+
+
Shares
कृष्ण केसीसँग वार्ता :

‘देशले गगनको नेतृत्व चाहेको छ’

कांग्रेस फुटेको छैन । विधि, पद्धतिअनुसार नेतृत्व परिवर्तन र रुपान्तरणसहित जनता माझ जाँदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १४:१०

नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसी विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कांग्रेसमा केन्द्रीय सदस्य चुनिएका छन् । केसीसँगै विषेश महाधिवेशन बोलाउन नेतृत्व गरेका नेता देवराज चालिसे र तिलक रानाभाटसमेत अहिलेको केन्द्रीय समितिमा समेटिएका छन् ।

गगन नेतृत्वको कांग्रेसमा केन्द्रीय सदस्य बनेका केसी गत २५ असारमा ३ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बनमा परेका थिए । २०७९ मंसिरको चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै उनी कारबाहीमा परेका थिए ।

सुशीला कार्की नेतृत्वको सरकारले २१ फागुनमा चुनाव घोषणा गरेको छ । ६ माघमा मनोनयन दर्ता गर्नुअघि नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापा नेतृत्वको कार्यसमिति चयन गरेको हो ।

कांग्रेसको आधिकारिकताबारे बहस सुरु भएको छ । यो विषय निर्वाचन आयोग हुँदै न्यायालयसम्म पुग्ने संकेत देखिएको भए पनि गगन नेतृत्वप्रति सिंगो नेपाली समाजले नै धाप मारेको र भरोसाको नजरले हेरको केसीको दाबी छ ।

कांग्रेसको विशेष महाधिवेशनले सिंगो देशलाई नै तरंगित बनाएको र गगनलाई अब देशकै नेतृत्वमा नागरिकले देख्न चाहेको केसीको भनाइ छ । उनै कृष्ण केसीसँग कांग्रेसको विशेष महाधिवेशन, नेतृत्वको वैधता, आसन्न चुनाव र आगामी बाटोबारे अनलाइनखबरका अमृत सुवेदीले संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

अस्तिसम्म पार्टीबाट निलम्बित हुनुहुन्थ्यो । अहिले महाधिवेशन प्रतिनिधि हुँदै केन्द्रीय सदस्य बन्नुभयो । यो अवसर पार्टी फुटले प्राप्त भयो होइन ?

अघिल्लो चुनावको टिकटले धेरैलाई लाखापाखा पारेको थियो । अहिले परिस्थिति फरक भइसक्यो । जेनजी आन्दोलनले नेतृत्व परिवर्तन गरी पार्टी रुपान्तरणको बाटोमा हिँड्नुपर्ने अवस्था आयो । म केन्द्रीय सदस्य हुनलाई पार्टी फुटेको होइन र पार्टी फुटेको पनि छैन । वैधानिक व्यवस्थामा टेकेर बहुमत महाधिवेशन प्रतिनिधिले आह्वान गरेको महाधिवेशनले नेतृत्वसहित नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाली कांग्रेस ऐतिहासिक पार्टी हो । यसले परिवर्तनका निम्ति ठिक समयमा ठिक ढंगले नेतृत्व गर्दै आएको छ । समयको बेगलाई चिनेको छ । यसपटक पनि जेनजी विद्रोहको मूल मर्म, पार्टी भित्रका झन्डै दुई तिहाइ बहुमत प्रतिनिधिको आवाजको जगमा यो महाधिवेशन भएको हो ।

पार्टी कानुन, विधान र विधिको मूल्यमा स्थापित हुन्छ । त्यसकारण पार्टी फुटेको होइन, विधिविधान र परिवर्तनको आवाजलाई संस्थागत गरेको हो । नेपाली कांग्रेसको इतिहासमा दोस्रो पटक विषेश महाधिवेशन भएको छ र त्यसले गगन थापा नेतृत्वमा पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयन भएको हो । कांग्रेस एउटै छ, सिंगै छ ।

अब पार्टीको वैधताका निम्ति निर्वाचन आयोगदेखि न्यायालयसम्म पुग्ने निश्चित देखिन्छ, कसरी अगाडि बढ्ला ?

पार्टी विधानले चल्छ । त्यो विधानको जग संविधान हुन्छ, दलसम्बन्धी ऐन हुन्छ । मुलक पनि संविधान र कानुनले चल्छ । नेपालको संविधान भित्र रहेर खुलेको पार्टीमध्ये कांग्रेस पनि एक हो । सांगठनिक गतिविधिहरू पार्टी विधानअनुसार चल्ने हो । विधानअनसार नै धारा १७(२) ले व्यवस्था गरेअनुसार विषेश महाधिवेशन बोलाइएको हो ।

त्यसलै विधिसम्मत हिसाबले गगन नेतृत्वको नयाँ कार्यसमिति गठन भएकाले निर्वाचन आयोग, न्यायालयले पनि हेर्ने त विधिविधान नै हो । त्यसैले कांग्रेस फुटेको छैन । विधिअनुसार, पद्धतिअनुसार नेतृत्व परिवर्तन र रुपान्तरणसहित जनता माझ जाँदैछ । त्योभन्दा अगाडि केन्द्रीय पदाधिकारीसहित केन्द्रीय समितिमा निर्वाचितहरूको नाम लिएर निर्वाचन आयोगमा जाँदैछौं । यदि कतैबाट संवैधानिक र कानुनी प्रश्न उठेछ भने पार्टीको विधान, नेपालको संविधानअनुसार नै यही नेतृत्वले मान्यता पाउँछ ।

माघ ६ गते प्रतिनिधिसभा उम्मेदवारको मनोनयन मिति तोकिएको छ । त्योभन्दा अगाडि नै कांग्रेसको छिनोफानो भएन भने मनोनयन कसरी होला ?

राजनीति गर्ने जोसुकै आकांक्षी हुन पाउँछन् । जनताबाट चुनिएर सेवा गर्छु भन्न पाउँछन् । चुनावमा कसरी जाने भनेर एउटा नीति पनि बनाउँछौं । संसदीय बोर्ड गठन हुन्छ । संसदीय बोर्डले उम्मेदवार छनोट गर्ने, कसलाई उम्मेदवार बनाएर जाँदा ठिक हुन्छ, परिणाम ल्याउन सक्छौं भन्ने हेरेर निर्णय हुन्छ । हामी निर्वाचनलाई परिणाममुखी बनाउन चाहन्छौं ।

विशेष परिस्थितिमा डाकिएको विशेष महाधिवेशनले नेपालको राजनीतिक परिवर्तन र समयको मागलाई सम्बोधन मात्रै गरेको छैन, भविष्य र आशाको दियो बालेको छ । कांग्रेसीलाई मात्रै होइन, सिंगो देशलाई नै तरंगित बनाएको छ ।

जनता र कार्यकर्तामुखी उम्मेदवार छनोट गर्छौं । हामीसँग समय एकदमै कम छ तर पार्टीमा योगदान गरेका, क्षमता भएका, परिवर्तन र रुपान्तरणको एजेन्डालाई जुरुक्क बोक्न सक्ने साथीहरू हामीसँग हुनुहुन्छ । त्यसैले ठूलो समस्या नपर्ला भन्ने लाग्छ ।

निर्वाचन आयोग हुँदै न्यायालयसम्म यो विवाद कदाचित पुगिहालेछ भने पनि उसले छिटो टुंग्याउने छ । नेपाली कांग्रेसको तर्फबाट हामी मनोनयन गर्न जान्छौं, अरू साथीहरू त आफ्नो गरिकाले जानुहोला । अरू दलसँग मिल्नुहोला वा स्वतन्त्र रूपमा उम्मेदवार हुनुहोला ।

अघिल्लो चुनावमा सभापतिले टिकट पाएपछि हराउन लागेको आरोपमा तपाईं कारबाहीमा पर्नुभयो । यस पटक के गर्नुहुन्छ ?

म पनि आकांक्षी हुँ । यो अस्वाभाविक पनि होइन । हिजो म आकांक्षी भएर कुरा राखिरहेको हुन्थें भने अब म केन्द्रीय समिति सदस्य पनि हुँ र अरू साथीहरूको आकांक्षा पनि सुन्नुपर्छ । आफ्नो आकांक्षाभन्दा पछि बदलिँदो परिस्थिति र आवश्यकताले कसलाई माग गर्छ, कसरी अगाडि बढ्दा ठिक हुन्छ भनेर हेरिन्छ ।

मेरो उम्मेदवारी ठिक हुन्छ कि अरू साथीहरूलाई दिँदा अझै सशक्त हुन्छ, त्यो हेरिन्छ । केन्द्रीय समितिमा छलफल गरेर गम्भीरताका साथ टुंगो लगाउँछौं । आफ्नो उम्मेदवारीका विषयमा अहिले म केन्द्रित छैन । पार्टी संगठन र रुपान्तरणमै केन्द्रित छु ।

गगन समूहले शेरबहादुर देउवा र उनको समूहसँग विद्रोह गर्यो । अब यो पार्टी कसरी अगाडि बढ्ला ?

नेपाली कांग्रेस ऐतिहासिक पार्टी हो । यसले परिवर्तनका निम्ति ठिक समयमा ठिक ढंगले नेतृत्व गर्दै आएको छ । समयको बेगलाई चिनेको छ । यसपटक पनि जेनजी विद्रोहको मूल मर्म, पार्टी भित्रका झन्डै दुई तिहाइ बहुमत प्रतिनिधिको आवाजको जगमा यो महाधिवेशन भएको हो ।

कांग्रेस पार्टी रुपान्तरण र पुस्तान्तरण भएर आएपछि अहिलेको एजेन्डा पूरा गर्ने, भरोसायोग्य पार्टी र नेतृत्व नै गगनको हो भनेर भनिरहेका छन् र हामी पनि त्यही विश्वास राख्छौं ।

महाधिवेशन हुनै नदिन अनेक तिकडम भए, रोक्न खोजियो । प्रतिनिधिलाई प्रभावित पार्न खोजियो र यथास्थितिमै पार्टीलाई राख्ने, उनै मान्छेहरूले फेरि फाइदा प्रयास पनि भए । तर ती सबै कुरालाई चिरेर नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भएको छ ।

विशेष परिस्थितिमा डाकिएको विशेष महाधिवेशनले नेपालको राजनीतिक परिवर्तन र समयको मागलाई सम्बोधन मात्रै गरेको छैन, भविष्य र आशाको दियो बालेको छ । कांग्रेसीलाई मात्रै होइन, सिंगो देशलाई नै तरंगित बनाएको छ । अब यिनीहरूले नै देश परिवर्तन र समयको मागलाई सम्बोधन गर्छन् भन्ने विश्वास जनताबीच पुगेको छ । देशैभरि कांग्रेसको संगठन छ र यो परिचालन गरेरै जाने हो ।

गगन नेतृत्वको पार्टीलाई अबको चुनावले कुन स्थितिमा पुर्‍याउला ?

बल्ल हाम्रो अधिवेशन टुंगिएको छ । अध्यावधिक लागि निर्वाचन आयोग गएर केन्द्रीय पदाधिकारीसहित समितिको नावामली बुझाउँछौं । केन्द्रीय समितिका अन्य पदाधिकारी र सदस्यको पनि शपथ लिएपछि निरन्तर जनतातिर फर्किने, अहिलेको आवश्यकता पूरा गर्नेतिर लम्किने हो, जेनजी आन्दोलनको मूल मर्मलाई संस्थागत गर्दै नवयुवालाई गोलबद्ध गर्दै लैजाने हो ।

धेरै समय छैन, ६ गतेअघि दिनरात नभनी खट्छौं । जेनजी अभियान्ताहरूसँग निरन्तर छलफल र अन्तर्क्रिया गर्दै उनीहरूका एजेन्डालाई नेतृत्व गरेर जाने अभियानमै छौं ।

कांग्रेस पार्टी रुपान्तरण र पुस्तान्तरण भएर आएपछि अहिलेको एजेन्डा पूरा गर्ने, भरोसायोग्य पार्टी र नेतृत्व नै गगनको हो भनेर भनिरहेका छन् र हामी पनि त्यही विश्वास राख्छौं ।

यो व्यवस्थालाई बुझेको, परिवर्तनको मागलाई सम्बोधन गर्न सक्ने, जेनजीका एजेन्डालाई काँधमा बोकेर पूरा गर्नसक्ने भरोसायोग्य नेतृत्व नै गगनको हो भनेर धेरै जनता जोडिन खोज्दै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?