News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस विभाजित भएपछि राष्ट्रिय सभामा नेकपा एमालेसँगको चुनावी तालमेलको विषयमा नेताहरू परामर्शमा छन्।
- विशेष महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री डिला संग्रौला पन्तले कुनै दलसँग तालमेल नगर्ने निर्णय भएको बताइन्।
- राष्ट्रिय सभाको निर्वाचनका लागि कांग्रेस र एमालेले भागवण्डा गरेर क्रमशः ९ र ८ सिटमा उम्मेदवारी दिएका छन्।
१ माघ, काठमाडौं । नेपाली कांग्रेस विभाजित भएसँगै राष्ट्रिय सभामा नेकपा एमालेसँग भएको चुनावी तालमेल के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । खासगरी विशेष महाधिवेशनबाट निर्वाचित नेताहरू यो विषयमा परामर्शमा छन् ।
विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित डिला संग्रौला पन्त आफूहरू कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने निर्णयमा रहेको बताउँछिन् । उनी भन्छिन्, ‘विधानसम्मत विशेष महाधिवेशन गरेका छौं । त्यसले कार्यसमिति चयन गरेको छ । र कुनै दलसँग तालमेल नगर्ने हाम्रो निर्णय छ ।’
राष्ट्रिय सभाको सन्दर्भमा के गर्ने भन्ने प्रश्नमा भने उनले ठोस जवाफ दिइनन् ।
विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित प्रकाश रसाइली ‘स्नेही’ भने यो विषयमा छलफल हुन बाँकी रहेको बताउँछन् । उनी भन्छन्, ‘राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा केही निर्णय भइसकेको छैन, यसका बारेमा हामी मतदातासँग पनि छलफल गर्छौं ।’
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् ।
सहमहामन्त्री स्नेहीका अनुसार कांग्रेसबाट प्रदेश सभामा रहेका प्रदेश सभा सदस्यहरू र स्थानीय तहका प्रमुख र उपप्रमुखसँग राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा छलफल गर्न बाँकी छ । तथापि, राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा एमालेसँग तालमेल गर्ने निर्णय भएर मनोनयन नै भइसकेको अवस्थामा आफूहरू तत्कालीन निर्णयलाई मान्नुपर्ने अवस्थामा रहेको स्नेहीले बताए ।
उनले अनलाइनखबरसँग भनेका छन्, ‘मतदातासँग छलफल गर्न बाँकी छ । तर, नेपाली कांग्रेसले तत्कालीन अवस्थामा निर्णय गरेर अगाडि बढाएको हुनाले हामी त्यस (राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी तालमेल)लाई मान्छौं ।’
नेकपा एमाले पनि कांग्रेसमा विकसित घटनाक्रमले राष्ट्रिय सभाको तालमेललाई असर नगर्नेमा विश्वस्त छन् । नेकपा एमालेका सचिव भानुभक्त ढकाल भन्छन्, ‘दलहरूका बीचमा सहमति भए अगाडि बढेको हुनाले कांग्रेस त्यस सहमतिमा अडिग छ भन्ने हाम्रो विश्वास छ ।’
आफूहरूले राष्ट्रिय शक्तिहरू मिल्ने सन्दर्भमा बाधक नहुने भनेको र अन्तिममा कांग्रेस, एमाले र मधेश केन्द्रित दलका बीचमा मात्रै सहमति हुन सकेको सचिव ढकालले स्मरण गरे ।
कांग्रेस र एमालेले सहमति गरेअनुसार नै राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन् । उनको ठाउँमा सरकारको सिफारिसमा अर्को व्यक्तिलाई राष्ट्रपतिले नै मनोनित गर्नेछन् ।
बाँकी १८ पदका लागि गत पुस २३ मा मनोनयन भइसकेको छ । निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये कांग्रेस र एमालेले भागवण्डा गरेर क्रमश ९ र ८ सिटमा उम्मेदवारी दिएका छन् । बाँकी एउटा पदमा लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेका छन् ।
कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन् ।
भागवण्डा अनुसार मधेश प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा, एमालेबाट रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार छन् । कोशी प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान, रन्जित कर्ण र एमालेका रेखा झा उम्मेदवार छन् ।
बागमती प्रदेशमा कांग्रेसले गीता देवकोटा र एमालेले प्रेम दंगाललाई उम्मेदवार बनाएको छ । गण्डकी प्रदेशमा कांग्रेसबाट जगत तिमिल्सिना र एमालेबाट र सम्झना देवकोटा उम्मेदवार छन् । लुम्बिनी प्रदेशमा कांग्रेसबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, एमालेबाट रामकुमारी झाक्री उम्मेदवार छन् ।
कर्णाली प्रदेशमा कांग्रेसबाट ललितजंग शाही, एमालेबाट मिना रखाल, सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया 4