News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘कुमारी’ले पोखरामा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ सम्पन्न गरेको छ।
- कन्सर्टमा कलाकार आकृति राजभण्डारी र अभिषेक खड्काले ‘डोको बुन्ने निगाली चोयाले’ गीतमा नृत्य प्रस्तुत गरे।
- निर्देशक दिनेश राउतले पोखरामा देखिएको उत्साहप्रति धन्यवाद दिँदै आगामी सांगीतिक प्रस्तुति चितवन, काठमाडौँ र दमकमा हुने बताए।
पोखरा । फिल्म ‘कुमारी’ ले पर्यटकीय राजधानी पोखरामा प्रवर्द्धन कन्सर्ट सम्पन्न गरेको छ । देशब्यापी सांगीतिक भ्रमणमा निस्किएको फिल्मले पश्चिम नेपालको प्रमुख फिल्म बजार नेपालगञ्जपछि तालनगरी पोखरामा टूर गरेको हो ।
शनिवार साँझ पोखराको हल्लनचोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ ७ हजारले सहभागिता जनाएको प्रेषित विवरणमा उल्लेख छ ।
कन्सर्टमा कलाकार आकृति राजभण्डारी, अभिषेक खड्का देखिँदा दर्शकले हुटिङको वर्षात गराए । उनीहरूले अहिलेको चर्चित गीत ‘डोको बुन्ने निगाली चोयाले’ मा प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा माहोल उत्साहित बन्यो ।
कलाकारद्वयले पोखरेली दर्शकको अभूतपूर्व मायाप्रति आभार प्रकट गर्दै फिल्म हेर्न आग्रह गरे । साङ्गीतिक माहोललाई तताउन पाश्र्वगायक केहरसिंहं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ का सदस्यले फिल्मका गीत गुञ्जाए । साथै, दर्शकले ब्याण्डका हिट गीत पनि सुन्ने मौका पाए ।
फिल्मका गीत ‘डोको बुन्ने…’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ सँगै आफ्ना चर्चित ट्रयाक ‘सरर’ र ‘बैगुनी’ प्रस्तुत गरेका थिए । फिल्म र कलाकारप्रति पोखरामा देखिएको यो क्रेजले आफू पुलकित भएको निर्देशक दिनेश राउतले बताए ।
स्टेजबाटै दर्शकलाई धन्यवाद दिँदै राउतले दर्शकको यो साथले फिल्मप्रतिको उत्साह बढेको बताए । विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित फिल्मले अब ६ माघमा चितवन, १० गते काठमाडौँ र १७ गते झापाको दमकमा सांगीतिक प्रस्तुति दिनेछ ।


प्रतिक्रिया 4