News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘कुमारी’ ले नेपालगञ्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विद् केहर एन्ड द लुङा’ आयोजना गरी देशब्यापी प्रवर्द्धन अभियान सुरु गरेको छ।
- कन्सर्टमा गायक केहरसिंह लिम्बु र कलाकारहरूले फिल्मका हिट गीत प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दिएका छन्।
- ‘कुमारी’ को टूर पोखरा, चितवन, काठमाडौं र दमकमा हुँदै २३ माघमा प्रदर्शन तयारीमा छ।
नेपालगन्ज । फिल्म ‘कुमारी’ ले नेपालगञ्जमा कन्सर्टमा गर्दै देशब्यापी प्रवर्द्धन अभियान थालेको छ । सोमबार बेलुका त्यहाँ ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विद् केहर एन्ड द लुङा’ आयोजना भयो ।
कन्सर्टमा गायक केहरसिंह लिम्बु र उनको सांगीतिक समूहले दर्शकलाई नचाए । कलाकार अभिषेक खड्का, आकृति राजभण्डारी, निर्देशक दिनेश राउतले पनि दर्शकलाई सांगीतिक मोहलमा झुमाए ।
दर्शकको बाक्लो भीडले फिल्मका हिट गीतमा मनोरञ्जन लिए । गायक लिम्बु र उनको ब्याण्डले फिल्ममा समावेश गीत डोको बुन्ने निगाली चोयाले’, कता छौ मेरो फूल र तिमी बिना’सहित आफ्ना हिट गीत ‘सरर’ र ‘बैगुनी’ प्रस्तुत गरे ।
बहुचर्चित गीत ‘डोको बुन्ने’ मा कलाकारद्वय अभिषेक र आकृतिले प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा दर्शकले पनि नाचेर साथ दिए । निर्देशक राउतले आफूले सधैँ दर्शकको चाहना र रुचिलाई ध्यानमा राखेर चलचित्र निर्देशन गर्ने गरेको बताउँदै ‘कुमारी’ लाई उत्कृष्ट फिल्म बनाउने कोसिस गरेको बताए ।

नेपालगन्जबाट सुरु टूर अन्य थलोमा पनि हुनेछ । ३ माघमा पोखरा, ६ मा चितवन, १० मा काठमाडौं र १७ मा दमकमा कन्सर्ट आयोजना हुनेछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष खुला कन्सर्टमा फिल्मको ट्रेलर समेत सार्वजनिक गरिने गर्ने तयारी छ ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको र पिक्चर फ्रेमको सहकार्य रहेको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । कार्यकारी निर्माताको रूपमा केदार भुसाल छन् । विकास सुवेदीको पटकथा, सुसन प्रजापतिको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन र कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन र साहस शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
‘कुमारी’ २३ माघमा प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया 4