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाले २९ हजार ३९० मत पाएको छ ।

पूर्व गृह राज्य मन्त्री मोहम्मद रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले एकल चिन्ह बस लिएर चुनाव लडेको थियो । यो चिन्हमा २८ हजार २३९ मत परेको छ ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्व मन्त्री जनार्दन शर्मा संस्थापक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ४९० मत ल्याएको छ । यो पार्टी दुर्गा सोब, सुदन कराती, सन्तोष परियार, ओजस्वी भट्टराई र अशोक जैसवालको नेतृत्वमा छ ।

त्यस्तै, नेत्रविक्रम चन्द विप्लवको नेकपा (माओवादी)ले पनि तीन प्रतिशत ल्याउन सकेन । यो पार्टीले मंगलबार राति १० बजेसम्म २३ हजार ७५८ मत पाएको छ ।

पूर्व उपप्रधानमन्त्री सीपी मैनालीको नेकपा (माले)ले ६ हजार ५९ र पूर्व मन्त्री चन्द्रदेव जोशीको नेकपा (संयुक्त)ले ४ हजार ४७८ मत पाएको छ ।

माथि उल्लेख भएका कुनै पनि दलले प्रत्यक्ष तर्फ पनि सिट जित्न सकेनन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?