४ माघ, काठमाडौं । स्वस्थानी र माधवनारायणका व्रतालुहरू परदेश यात्रामा निस्किएका छन् । व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गर्छन् । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायणको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ ।
त्यसअघि पहिलो दिन शालीनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत् गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यात्रा सकिन्छ ।
माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइन्छ । माघ शुक्ल नवमी अर्थात द्रोण नवमीका दिन व्रतालुलाई खीर खुवाउने प्रचलनसमेत छ ।
स्वस्थानीका व्रतालु महिलाहरूले रातो र माधवनारायणका पुरुष व्रतालुले सेतो वस्त्र मात्र लगाउनुपर्ने परम्परा छ । व्रतालुले एक महिनाभर नुन बार्ने र दूध, घिउ, चाकु, रातो मुला, सुन्तलाजस्ता खानेकुरा मात्र खाने गर्दछन् । व्रतालुले मन्त्रोच्चारण गरी शंखजल ग्रहण गरेपछि कसैलाई पनि छुन नहुने, जुत्ता लगाउन नहुने परम्परा छ । माधवनारायणका व्रतालुहरू घस्रिँदै मन्दिरसम्म पुग्ने परम्परा छ ।
स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महिलाले एक महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधना गरे श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । व्रतालुहरूले माधवनारायणको दर्शन नगरे स्वस्थानी व्रतको फल प्राप्त नहुने धार्मिक विश्वास पनि छ ।

प्रतिक्रिया 4