+
+
WC Series
Nepal Women
122/10 (20)
VS
Thailand Women won by 8 wickets
Won Thailand Women
125/2 (16.5)
Shares

भारतबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १३:०८

काठमाडौँ । भारतको दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’ बजारमा आएको छ । दार्जिलिङको रिदम रेकरडिङ्सले प्रस्तुत गरेको ‘मतला’ दार्जिलिङकै सङ्गीतकार जीवनप्रकाश प्रधानको एकल सङ्गीतमा तयार भएको हो ।

गजलकारहरू राधा कणेलका ३, रश्मि असफल र घनेन्द्र ओझाका २/२ वटा गजलहरू समेटिएको ‘मतला’मा दार्जिलिङका ३ र नेपालका २ गायक, गायिकाले स्वर दिएका छन् । एल्बममा दार्जिलिङका रजनी ऋदम राई, इस्माइल दास र सृष्टि आचार्य प्रधान तथा नेपालका शिव परियार र निशा देशारले स्वर दिएका छन् ।

काठमाडौँमा शनिबार गरिएको सार्जननिकीकरणमा ‘मतला’माथि समीक्षा गर्दै विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले ‘नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०’ अभियानअन्तर्गत भारतबाट समेत नेपाली गजल आउनुले अब नेपाली गजल लेखनसँगै गायनले पनि व्यापकता पाएको बताए । श्रेष्ठले ‘मतला’ साङ्गीतिक हिसाबले सुन्दर र सशक्त भएको सुनाए ।

श्रेष्ठले भने, ‘सङ्गीतको भाषा, भूगोल हुँदैन । व्यक्तिको संवेदना छुने हरेक सङ्गीत विश्वव्यापी बन्छ ।’ उनले यस एल्बमले नेपाली गजल गायनलाई अन्तर्राष्ट्रियकरण गरेको पनि बताए ।

अर्का समीक्षक गजलकार, गीतकार एवं सङ्गीतकार करुण थापाले गजलले सङ्गीतको श्वास पाएपछि मात्र जीवन्त बन्ने धारणा राखे । थापाले ‘मतला’ एल्बममा समावेश गजलहरू शब्द, सङ्गीत र गायन तीनै कोणबाट सशक्त रहेका बताए ।

थापाले भने, ‘नेपाली गजल गायन अभियानले तीव्रता लिइरहेका बेला यसरी देशबाहिरबाट समेत एल्बम आउनु खुसीको विषय हो ।’

गजलकार राधा कणेलले ‘मतला’ रेकर्ड गर्दाका सन्दर्भ जोड्दै सङ्गीतकार प्रधान परिष्कृत साधक रहेका र अत्यन्त मिहिनेतपूर्वक एल्बम तयार भएको बताइन् । रश्मि असफलले २० वर्षभन्दा लामो समयदेखि गजल लेखिरहे पनि सङ्गीतमा भर्खरै आउन थालेको सुनाइन् । असफलले आफू परिष्कृत गजल लेखनका लागि अभ्यासरत रहेको सुनाइन् ।

गत २७ पुसमा असफलकै शब्दमा सन्तोष श्रेष्ठले कोशी प्रदेशको झापामा एकल गजल गायन ‘रश्मि गजल गुञ्जन’ सम्पन्न गरेको जानकारी पनि उनले दिइन् ।

गजलकार एवं गजल अभियन्ता घनेन्द्र ओझाले सङ्गीतकार सन्तोष श्रेष्ठ र आफूले घोषणा गरेको ‘नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०’ अभियानले देशको सीमा नाघिसकेको भन्दै यस अभियानमा सबैलाई जोडिन अनुरोध गरे । ‘अब हामी भारतसम्म पुगिसकेका छौँ’, ओझाले भने, ‘भारतबाट पनि पहिलो नेपाली गजल एल्बमका रूपमा मतला आइसकेको छ । अरू धेरै यस्ता एल्बम आउने विश्वास छ ।’

सङ्गीतकार प्रधानले आफू ४० वर्षदेखि सङ्गीतमा समर्पित भए पनि सधैँ विद्यार्थी जस्तै भएको भन्दै निरन्तर साधनाले गजल सङ्गीततर्फ मोडेको सुनाए । प्रधानले ‘मतला’ गजलको शुभारम्भ शेर भएजस्तै यो एल्बम पनि आफ्नो गजल सङ्गीतको शुभारम्भ भएको बताए ।

प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले ‘मतला’ले नेपाली गजल सङ्गीतका क्षेत्रमा विशेष अर्थ र महत्त्व राख्ने बताए । शब्द र सङ्गीतको उपयुक्त संयोजन अनि स्वरको सही छनोटले गजल उत्कृष्ट बन्ने भन्दै बरालले ‘मतला’भित्रका गजलमा यी विशेषता रहेका सुनाए । बरालले गजल सङ्गीतका विविध शैली र तरिका हुने बताए । नेपालमा गजल सङ्गीत र गायन नेपाली माटो, भाषा, बाजा, उपकरण र नेपालीपनअनुसारकै हुने सुनाए । भारत वा अन्य देशका सङ्गीत र गायनका शैली नेपालमा खोजिनु उपयुक्त नहुने बरालको धारणा थियो ।

अनाममण्डलीले आयोजना गरेको कार्यक्रमलाई लभ एन्ड सपोर्ट फाउन्डेसन, नेपालले व्यवस्थापनमा सहयोग गरेको थियो । कार्यक्रमको सभापतित्व अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारले गरेका थिए भने सहजीकरण ज्ञानु विद्रोहीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?