+
+
Shares

इनिसा मृत्यु प्रकरण : बुवा दुबईमा अलपत्र, आमा सुर्खेतमा विक्षिप्त

प्रहरीका अनुसार २३ गते पक्राउ परेका १६ वर्षीय युवकले इनिसासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव भएको र उनी अचेत भएपछि अरु तीन जना साथीहरूलाई बोलाएर सहयोग मागेको बयान दिएका छन् । तर मृतकको परिवारले भने सामूहिक बलात्कारपछि मृत्यु भएको भन्दै कर्तव्य ज्यान तथा जबरजस्ती करणीको जाहेरी दिएको छ ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ फागुन २७ गते १०:१८

२७ फागुन, सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा १६ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइरहँदा प्रदेश अस्पतालको शवगृहमा एक किशोरीको शव पोस्टमार्टमको प्रतीक्षामा थियो ।  त्यो शव थियो, गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको ।

इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पुर्‍याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

इनिसाको बलात्कारपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउ समेत गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका नाबालक हुन् । सुर्खेत प्रहरीले २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

२३ गते के भएको थियो ?

घटनास्थल

२३ गते, शनिबार बिहान ६ बजेको थियो । इनिसा ‘ट्युसन पढ्न जान्छु’ भन्दै तयार भइरहेकी थिइन् । उनकी आमा तिला विकले ‘आज शनिबार हो, नजाऊ गुर्भाकोट घर जानुछ’ भन्दै रोक्न खोजिन् । तर, इनिसाले २ घण्टाभित्र फर्किहाल्ने भन्दै जिद्दी गरेर घरबाट निक्लिइन् ।

उनी वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्थिन् । बिहान ८ बजे फर्किसक्ने भनेर घरबाट निस्किएकी छोरी ९ बजेसम्म नआएपछि आमाले फोन गरिन् । तर फोन स्वीच अफ थियो । ‘स्कुलमा पनि फोन गरेँ तर फोन उठेन । कम्प्युटर पढाउने माधव सरको फोन पनि अफ थियो,’ इनिसाकी आमा तिला भन्छिन् ।

केही समयपछि बिरानो नम्बरबाट फोन गर्दै कसैले भन्यो ‘तपाईंकी छोरी शहीद पार्कको जङ्गलमा बेहोस अवस्थामा छिन् । छिटो लिन आइहाल्नुस् ।’ तिला सानो छोरा च्यापेर हतारिँदै शहीद पार्क पुगिन् । उनका अनुसार इनिसाको शरीर रक्ताम्मे थियो । कपाल लुछिएको, घाँस मडारिएको थियो । एकातिर जुत्ता, अर्कोतिर मोजा थियो ।

खोल्सातिर सुतेकी इनिसाको शरीरमा कपडा थिएन । कालो ज्याकेटले छोपेको थियो । ‘कालो ज्याकेट हटाउँदै प्रहरीले छोरीको अनुहार देखायो । छातीभरि नीलडाम थिए,’ तीलाले भक्कानिँदै भनिन्, ‘छोरीको त्यो अवस्था देखेपछि मेरा शरीर काँप्न थाल्यो । आँखा तिरमिराउन थाले । म त्यहीँ बेहास भएछु । प्रहरीले छोरीलाई अस्पताल पुर्‍याएको पनि थाहा पाइनँ ।’

दुबई एयरपोर्टमा अलपत्र छन् बुवा

विछिप्त अवस्थामा इनिसाकी आमा तिला ।

इनिसाका बुवा इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाश पाएपछि रोजगारीका लागि दुबईमा छन् । पछिल्लो ६ वर्ष यता दुबईको सेनामा कार्यरत उनी छुट्टिमा घर आएर एक महिना अगाडि मात्रै दुबई गएका थिए ।

छोराछोरीको सुन्दर भविष्यका लागि भन्दै इन्द्रबहादुर विदेशिए । छोराछोरी पढाउन भनेर तीला पाँच वर्षयता वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । इनिसा पढाइमा राम्रो विद्यार्थी थिइन् । विज्ञान विषय लिएर पढिरहेकी उनी डाक्टर बन्न चाहन्थिन् । बुवा–आमाको सपना पनि छोरी डाक्टर बनेको देख्नु थियो । आँखै अगाडि फूल जसरी हुर्काएकी छोरीको गला कसले र किन निमोठ्यो ? यसको उत्तर अभिभावकसँग छैन ।

छोरीको मृत्युपछि आमा तिलाको स्वास्थ्य कमजोर बन्दै गएको छ । छोरीको मृत्युको खबरले विक्षिप्त बुवा इन्द्रबहादुर पुन: घर फर्किने प्रयासमा छन् । तर मध्यपूर्व क्षेत्रमा जारी लडाइँले दुबईको एयरपोर्ट बन्द भएकाले उनको उडान अनिश्चित भएको छ ।

‘बहिनीको मृत्युपछि फुपुले केही खानु भएको छैन । स्वास्थ्य निकै कमजोर बन्दै गएको छ’, चन्द्रबहादुरले भने, ‘फुपाजु उता दुबई एअरपोर्टमा अलपत्र पर्नुभएको छ ।’

घरमा इनिसाकी आमा पनि विक्षिप्त छिन् । दुबईको एअरपोर्टमा अलपत्र बुवा इन्द्रबहादुर कहिले नेपाल आउने टुंगो छैन । चन्द्रबहादुर र उनका ४–५ जना साथीहरू न्यायको पर्खाइमा जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् । ‘घर जाउँ फुपुको हालत हेर्ने हिम्मत छैन । प्रहरीकोमा जाउँ चित्तबुझ्दो जवाफ आउँदैन’, जिप्रका अगाडि चौरमा बसिरहेका चन्द्रबहादुरले भने, ‘यसरी धाउन थालेका आज चार दिन भयो । प्रहरीले केहीलाई पक्राउ त गरेको छ । तर घटनाको टुंगो लगाउन ढिलाइ गरिरहेको छ ।’

अनुसन्धान कसरी भइरहेको छ ?

मृतकको परिवारले सामूहिक बलात्कार पछि इनिसाको हत्या भएको दाबी गरेको छ । सोही अनुसार चार जनाविरुद्ध परिवारले कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी उजुरी दिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ ।

‘हामीले सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेका छौँ । पक्राउ परेकाहरू सबै नाबालिग हुन् । उनीहरूको बयान सुरु भएको छैन’, डिएसपी बुढथापाले भने, ‘प्रदेश अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन । रिपोर्ट आएपछि हामी एउटा निष्कर्षमा पुग्छौं ।’

प्रहरीका अनुसार पुन: पोस्टमार्टम र थप अनुसन्धानका लागि भेरी अस्पताल नेपालगन्जबाट तीन जना विशेषज्ञको टोलीलाई सुर्खेत बोलाइएको छ । ‘घटनाको गम्भीरताका साथ अनुसन्धान अगाडि बढाएका छौँ’ऽ उनले भने ।

प्रहरीका अनुसार २३ गते पक्राउ परेका १६ वर्षीय युवकले इनिसासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव भएको र उनी अचेत भएपछि अरु तीन जना साथीहरूलाई बोलाएर सहयोग मागेको बयान दिएका छन् । तर मृतकको परिवारले भने सामूहिक बलात्कारपछि मृत्यु भएको भन्दै कर्तव्य ज्यान तथा जबरजस्ती करणीको जाहेरी दिएको छ । घटनास्थलको अवस्था हेर्दा सामूहिक बलात्कार पछि नै हत्या गरेको जस्तो देखिने परिवारको दाबी छ ।

‘सामान्य शारीरिक सम्पर्क हुँदैमा कसैको ज्यान कसरी जान्छ ? यो कस्तो लजिक हो ?’ इनिसाका दाजु नाता पर्ने चन्द्रबहादुरले प्रहरीलाई नै प्रतिप्रश्न गर्दै भने, ‘शरीरमा नीलडाम छन् । कपाल लुछिएको छ । भजाइना च्यातिएको छ । तड्पाई तड्पाई मारिएको छ । दोषीमाथि कडा कारबाही हुनुपर्छ ।’

प्रहरीले मृतकका आफन्तहरूसँग गर्ने व्यवहार र अनुसन्धानप्रति विश्वस्त नरहेको चन्द्रबहादुरले बताए । ‘हामीले चारै जनाको नाममा जाहेरी दिएका छौँ । तर प्रहरी भने एक जनाको मात्रै गल्ती देखाउँदै अरू तीन जना निर्दोष देखाउन खोजेजस्तो गर्छ । जबकि अझै पोस्टमार्टम रिपोर्ट आउनै बाँकी छ,’ उनले भने, ‘हामीहरू न्यायको पर्खाइमा छौं ।’

जिल्लाका अधिकारवादी संघसंस्थाले यस घटनामा चासो देखाएका छन् । उनीहरुले गम्भीर अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलगायत निकायमा ध्यानाकर्षण पत्र बुझाएका छन् । उक्त घटनालाई अत्यन्त दु:खद, अमानवीय र निन्दनीय भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?