+
+
Shares

नेकपाले गठबन्धन तोड्यो, पोर्तेललाई राष्ट्रिय सभाको ढोका खुल्यो

भागबण्डामा चित्त दुखाउँदै नेकपाले गठबन्धन छाडेपछि कोशी प्रदेशबाट पोर्तेलले पनि अवसर पाए । गठबन्धन बलियो भएका कारण उनको जित लगभग निश्चित छ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ पुष २३ गते २२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सोम पोर्तेलले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशको दलित कोटामा उम्मेदवारी दिएका छन्।
  • पोर्तेलको नाम नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट फिर्ता लिने प्रक्रिया अगाडि बढाएको छ।
  • कोशी प्रदेशमा राष्ट्रिय सभाका लागि ३६७ मतदाता छन्, जसमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख समावेश छन्।

२३ पुस, विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेका सोम पोर्तेलले उम्मेदवारी दिएका छन् । उनले कोशी प्रदेशको दलित कोटामा उम्मेदवारी दिएका हुन् ।

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका पोर्तेलको नाम नेकपा एमालेले यसअघि निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकको बन्दसूचीमा छ ।

कांग्रेस, एमाले र नेकपा सम्मिलित गठबन्धन बन्ने निश्चित हुँदा बुधबार बिहानसम्म उनको उम्मेदवारीको टुङ्गो थिएन । महिला कोटा पाएका कारण एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई अघि सारेको थियो ।

भागबण्डामा चित्त दुखाउँदै नेकपाले गठबन्धन छाडेपछि कोशी प्रदेशबाट पोर्तेलले पनि अवसर पाए । गठबन्धन बलियो भएका कारण उनको जित लगभग निश्चित छ ।

निर्वाचन कानुन अनुसार एकै पटक दुई वटा निर्वाचनको उम्मेदवार बन्न मिल्दैन । मनोनयन दर्ता गरेलगत्तै पोर्तेल केही हतास र चिन्तित देखिएका थिए । बन्दसूचीमा नाम कायमै रहँदा उम्मेदवारीमा दाबी-विरोध पर्न सक्ने डर उनमा देखिन्थ्यो ।

तर, पार्टीका माथिल्लो तहका नेताहरूले बन्दसूचीबाट पार्टीले नाम फिर्ता लिने आश्वासन दिएपछि उनी ढुक्क देखिए । पार्टीका नेताले निर्वाचन आयोगलाई पत्राचार गरेर बन्दसूचीबाट नाम फिर्ता लिने प्रक्रिया अगाडि बढाइसकेको जानकारी उनलाई दिए ।

झापा निवासी पोर्तेल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट हुन् । उनले आफ्नो राजनीतिक यात्रा पार्टीको वडा कमिटीबाटै सुरु गरेका थिए । उनले वडा, गाउँ र जिल्ला हुँदै प्रदेश सदस्यको जिम्मेवारी सम्हालेका थिए ।

पाँचथरमा २०३५ साल फागुनमा जन्मिएका पोर्तेल हाल झापाको हल्दिबारीका स्थायी बासिन्दा हुन् । उनको राजनीतिक यात्रा २०४७ सालदेखि विद्यार्थी संगठन अनेरास्ववियुबाट सुरु भएको थियो ।

पार्टीको वडा कमिटीदेखि प्रदेश कमिटीसम्मका विभिन्न सांगठनिक जिम्मेवारी कुशलतापूर्वक निभाएका पोर्तेल हाल एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उपमहासचिव छन् ।

पोर्तेलसँग स्थानीय सरकार र विकास निर्माणको अनुभव छ । उनले २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुखको भूमिका निर्वाह गरेका थिए ।

उनले राष्ट्रिय सभामा युवाहरूको मुद्दा उठाउनका लागि पार्टीले आफूलाई पठाएको बताए । ‘पहिले राष्ट्रिय सभालाई ज्येष्ठहरू, अनुभवी र पुराना मान्छेलाई सम्मान गर्ने थलोको रूपमा लिइन्थ्यो,’ उनले भने, ‘अब राष्ट्रिय सभामा युवाहरू पनि जानुपर्छ र युवाको भूमिका प्रभावकारी हुनुपर्छ भन्रे हिसाबले पार्टीले मलाई अघि सारेको छ ।’

कोशीमा राष्ट्रिय सभाका लागि ३६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् ।

प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।

प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार २१०, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २९७, राप्रपाको ३९४, एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?