+
+
Shares
रिपोर्ट :

सदाबहार उम्मेदवार

देउवा, ओली, नेपाल र खनाल पार्टी र मुलुककै नेतृत्व गरिसकेका अनुहार हुन्। उनीहरूका सहयोगी वा दोस्रो–तेस्रो तहमा रहँदै आएका नेताहरूको प्रवृत्ति पनि उस्तै छ। नेताहरू पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, राजेन्द्र महतो, लालबाबु पण्डित, बलबहादुर केसी, रमेश रिजाल, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, पृथ्वीसुब्बा गुरुङ, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, अशोककुमार राई, हृदयेश त्रिपाठी, पशुपतिशमशेर जबरा, महन्थ ठाकुर लगायत नेताहरू हार होस् या जित बहुदल यताका सदाबहार उम्मेदवार छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ माघ १ गते ९:३७

१ पुस, काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८० वर्षको उमेरमा आठौं पटक चुनाव लड्ने घोषणा गरिसकेका छन्। संसदीय अभिलेख अनुसार उनी २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका नेता हुन्। २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनाव जितेका उनी राजनीतिमा पनि निरन्तर नेतृत्वदायी भूमिकामै छन् ।

प्रजातन्त्र पुनर्बहाली भए लगत्तैको आम चुनाव जितेका देउवा २०४८ सालमा गृहमन्त्री भए। २०५२ मा प्रधानमन्त्री बने। त्यसयता २०५८, २०६१, २०७४ र २०७८ मा समेत गरी पाँच पटक प्रधानमन्त्री भएर मुलुकको नेतृत्व गरिसके। गत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा उनी घरमै आक्रमणमा परे, घाइते भए। उपचारका लागि सिंगापुर उड्नु अगाडि २८ असोजमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए ।

त्यसपछि धेरैले देउवाले राजनीतिक जीवनबाट विश्राम लिएको लख काटे। तर, २८ कातिकमा उपचारबाट नेपाल फर्किएपछि उनको राजनीतिक भेटघाट पूर्ववत् अवस्थामै फर्कियो। २३ मंसिरमा देउवाले गृहजिल्ला डडेलधुराका युवा नेताहरूसँग भेटे र भने, ‘अन्तिम पटक चुनाव लड्छु।’ देउवाको चाहना नेताहरूले काट्न सकेनन्। लगत्तै २५ मंसिरमा कांग्रेस डडेलधुरा जिल्ला कार्यसमितिको बैठक बस्यो र प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारमा देउवाको नाम एकल रूपमा सिफारिस गर्‍यो। देउवा आठौं पटक किन चुनाव लड्न चाहन्छन् ? यसबारे उनले चित्तबुझ्‌दो जवाफ दिएका छैनन् ।

आधा दर्जन भन्दा धेरै पटक उम्मेदवारी दिने देउवा एक्ला नेता भने होइनन्। नेपालको राजनीतिमा लामो समयसम्म नेतृत्व तहमा रहेका अन्य कैयन् नेता छन् जो जित होस् या हार सधैं उम्मेदवार हुन्छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७४ वर्षका भए। उनी संसदीय राजनीतिमा सँगसँगै देखिन्छन्। २०४८, २०५१ र २०५६ सालको चुनाव जिते। २०६४ सालको संविधानसभा सदस्यको निर्वाचनमा पराजित भए। त्यसयताका तीनवटै संसदीय चुनाव २०७० साल, २०७४ र २०७९ मा जिते। चुनाव जितेका मात्र होइनन्, उनी राजनीतिको शीर्ष स्थानमा छन्। २०५१ सालमा गृहमन्त्री भएका थिए। २०६३ मा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री बनेका ओलीले २०७२, २०७४  र २०८१ मा गरी चार पटक प्रधानमन्त्री भएर मुलुकको नेतृत्व सम्हाले। आगामी २१ फागुनको चुनावमा उनी आठौं पटक उम्मेदवार हुँदैछन्।

एमालेको क्षेत्रीय समन्वय कमिटीले झापा क्षेत्र नम्बर ५ बाट ओलीको नाम सिफारिस गरेको छ। जेनजी आन्दोलनका क्रममा ओली नै प्रधानमन्त्री थिए। त्यसबेला प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भए। पार्टीभित्रबाट नेतृत्वमा तेस्रो पटक अनुमोदन हुँदै उनी फेरि मुलुकको नेतृत्व गर्ने ध्याउन्नमा छन्।

अर्का पूर्वप्रधानमन्त्रीद्वय ७३ वर्षीय माधवकुमार नेपाल र ७६ वर्षीय झलनाथ खनाल पनि २०४८ सालयताका सबै निर्वाचनका उम्मेदवार हुन्। नेपालले २०६४ सालको संविधानसभाको निर्वाचन बाहेकका सबै चुनाव जितेका छन्। खनालले २०५६ र २०७९ को चुनावमा पराजय बेहोरे। नेपाल २०६६ र खनाल २०६७ सालमा प्रधानमन्त्री भएका थिए । यी दुवै आठौं पटक चुनाव लड्दैछन्। पूर्वप्रधानमन्त्री नेपालको नाम रौतहट निर्वाचन क्षेत्र नम्बर १ र पूर्वप्रधानमन्त्री खनालको नाम इलामबाट चुनाव लड्नेमा छ।

दोस्रो तहमा पनि उस्तै प्रवृत्ति

देउवा, ओली, नेपाल र खनाल पार्टी र मुलुककै नेतृत्व गरिसकेका अनुहार हुन्। उनीहरूका सहयोगी वा दोस्रो–तेस्रो तहमा रहँदै आएका नेताहरूको प्रवृत्ति पनि उस्तै छ। नेताहरू पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, राजेन्द्र महतो, लालबाबु पण्डित, बलबहादुर केसी, रमेश रिजाल, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, पृथ्वीसुब्बा गुरुङ, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, अशोककुमार राई, हृदयेश त्रिपाठी, पशुपतिशमशेर जबरा, महन्थ ठाकुर लगायत नेताहरू हार होस् या जित बहुदल यताका सदाबहार उम्मेदवार छन् ।

७० वर्षीय पूर्णबहादुर खड्का २०४८, २०५१ र २०५६ का तीनवटै संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ बाट निर्वाचित भए। २०६४ को संविधानसभा निर्वाचनमा चुनाव लडेनन्। २०७० को चुनाव जिते। २०७४ मा हारे। २०७९ मा फेरि चुनाव जिते। हाल कांग्रेसको कार्यवाहक सभापतिको भूमिकामा रहेका खड्का आगामी चुनाव सुर्खेत १ बाटै लड्दैछन्। उनको नाम पार्टीको क्षेत्रीय कार्यसमितिले सिफारिस गरिसकेको छ।

कांग्रेसकै विजयकुमार गच्छदार अर्का सदाबहार उम्मेदवार। २०४८, २०५१ र २०५६ गरी तीनपटक सुनसरी ३ बाट सांसद जितेका गच्छदारले २०६४ मा फोरमबाट सोही क्षेत्रसहित मोरङबाट समेत चुनाव जिते। २०७० र २०७४ को चुनाव पनि जिते। २०७९ मा हारे। गच्छदारमा अझै सांसद हुने चाहना मरेको छैन। आगामी चुनावमा हुने उम्मेदवारीमा उनको नाम सुनसरी ३ बाट सिफारिसमा परेको छ ।

अर्का सदाबहार उम्मेदवार हुन्‌– ६७ वर्षीय राजेन्द्र महतो। हाल राष्ट्रिय मुक्ति पार्टीमा रहेका उनी धनुषा ३ बाट चुनाव लड्दैछन्। उनीसँग पनि चुनावी हार र जित दुवैको अनुभव छ। तर, थकित छैनन् ।

सद्भावना परिषद्मा आबद्ध भएर राजनीतिक जीवन शुरु गरेका महतो २०४८ सालको संसदीय निर्वाचनमा सर्लाहीबाट उम्मेदवार थिए। तर पराजित भए। २०५१ को मध्यावधि चुनाव पनि जितेनन्। २०५६ सालको चुनाव जितेर संसद्मा प्रवेश गरे। २०६४ सालको चुनाव जिते। २०७० मा पराजित भए। २०७४ को चुनाव जिते। २०७९ मा फेरि हारे। हार र जितको अनुभव सँगाल्दै उनी फेरि चुनाव लड्दैछन् ।

महतो जस्तै अर्का पात्र हुन्– ६७ वर्षीय लालबाबु पण्डित। उनी २०४८ र २०५६ मा मोरङबाट निर्वाचित भए। २०६४ मा तत्कालीन एमालेबाट समानुपातिक सांसद बने। २०७० मा प्रत्यक्ष र समानुपातिक कतै उम्मेदवार भएनन्। २०७४ मा मोरङ ६ बाट प्रत्यक्ष चुनाव जिते। २०७९ को चुनावमा हारे। यसपटक मोरङ ६ बाट चुनाव लड्दैछन्। उनको नाम उम्मेदवारका लागि एमाले मोरङ क्षेत्र नम्बर ६ क्षेत्रीय समन्वय कमिटीले सिफारिस गरिसकेको छ।

कांग्रेस नेता बलबहादुर केसी आठौं पटक चुनाव लड्दैछन्।  बहुदलीय व्यवस्था पछिको पहिलो आम चुनाव २०४८ मा सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा विजयी भए। २०५१ र २०५६ सालमा सोलुखुम्बुबाटै चुनाव जिते। २०६४ सालमा भएको पहिलो संविधानसभाको चुनावमा हारे। २०७० सालको दोस्रो संविधानसभामा विजयी भए। आम चुनाव २०७४ र २०७९ मा पराजित भए। यसपटक फेरि उनी सोलुखुम्बुबाट चुनाव लड्न खोज्दैछन्। उनको नाम पार्टीबाट सिफारिस भइसकेको छ।

कांग्रेसका ६९ वर्षीय नेता रमेश रिजालले ७ पटक चुनाव लडिसके। पर्सा क्षेत्र नम्बर ४ बाट ७ पटक सांसदको उम्मेदवार बने, जसमा ४ जित हात पारे। २०५६, २०७० र २०७४ सालको निर्वाचनमा भने उनले हार बेहोरे।  आगामी २१ फागुनमा हुने चुनावका लागि फेरि उनको नाम पर्सा ४ बाटै सिफारिस भएको छ।

पञ्चायत, बहुदल र गणतन्त्रका नेता

पशुपति शम्शेर राणा

सदाबहार उम्मेदवारमा यस्ता अनुहार पनि छन् जो पञ्चायत, बहुदल र गणतन्त्र तीनवटै व्यवस्थामा जनप्रतिनिधि भए। एक उदाहरण हुन्‌– ८४ वर्षीय पशुपतिशमशेर जबरा।

जबरा २०३१ सालयताका चुनावी उम्मेदवार हुन्। २०३१, २०३८ र २०४३ को राष्ट्रिय पञ्चायत चुनाव जितेका जबरा २०४६ सालको राजनीतिक परिवर्तनपछिको बहुदलीय व्यवस्था अन्तर्गतका २०४८, २०५१ र २०५६ मा भएको चुनाव जिते। गणतन्त्र आएपछिका चुनाव २०६४, २०७० र २०७४ मा हार बेहोरे। तर, उम्मेदवार हुन छाडेनन्। २०७९ मा समानुपातिक निर्वाचन प्रणाली मार्फत सांसद भए।

एमालेका नेता पृथ्वीसुब्बा गुरूङ पनि २०४३ साल यताकै सदाबहार उम्मेदवार हुन्। २०४३ सालमा लमजुङ क्षेत्र २ बाट जनपक्षीय उम्मेदवार बनेका थिए। बहुदल आएपछि २०४८ मा मालेका तर्फबाट उम्मेदवार बनेर पराजित भए। २०५१ र २०५६ मा पनि गुरुङ उम्मेदवार बने, तर पराजय बेहोरे।

२०६४ सालको चुनाव जिते। २०७० मा हारे। २०७४ मा प्रदेश सभाको उम्मेदवार बने र जिते। गण्डकीको मुख्यमन्त्री बने। उनी २०७९ मा प्रतिनिधिसभा सदस्यमै निर्वाचित भए।

पुनः प्रतिनिधिसभाकै निर्वाचनका लागि उनले आकांक्षा देखाएका छन्। त्यसपछि लमजुङ एमालेले गुरुङ सहित ६ जनाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस गरेको छ।

बहुदल र गणतन्त्रका निर्वाचनमा उही अनुहार अलिक धेरै छन्। एमाले नेता कृष्णगोपाल श्रेष्ठ बहुदल यता सधैं उम्मेदवार छन्। संसदीय अखिलेख अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाडौं ५, मध्यावधि निर्वाचन २०५१ मा काठमाडौं ७, २०७४ मा काठमाडौं ९ बाट निर्वाचित भएका श्रेष्ठ बाँकी चुनावमा पराजित भए।

नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले २०४८ सालयताका पाँच वटा चुनाव जिते। २०६४ मा निर्वाचन हारे। २०७४ मा बागमती प्रदेश सभा सदस्यमा चुनाव जिते। २०७९ को प्रतिनिधिसभा सदस्यको चुनाव जिते। फेरि चुनाव लड्ने तयारीमा छन्।

कांग्रेसका नेता बालकृष्ण खाँण २०४८ सालमा प्रतिनिधिसभा सदस्य भएका नेता हुन्। उनी २०६४ र २०७० मा रुपन्देही ३ बाट चुनिए। २०७४ मा कांग्रेसबाट समानुपातिक सांसद भए। २०७९ मा पराजित भए। आगामी चुनावमा प्रत्यक्षतर्फमा उनको नाम रूपन्देही क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेको छ।

कांग्रेसकै नेता दिलेन्द्रप्रसाद बडु पनि सधैं उम्मेदवार छन्। संसदीय अभिलेख अनुसार उनी प्रतिनिधिसभा सदस्यमा २०४८ र २०५६ मा दार्चुलाबाट निर्वाचित भए। २०६२/६३ सालको संयुक्त जनआन्दोलनपछि पुनःस्थापित संसद्मा प्रतिनिधित्व गरे। २०७४ मा समानुपातिक प्रणालीबाट निर्वाचित भए। २०७९ मा दार्चुलाबाट प्रत्यक्ष चुनाव जिते। आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवारको रूपमा उनको नाम सिफरिस भएको छ।

हृदयेश त्रिपाठी पनि २०४८ सालमा नवलपरासी ३ बाट चुनाव जितेका नेता हुन्। २०५१ मा त्रिपाठी सोही क्षेत्रबाट उम्मेदवार बने र हारे। २०५६ मा नवलपरासी ३ बाटै चुनाव जिते। २०६४ मा निर्वाचित भए। २०७० मा पराजित भए। २०७४ मा चुनाव जिते र २०७९ मा फेरि चुनाव हारे।

प्रजातन्त्र पुनर्बहाली यता निरन्तर राजनीतिमा रहेका अर्का नेता हुन्‌– अशोककुमार राई। २०४८ र २०५१ मा खोटाङबाट चुनाव जिते। २०५६ र २०६४ मा पराजय बेहोरे । २०७० मा पनि चुनाव जिते। २०७४ मा पराजय बेहोरे। २०७९ सालमा फेरि चुनाव जितेका थिए। यस पटक पनि उनी चुनाव लड्ने तयारीमा छन् ।

सके तल्लो नत्र माथिल्लो सदन

यस्ता नेताहरू पनि छन् जो तल्लो सदन अर्थात् प्रतिनिधिसभाा आउन नसके माथिल्लो सदन अर्थात् राष्ट्रिय सभामा उम्मेदवार हुन्छन्। राष्ट्रिय सभा छाडेर फेरि प्रतिनिधिसभामा आउँछन्। अर्थात्, जता मिल्छ उतै उम्मेदवार हुन्छन्। यस्तै पात्र हुन्‌– ८३ वर्षीय महन्थ ठाकुर। उनी आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशबाट उम्मेदवार छन्।

ठाकुर २०४८ सालमै कांग्रेसबाट सर्लाही क्षेत्र नम्बर ५ बाट चुनाव जितेर  संसदीय राजनीतिमा प्रवेश गरेका थिए। त्यसबेला उनी उपसभामुख बने। २०५१ को मध्यावधि निर्वाचनमा सर्लाहीबाटै चुनाव जिते। २०६४ र २०७० को चुनावमा पराजित भए। २०७४ र २०७९ मा महोत्तरी ३ बाट निर्वाचित भए।

गत चुनावमा उनले मतदातासँग मत माग्दै गर्दा भनेका थिए, ‘यो मेरो अन्तिम चुनाव हो, यसपछि म चुनाव लड्ने छैन।’ तर, उनलाई फेरि पनि जनप्रतिनिधि हुने रहरले छाडेन। राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेका छन्।

हाल राष्ट्रिय सभा सदस्य नै रहेका अर्का उदाहरण हुन्‌– ७७ वर्षीय बामदेव गौतम। गौतमले २०४८ मै चुनाव जितेका थिए। २०५१ फेरि जिते । २०५३ सालमा त उनी गृहमन्त्री नै बने।

२०५६ सालको चुनावमा गौतम पराजित भए। २०६४ मा पनि हारे। गौतम २०७० मा बर्दिया १ का साथै प्युठान १ बाट विजयी भए। २०७४ मा पुनः बर्दिया १ बाट उम्मेदवार भए र हारे। चुनाव हारेपछि राष्ट्रिय सभामा गए। १ असोज २०७७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गरिन्। उनको कार्यकाल आगामी फागुन २० मा सकिंदैछ।

राष्ट्रिय सभामा कार्यकाल सकिन लागेपछि उनी फेरि प्रतिनिधिसभा सदस्यमा आँखा लगाउँदैछन्। नेपाली कम्युनिस्ट पार्टी बर्दियाले बर्दिया निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ वामदेव गौतमको नाम सिफारिस गरेको छ।

नेपाली कम्युनिस्ट पार्टीका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि राष्ट्रिय सभा सदस्य छाडेर प्रतिनिधिसभाको चुनाव ताक्दैछन्। श्रेष्ठले २०७० मा मकवानपुरमा चुनाव लडे र हारे। २०७४ गोरखामा हारे। त्यसपछि उनी २०७६ मा राष्ट्रिय सभा सदस्यको उम्मेदवार भए र जिते। ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि आगामी फागुन २० मा सकिंदैछ।

आगामी प्रतिनिधिसभा सदस्यमा उनी उम्मेदवार हुन खोज्दैछन्। ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ वा सर्लाही क्षेत्र नम्बर ३ मध्ये एउटाबाट उम्मेदवार हुने उनको चाहना छ।

७६ वर्षीय कृष्ण सिटौला पनि २०४८ देखिकै जनप्रतिनिधि हुन्। उनीसँग चुनावी जित र हार दुवैको अनुभव छ। २०४८ मा झापाको क्षेत्र नम्बर १ मा उम्मेदवार भए तर एमालेका द्रोणप्रसाद आचार्यसँग पराजित भए। आचार्यको निधन भएपछि झापामा २०५० सालमा मध्यावधि चुनाव भयो, जसमा सिटौलाले एमालेका लीला उदासी खनाललाई हराए र सांसद भए।

२०५१ को मध्यावधिमा सिटौला फेरि एमालेका पुष्प पोखरेलसँग पराजित भए। २०५६ को चुनाव भने त्यही क्षेत्रबाट सिटौलाले जिते। एउटा चुनाव हार्ने र अर्को जित्ने क्रम जस्तै चल्यो। सिटौला २०६४ को चुनावमा पराजित भए। २०७० मा चुनाव जिते। २०७४ को चुनावमा सिटौला फेरि हारे। २०७९ को चुनाव पनि जितेनन्। त्यसपछि राष्ट्रिय सभातिर लागे। २०८० मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित सिटौला हाल राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता छन्।

बारम्बार उम्मेदवारी किन ?

विश्लेषक इन्द्र अधिकारीका नजरमा एकै व्यक्ति बारम्बार उम्मेदवार हुनु र निर्वाचन लडिरहनुको एउटै मात्रै कारण छैन। पहिलो कारणमा उनी राजनीतिक विरासतलाई देखाउँछिन्। विरासत भनेको शक्तिमा प्रभावको निरन्तरता हो। बाबु पछि छोरा नेता हुन्छ र यो सर्दै जान्छ। नेता स्वयंले परिवार भन्दा बाहिर राजनीतिक शक्ति नजाओस् भनेर काम गर्छ। नागरिक पनि राजनीतिलाई शक्तिसँग जोडेर हेर्छन् र बाबुपछि छोरालाई सहजै नेता मानिदिन्छन्। यो संस्कारजन्य प्रवृत्तिकै रूपमा विकास भएको छ।

‘हामीकहाँ प्रश्न गर्ने संस्कार राम्रोसँग विकास भएको छैन’ अधिकारी भन्छिन्, ‘एकातिर प्रश्न गर्ने संस्कार छैन अर्कोतिर शक्तिमा विरासत छ। यसकारण एक पटक नेता भएपछि सधैं नेता भइरहने, जनताले मानिरहनुपर्ने वा मानिरहने संस्कार छ।’

यो संस्कारजन्य प्रवृत्ति विकास हुनुमा राजनीतिककर्मीको गतिविधिले धेरै ठूलो भूमिका खेलेको छ। कानूनले गर्न नहुने भनेका काम गरेका नेताहरू शक्तिबाट टाढा हुँदा असुरक्षित महसुस गर्छन्। यसले एउटै व्यक्तिलाई बारम्बार निर्वाचनमा उम्मेदवार बनाएको छ।

दोस्रो कारण शक्तिसँगको सम्बन्ध हो। किनभने, शक्तिसँगको सम्बन्ध र प्रभाव राजनीतिमा संलग्न हुँदा जति प्राप्त हुन्छ अन्य क्षेत्रमा त्यति हुँदैन। राजनीति भनेको जनतादेखि सत्तासम्मको पहुँच हो।

तेस्रो कारणमा राजनीतिक संरचना र नेटवर्कको कुरा छ। ‘हाम्रो समाजमा राजनीति गर्नेको अरू पेशा छैन। अनि राजनीति नै पेशा भयो’ अधिकारी भन्छिन्, ‘नेताहरूको खाने, बस्ने, पिउने, परिवार पाल्ने आयस्रोत सबै राजनीति भयो। यसका लागि चाँजोपाजो मिलाउन नेताले नेटवर्क बनाउँछ र राजनीतिमै रहिरहन्छ।’

राजनीतिलाई सेवाको रूपमा हेरिन्छ। त्यो सेवा भनेको के हो भन्ने समाजलाई बुझाउन सकिएको छैन। यसकारण नेताबाट जनताले व्यक्तिगत समस्याको समेत समाधान खोजिरहेका हुन्छन्।

‘आवत/जावतको खर्च व्यवस्थापन गर्ने काम समेत नेताले गरिदिन्छन्। त्यसको स्रोत के हो ? कहाँबाट ल्याए ? सांसद हुँदा प्राप्त हुने तलब मात्रैले त पुग्दैन’ अधिकारी भन्छिन्, ‘कतै न कतै राज्यको पूँजीमा दोहन नगरिकन राजनीति गर्न सक्दैनन्।’

जसले राज्यको पूँजीमा दोहन गरेको छ उसले शक्तिबाट टाढा भए असुरक्षित हुने महसुस गर्छ। यो चौथो कारण हो। ‘राज्यको पूँजी दोहन गर्दा जति मिलाए तापनि पूर्णतः मिलेको हुँदैन। त्यस्तो कार्यको व्यवस्थापन गर्न राजनीतिमै रहनुपर्छ। अदालत पुगेका विषयमा समेत राजनीतिक पहुँचका कुरा आउँछन्।’

अधिकारीका नजरमा यही कारण कतिपय भ्रष्टाचारको मुद्दाको विषय आउँदा अनुसन्धान नभएर थन्किन पुगेका छन्। आरोप लागेपछि आरोपितहरूले क्लिन चिटका लागि समेत अग्रसरता लिंदैनन्।

अर्कोतर्फ अपराध वा आर्थिक अनियमिततामा संलग्न भएपछि राजनीतिमा जोडिने प्रवृत्ति पनि छ। ‘राजनीतिमा आउनु भन्दा पहिला नै विभिन्न काण्ड मच्चाएका हुँदा रहेछन्। राजनीतिमा गए मात्रै बचिन्छ भन्ने हुँदोरहेछ र नेता हुन्छ’ उनी भन्छिन्, ‘जनबलको आधारमा गलत कार्य गरेको भए पनि बच्न सकिन्छ भन्ने हुँदो रहेछ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?