News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाको बैठक सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बस्ने गरी व्यवस्थापन गरिएको छ।
- सरकारले माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउने निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
- जेनजी आन्दोलनपछि संसद् भवन जलेपछि वैकल्पिक रुपमा सिंहदरबारमै राष्ट्रिय सभाको बैठक राखिएको हो।
२८ पुस, काठमाडौं । राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनसमेत जलेको छ । त्यसपछि वैकल्पिक रुपमा सिंहदरबारमै राष्ट्रिय सभाको बैठक राख्ने गरी व्यवस्थापन गरिएको हो ।
कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई सभाको बैठक राख्ने गरी व्यवस्थापन गरिएको छ । प्रवक्ता गिरी भन्छन्, ‘९० प्रतिशत सकियो । बाँकी काम पनि माघ ४ अगाडि नै सकिन्छ ।’
सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउने निर्णय गरिसकेको छ । यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । यसअनुसार सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि अन्तरिम सरकार बन्यो र प्रतिनिधिसभा विघटन गर्यो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका थिए ।
संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको अधिवेशनका लागि विजनेसहरू पनि छन् । केही विधेयक र सरकारले ल्याएका अध्यादेशहरू रहेका छन् ।
त्यसका अलावा संसदीय समितिका अध्ययन प्रतिवेदन र वार्षिक प्रतिवेदनहरू समेत रहेका छन् । अधिवेशन सुरु भएपछि सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउन सक्छन् ।
राष्ट्रिय सभामा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रमसमेत सञ्चालन हुने गरेको छ ।
प्रतिक्रिया 4