News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रियसभा सदस्य वामदेव गौतम र भगवती न्यौपानेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न राजीनामा दिएका छन्।
- नारायणकाजी श्रेष्ठले पनि राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार बन्न लागेका छन्।
- तीनै सदस्यको कार्यकाल फागुन २० मा सकिन लागेको थियो र उनीहरूले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।
४ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्यद्वय वामदेव गौतम र भगवती न्यौपानेले पनि पदबाट राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयले उनीहरूको राजीनामा प्राप्त भएको जनाएको हो ।
यसअघि राष्ट्रिय सभाका अर्का सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका थिए । तीनै जना राष्ट्रिय सभा सदस्यको पद छाडेर प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुँदैछन् ।
नारायणकाजीले २०७० मा मकवानपुरमा चुनाव लडेका थिए । उनले २०७४ गोरखामा चुनाव लडेका थिए । त्यसपछि उनी २०७६ मा राष्ट्रिय सभा सदस्यको उम्मेदवार भए र जिते । ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि आगामी फागुन २० मा सकिंदैथियो । एक महिनाअगाडि राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ उम्मेदवार हुन लागेका हुन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ताको समय छ । त्यसको दुई दिन अगाडि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका हुन् ।
त्यस्तै ७७ वर्षीय वामदेव गौतमले पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन राष्ट्रियसभा सदस्यको पदबाट राजीनामा दिएका छन् ।
गौतम २०४८ मै चुनाव जितेका थिए । २०५१ फेरि जिते । २०५३ सालमा त उनी गृहमन्त्री नै बने । २०५६ सालको चुनावमा गौतम पराजित भए । २०६४ मा पनि हारे । गौतम २०७० मा बर्दिया १ का साथै प्युठान १ बाट विजयी भए । २०७४ मा पुनः बर्दिया १ बाट उम्मेदवार भए र हारे। चुनाव हारेपछि राष्ट्रिय सभामा गए। १ असोज २०७७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गरिन्। उनको कार्यकाल आगामी फागुन २० मा सकिंदैछ ।
राष्ट्रिय सभामा कार्यकाल सकिन लागेपछि उनी फेरि प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार हुँदैछन् । उनी बहुदल यताका सदाबहार उम्मेदवार हुन् ।
भागवती न्यौपानेको कार्यकल पनि आगामी फागुन २० मा सकिँदैछ । कार्यकाल सकिनु एक महिनाअगाडि राजीनामा दिएर उनी पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न लागेकी छन् ।
प्रतिक्रिया 4