News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्म क्षेत्रमा दशकौँदेखि पुरानै कलाकारले कास्टिङमा प्रमुख भूमिका खेलिरहेका छन् भने नयाँ कलाकारलाई अवसर कम मिलिरहेको छ।
- निर्देशक दिनेश राउतले फिल्म 'कुमारी' को लागि अडिसनबाट नयाँ कलाकार अभिषेक खड्का र आकृति राजभण्डारीलाई छनोट गर्नुभएको छ।
- 'कुमारी' २३ माघदेखि प्रदर्शनमा आउँदैछ र यसले नयाँ पुस्ताका कलाकार र सांगीतिक समूह केहरसिंह एन्ड लुङालाई पनि प्रस्तुत गर्नेछ।
तपाईं फिल्म बनाउँदै हुनुहुन्छ र कलाकार लिनेबारे सोच्दै हुनुहुन्छ ? ‘कास्टिङ’ थाल्दा सुरुमा तपाईंको दिमागमा कुन-कुन कलाकारको चित्र आउला ?
अनमोल केसी, पल शाह, प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई वा अन्य कुनै ? स्वस्तिमा खड्का, आँचल शर्मा, जसिता गुरुङ, केकी अधिकारी, नीति शाह, वर्षा राउत, वर्षा सिवाकोटी वा अन्य कुनै ?
नेपाली फिल्मको ‘कास्टिङ’ प्रक्रिया अहिले पनि लगभग यिनै नामको वरपर घुमिरहेजस्तो देखिन्छ । यहाँ उल्लेख भएका अधिकांश नामहरू ७० को दशकको सुरुवात ताकाबाटै चर्चामा आउन थालेका हुन् ।
दशक बित्दा पनि नेपाली फिल्म शीर्ष यी नाम वरपर फन्को मारिरहेको देखिन्छ । अब स्वभाविक प्रश्न उठ्छ- निर्माता नयाँ अनुहारलाई लिएर जोखिम लिन तयार भएनन् ? कलाकारको नयाँ अनुहारलाई दर्शकले स्वीकारेनन् या नयाँ अनुहारले अझै परीक्षा दिन बाँकी छ ?
७० को पूरा दशक र ८० को सुरुवाती दशकमा विशेषगरि सामाजिक सञ्जालबाट चर्चा बटुलेका कलाकारको ओइरो लागिरहेको देखिन्छ । तीमध्ये धेरैजसो केही फिल्म गर्छन् अनि पलायन भएर जान्छन् । त्यो रिक्ततामा स्थान पाउने भनेकै अघि नाम उल्लेख भएका कलाकारले हो ।
निर्देशक दिनेश राउतले यही पृष्ठभूमिमा आफूलाई सोधे ? किन नेपाली फिल्म क्षेत्र कलाकारलाई लिएर आत्मनिर्भर हुन सकेन ? किन पुरानै कलाकारले अहिले पनि फन्को मारिरहेका छन् ?

आगामी फिल्म ‘कुमारी’ को कास्टिङ थाल्दा राउतलाई यो प्रश्नले लामै समय दिमागमा घोचिरह्यो । लभस्टोरी फिल्मबाट निर्देशन करिअर थालेका राउत कथावस्तुको लागि उचित कलाकारको खोजीमा थिए ।
उनका लागि पुरानै कलाकारलाई दोहोर्याउनु, निर्देशकको रुपमा पुरानै ह्याङओभरलाई निरन्तरता दिनु थियो । त्यसपछि उनले ‘कुमारी’ को लागि अडिसन आह्वान गरे । प्राप्त सयौं आवेदनबाट उनले अभिषेक खड्का र आकृति राजभण्डारीलाई छनोट गरे ।
जेनजी पुस्ताका यी दुई कलाकार अहिले ‘कुमारी’ को शीर्ष भूमिकामा छन् । ‘म साँच्चै हैरानीमा थिएँ । कलाकार कसलाई लिने ? नाम सोच्दै पुरानै कलाकार मात्र दोहोरिने स्थिती आइपुग्यो’ राउतले अनलाइनखबरसँग भने, ‘अडिसन गर्यौं र उनीहरूलाई छान्यौं । हामी उनीहरूलाई अघि बढाउन चाहन्छौं ।’
राउतले भनेजस्तै, मेकरले चाहेर स्टारडम र कल्टको निर्माण हुने भने होइन । यसका लागि कलाकारको लगनशिलता र धैर्यता पनि जरुरी हुन्छ अनि दर्शकीय स्वीकारोक्ती पनि । के अभिषेक र आकृति यो कुरामा खरो उत्रन सक्लान् ? के ‘कुमारी’ फिल्मबाट हुने उनीहरूको डेब्यू प्रभावशाली र लामो रेसको घोडा बन्ला ?

यसको उत्तर समयले दिनेछ । तर, यी दुई जेनजी कलाकारको कास्टिङलाई लिएर आशावादी भने हुन सकिने ठाउँ छ । विशुद्ध नयाँ कलाकारको रुपमा अभिषेकले ‘कुमारी’ का टिजर र गीतमार्फत आफूलाई अघि बढाइरहेका छन् । सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रिया हेर्दा तन्नेरीपुस्ताका दर्शकसामु उनको क्रेज राम्रो देखिन्छ ।
टिकटक, रिल्स र इन्स्टाग्राममा ‘क्यूट’ फेसका अभिषेकलाई पछ्याउने र रुचाउनेको संख्या उच्च छ । सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताले उनको डेब्यू भूमिकाको प्रशंसा गदै लामो रेसको घोडा बताइरहेका छन् । जेनजी पुस्ताले खोजिरहेको क्यूट, रोमान्टिक र चकलेटी अनुहार भएका अभिषेकसामु आफ्नो उमेर समूहगत दर्शकीय वर्गमा छाप छाड्नुपर्ने चुनौति पनि छ ।
आकृतिको त कुरै नगरौं । फिल्ममा आउनुभन्दा पहिले नै उनी विश्वब्यापी हिट अनुहार हुन् । सुशान्त केसीको बहुचर्चित, ग्लोबल हिट गीत ‘बार्दली’ मार्फत आकृतिले आफ्नो स्टारडम र आकार निर्माण गरिसकेकी छन् । त्यो गीत रिलिज यता भलै उनले आफूलाई पब्लिक इमेजमा ल्याइरहन सकिनन् तर, ‘कुमारी’ ले उनलाई दोस्रो इनिङ्सको मौका दिएको छ ।

यदि भाग्य र समयले साथ दिएमा ‘कुमारी’ का यी दुई डेब्यू कलाकारले घरेलु फिल्ममा ‘कास्टिङ’ को रिक्ततालाई पूर्ति गर्न सक्छन् । कुरा कलाकारको मात्र होइन, जेनजी पुस्तामा निकै रुचाइएको सांगीतिक समूह ‘केहरसिंह एन्ड लुङा’ लाई पनि जोडेर फिल्मले पाश्र्वगायनमा भिन्न अभ्यास थालेको छ ।
नेपाली फिल्मको पाश्र्वगायन र संगीतमा सोही समयमा हिट सांगीतिक समूह जोडिनु विरलै हुने कुरा हो । सांगीतिक कास्टिङको कुरामा पनि केहरसिंहले अहिले हिट गीत दिएर यो फिल्मको प्रवर्धन मात्र होइन, दर्शकसँग जोड्ने कार्य गरिरहेको देखिन्छ । विहिबार नेपालगञ्जदेखि सुरु हुने टूरमा केहरसिंह लिम्बु गुञ्जिने मात्र छैनन्, ‘कुमारी’ लाई दर्शकसँग जोडने कार्यमा ब्याण्डले भूमिका खेल्न सक्छ ।
विशेषगरि, निर्देशक राउतको लागि ‘कुमारी’ एउटा परीक्षणको समय पनि हो । ‘आइएम सरी’ बाट निर्देशन करिअर थालेका उनले यसबीचमा सोसल ड्रामा, थ्रीलरजस्ता फिल्ममा पनि आफूलाई स्थापित गरे । दृश्यमा कला र राजनीतिक आवाज दुबै पोतेका दिनेश ‘कुमारी’ बाट दर्शकको माथिंगल मच्चाउने तयारीमा छन् । के ‘कुमारी’ ले एकैसाथ निर्देशन, कास्टिङ र सांगीतिक पक्षमा परिवर्तन ल्याउन सक्ला, यो जान्नु रोचक हुनेछ ।
‘कुमारी’ २३ माघदेखि प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया 4