+
+
Shares

राज सागर : राइफल बोक्ने सपना टुटेपछि भेटिएको गजलको गहिराइ

उनले खोजेको कुरा केही हदसम्म गजलमा पाएका छन् । किनकि गजलमा गायन, शब्द र स्वर सबै अब्बल हुनुपर्छ ।

सापेक्ष सापेक्ष
२०८२ चैत २० गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राज सागरले दुई दशकदेखि नेपाली सुगम संगीत र गजलमा निरन्तरता दिँदै आएका छन् र संगीतलाई जीवन दर्शन बनाएका छन्।
  • उनले लाहुरे बन्ने सपना छोडेर काठमाडौं आएर संगीत अध्ययन गरी गजल गायनमा केन्द्रित भएका छन्।

नेपाली संगीतको कोलाहलमय बजारमा धेरै ताराहरू उदाउँछन्, अस्ताउँछन् । गुमानाम हुन रुचाउनेहरू त दृश्यमा समेत आउँदैनन् । अर्कोतर्फ भ्युज र भाइरलको दौडमा कुदिरहेकाहरू पनि उतित्कै छन् । तै पनि यो सांगीतिक भीडमा कोही यस्ता साधक पनि भेटिन्छन्, जो यी दृश्यभन्दा पर छन् । जसको चमक स्टेजको झकिझकाउमा भन्दा संगीतको गहिराइमा बढी महसुस हुन्छ । बुझाइमा हुन्छ । झुकावमा हुन्छ ।

झण्डै दुई दशकदेखि नेपाली सुगम संगीत तथा गजलको एउटै लयमा अविरल हिँडिरहेका राज सागर त्यस्तै एक इमानदार सर्जक हुन् । वि.सं. २०६३ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका उनी हो-हल्लाको वृत्तमा छैनन् । गुपचुप झङ्गारहरूमा झुमिरहेका छन् । र उनी आज त्यस्तो बिन्दुमा छन्, जहाँ संगीत उनका लागि पेशा मात्रै होइन, जीवन बाँच्ने एउटा दिव्य दर्शन बनिसकेको छ ।

त्यो लाहुरे सपना

भोजपुरको फुलुङ भन्ने ठाउँमा पुर्ख्यौली घर भएका राज सागरको जन्म त्यतै भएको भयो । त्यहीँको उकालीओराली गर्दै उनको बाल्यकाल बितेको थियो । त्यो समयमा गाउँघरमा लाहुर जानेहरूको लर्को ठूलै हुन्थ्यो । एक हिसाबले बेलायती सेनामा भर्ती हुनु मानको कुरो थियो । र उनले पनि सपना बुनेका थिए– लाहुरे बन्ने ।

अनि गाउँकै अन्य तन्नेरीहरूसँग तालिमहरू सुरु गरे । सपना पूरा गर्न भिँडिरहे । ‍धरानमा छनोट हुँदै अन्तिम छनोटका लागि पोखरासम्म पुगे । बेलायती सेनामा भर्ती हुन चाहनेहरू धेरैको हकमा पोखरा पुख्नु पनि ठूलो कुरा हुन्छ । त्यहाँ उत्तीर्ण भए उनीहरू साँच्चिकै लाहुरे हुन्छन् । त्यस्तै ठाउँमा पुगेपछि उनको अपेक्षा पनि बढेको थियो, कतै लाहुरे पो भइहालिन्छ कि!

तर, नियतिले उनलाई अर्कै बाटो हिँडाउनु थियो । उनी अन्तिम छनोटबाट बाहिरिए ।

त्यो समय उनी निकै दु:खी भए । मेहनत वर्षौंको थियो । तर, पोखराको त्यो मोड नै उनको जीवनको ‘टर्निङ पोइन्ट’ बन्यो । राज सागरको एउटा अचम्मको बानी छ । उनी जेमा लाग्छन्, त्यसमा आफ्नो शतप्रतिशत दिन्छन् । नतिजा हात लागेन भने त्यो काम चट्टै छाड्छन् । र, अर्कोतिर लाग्छन् ।

यसपछि उनले राइफल बोक्ने सपनालाई त्यहीँ बिसाए । र, कहिल्यै पछाडि फर्केर हेरेनन् । बरू त्यही ‘चट्टै छोडिदिने’ स्वभावले उनलाई काठमाडौं डोहोर्‍यायो । हार्मोनियमसँग साइनो जोडिदियो ।

संगीतको पहिलो विश्वविद्यालय रेडियो

सायद त्यसबेला उनले लाहुरे बन्ने सपना बुनेकै थिएनन् । उनी संगीतको नजिक पुगिसकेका थिए ।

गाउँमा क्यामेरासँग साटेर ठूलो बुबाले ल्याएको एउटा रेडियो नै राज सागरको संगीतको पहिलो विद्यालय थियो । रेडियोमा नारायण गोपाल, तारा देवी लगायतका गीतहरू बजिरहेका हुन्थे । समाचारभन्दा संगीत नै उनका लागि प्यारो हुन्थ्यो । यतिसम्म कि कहिलेकाहीँ रेडियोको ब्याट्री सकिन्थ्यो । अनि उनले रेडियोको ब्याट्री दाँतले टोकेर वा ढुङ्गाले थिचेर भए पनि रेडियो बजाएर गीत सुन्थे ।

उनी ‘अब पढाइ अगाडि बढाउँछु’ भन्ने घर सल्लाह गरेर काठमाडौँ छिरे । आरआर क्याम्पसमा संगीत विषय लिएर भर्ना भए । पछि उनी दीपक जङ्गम, ईश्वर अमात्य लगायतका सर्जकको नजिक हुन पुगे । त्यसो हुँदा उनी शास्त्रीय तथा सुगम संगीतको प्रेममा पर्दै गए ।

शब्दको ओजन खोज्ने गायक

गजललाई मूलतः ईश्वर र सुन्दरताको वर्णन गर्ने विधाका रूपमा लिइन्छ । यसको लेखन नियमबद्ध संरचनामा हुन्छ । यसको शब्दको छनोट र ओजनले विशेष अर्थ राख्छ । यदि गजलमा शब्द फितलो भयो भने त्यसले आफ्नो प्रभाव गुमाउँछ । र, गायनले मात्र त्यसलाई बचाउन सक्दैन ।

राज सागर यो कुरादेखि अत्यन्तै सचेत छन् । यसकारण उनलाई सुरुमा गीतको शब्दहरूले छुनुपर्छ । युट्युबमा उपलब्ध उनका गजलहरूसुने थाहा यो कुरा थाहा पाइन्छ ।
उनी संगीतलाई ध्वनिको खेलभन्दा बढी मान्छन् । उनको स्पष्ट मान्यता छ- साहित्य जति मजबुत हुन्छ, संगीत त्यति नै बलियो हुन्छ ।

पछिल्लो समयका धेरै गीतहरूमा बिम्ब र साहित्यिक चेतको कमी देख्दा उनी चिन्तित हुन्छन् । एउटा सफल गीतमा सबै अवयवहरूको सही सम्मिश्रण हुनुपर्छ भन्ने उनको तर्क छ । ‘अहिले एउटा खुर्सानीलाई नै अचार भनिए जस्तै भएको छ, तर अचार हुन त धेरै चिजको सम्मिश्रण चाहिन्छ नि’ उनी भन्छन् ।

र उनले खोजेको कुरा केही हदसम्म गजलमा पाएका छन् । किनकि गजलमा गायन, शब्द र स्वर सबै अब्बल हुनुपर्छ । यहीकारण पछिल्लन आठदश वर्षदेखि राज सागर पूर्णरूपमा गजल गायनमा केन्द्रित छन्।

मेहदी हसन, जगजित सिंह र गुलाम अलीका गजलहरूबाट प्रभावित उनी गजल गायनमा रागको मिसावट हुनुलाई विशेष मान्छन् । भलै गजल नै राग भने होइन । उदाहरणका लागि, मेहदी हसनको रन्जिश हि सहीमा यमन कल्याण रागको प्रभाव पाइन्छ । त्यसले यस गजललाई बेग्लै बनाएको छ । त्यो भने सर्जकको सिर्जनात्मक पाटो भएको उनको भनाइ छ ।

त्यस्तै गजल गाउन नाभीदेखि आउने गहिरो र बाक्लो आवाज राम्रो मानिने उनको भनाइ छ । त्यसले श्रोताको कान र मनलाई शान्ति प्रदान गर्न उनी सुनाउँछन् । त्यस्तो स्वरमा भएको गजलले ‘पेन किलर’को काम गर्ने उनी सुनाउँछन् ।

भीडबाट भागेका एकान्तवासी

राज सागरको व्यक्तित्वमा एउटा अलग्गै सादगीपन भेटिन्छ । उनी ख्याति र भ्युजको सस्तो दौडमा सामेल छैनन् ।

‘मलाई हजारौंको भिड चाहिँदैन । सुन्ने १० जना मात्र भए पनि उनीहरू इमानदार हुनुपर्छ,’ भन्छन्। उनले यो कुरा भनिरहेका मात्र छैनन् । वास्तवमै भीडबाट भागेर एकान्तवासी भइरहेका छन् ।

गर्नलाई उनी कार्यक्रमहरू त गरिरहेका छन् । तर, तिनमा अत्यन्तै कम श्रोता हुन्छन् । ठूलो कार्यक्रममा निस्कने होहल्ला भन्दा श्रोतासँगको ‘कनेक्सन’ मन पर्ने उनी सुनाउँछन् । यसैले सार्वजनिकभन्दा पनि उनी बढी निजी कार्यक्रमहरूतिर डुलिरहेका हुन्छन् ।

आजकल धेरै कलाकारहरू बजारको माग अनुसार आफ्नो ‘ट्र्याक’ परिवर्तन गर्छन् । तर, उनले आफ्नो सांगीतिक निष्ठामा कहिल्यै सम्झौता गरेनन् । उनी पैसा कमाउन, महल ठड्याउन वा जग्गा जोड्न संगीतमा लागेका पनि होइनन् । उनले एउटा रेकर्डिङ स्टुडियो चलाइरहेका छन् र साधनामा लीन भइरहेका छन् ।

आखिर हुन पनि, उनी गजल जस्तै गुलजार छन् । त्यति धेरै पनि होइन कि फकिर नै बनुन् । बस् शब्द र संगीतप्रतिको निष्ठा र आदर राखिरहन मात्र चाहन्छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?