+
+
Shares

स्वर्गद्वारी तीर्थस्थल : प्युठानको गौरव, नेपालको धरोहर

नेपालका सात प्रमुख धाममध्ये एक मानिने स्वर्गद्वारी हिन्दु धर्मावलम्बीहरूका लागि महत्वपूर्ण तीर्थस्थल हो । भनिन्छ, पशुपतिनाथको दर्शनपछि यदि स्वर्गद्वारीको यात्रा गरिएन भने तीर्थयात्रा अपूर्ण रहन्छ ।

सलिम मियाँ सलिम मियाँ
२०८२ माघ ४ गते १४:०३

४ माघ, प्युठान । स्वर्ग जाने बाटो कहाँ होला ? धार्मिक आस्थाले भरिएको यो प्रश्नको उत्तर खोज्न हजारौं भक्तजन हरेक वर्ष लुम्बिनी हुँदै प्युठानको स्वर्गद्वारी यात्रामा निस्कन्छन् ।

हरियालीले ढाकिएको पहाडी भेग, धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाको मनमोहक दृश्य, शान्त वातावरण र श्रद्धाले भरिएको स्वर्गद्वारी साँच्चै आस्थाको यात्राका लागि अनुपम गन्तव्य हो ।

यहाँको हरियो वन, शीतल बतास, सतयुगदेखि जलिरहेको यज्ञकुण्ड, ऐतिहासिक गुफा र अखण्ड वेदपाठले आगन्तुकलाई गहिरो आध्यात्मिक ऊर्जा प्रदान गर्छ । बिहानको घामले हिमालमा फैलाउने सुनौला किरणले स्वर्गद्वारीलाई स्वर्गको प्रवेशद्वार जस्तै अनुभूति गराउँछ ।

स्वर्गद्वारीको धार्मिक महत्त्व

नेपालका सात प्रमुख धाममध्ये एक मानिने स्वर्गद्वारी हिन्दु धर्मावलम्बीहरूका लागि महत्वपूर्ण तीर्थस्थल हो । भनिन्छ, पशुपतिनाथको दर्शनपछि यदि स्वर्गद्वारीको यात्रा गरिएन भने तीर्थयात्रा अपूर्ण रहन्छ ।

महाभारतकालीन किंवदन्तीअनुसार, पाँच पाण्डवहरूले यहीँ यज्ञ गरेका थिए र यहीँबाट स्वर्ग गएका थिए । यही कारणले गर्दा स्वर्गद्वारीलाई ‘स्वर्ग जाने बाटो’ भनिन्छ ।

स्वर्गद्वारी नगरपालिका–२, खालस्थित यस आश्रममा दैनिक पूजाआजा, भजन–कीर्तन र धार्मिक अनुष्ठानहरू गुञ्जन्छन् । यहाँ हिन्दु धर्मका प्रमुख अनुष्ठान- यज्ञ, पूजा, वेद पाठ निरन्तर भइरहन्छन् । तीर्थयात्रीहरूको दृढ विश्वास छ, स्वर्गद्वारी पुग्नासाथ मनोकांक्षा पूरा हुन्छ र जीवनमा नयाँ ऊर्जा प्रवाहित हुन्छ ।

के साँच्चै स्वर्ग जाने ढोका यहीँ छ ?

स्वर्गको परिभाषा प्रत्येक व्यक्तिको अनुभवमा भर पर्छ, तर जो स्वर्गद्वारी पुग्छन्, उनीहरू भन्छन्, स्वर्ग खोज्दै कतै जानु पर्दैन, स्वर्गद्वारी नै स्वर्ग जस्तो लाग्छ ।

धार्मिक पर्यटनको केन्द्र बनेको स्वर्गद्वारी नेपाल र भारत दुवै देशका भक्तजनहरूका लागि महत्वपूर्ण स्थल हो । आश्रम व्यवस्थापनका अनुसार, वार्षिक तीन लाखभन्दा बढी तीर्थयात्री यहाँ पुग्छन्, जसमा ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपाली हुन्छन् ।

‘स्वर्गद्वारीमा पर्यटकको संख्या बढ्दो छ,’ आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारी भन्छन्, ‘भारतीय तीर्थयात्रीको भेटी यहाँको प्रमुख आम्दानीको स्रोत हो ।’

आश्रमका कर्मचारी लालुराम न्यौपानेले अंग्रेजी नयाँ वर्षदेखि वैशाख पूर्णिमा र साउनसम्म भारतीय तीर्थयात्रीको घुइँचो लाग्ने बताए ।

स्वर्गद्वारी आश्रम र यसको विशेषता

१९१६ सालमा रोल्पा जिल्लाको शशिलेख रुम्टीमा जन्मेका महाप्रभु नारायण खत्री गिरी (स्वामी हंसानन्द गिरी) ले १९५२ सालमा स्वर्गद्वारी आश्रमको स्थापना गरेका थिए । यहाँ विशेष रूपमा अखण्ड अग्नि, धुनी, वेदपाठ, हवन र बलि पूजा निरन्तर भइरहेका छन् । आश्रम परिसरमा महाप्रभुको समाधि, शिवलिङ्ग, विशाल यज्ञशाला र सतयुगदेखि अनवरत चलिरहेको वेद पाठशाला रहेका छन् ।

स्वर्गद्वारीमा पाँच पाण्डवको यज्ञस्थल, स्वर्ग जाने बाटो, महाप्रभुको तपस्यास्थल (गुफा), गोवर्धन पहाड र यज्ञशाला रहेका छन् । विशेष पर्वहरू वैशाख पूर्णिमा, गाईतिहार औंसी, विजयादशमी, माघे संक्रान्ति आदि अवसरमा यहाँ ठूलो मेला लाग्छ । यहाँ गौशालासमेत छ जहाँ ४०० बढी गाई पालिएका छन् ।

गुरुकुल विद्यालय र वैदिक शिक्षा

आश्रमले गुरुकुल विद्यालय सञ्चालन गरेको छ, जहाँ वैदिक शिक्षा, रुद्री, चण्डी, आयुर्वेद, व्याकरण लगायतका विषय निःशुल्क पढाइन्छ । २०६९ सालदेखि कक्षा ६ देखि १० सम्मको औपचारिक पढाइ सुरु गरिएको छ । यस विद्यालयमा १३५ विद्यार्थीले वेदवेदाङ्गसहित आधुनिक शिक्षा प्राप्त गर्दै छन् ।

नेपालका साथै सिक्किम, आसाम, मणिपुर जस्ता स्थानका विद्यार्थीहरू पनि यहाँ अध्ययन गर्न आउने गरेको आश्रम व्यवस्थापन समितिले जानकारी दिएको छ । समितिका अनुसार यहाँ सेवकहरूको बालबालिकाका लागि विशेष बालकक्षा सञ्चालन गरिएको छ, जसमा करिब १०० जना बालबालिका लाभान्वित भएका छन् ।

खानपान र बसोबासको व्यवस्था

स्वर्गद्वारी पुग्ने तीर्थयात्रीको लागि आश्रममा ४०० जना अट्ने धर्मशाला छ । यहाँ धूमपान र मद्यपान पूर्ण रूपमा निषेधित छ । भोजनमा अर्गानिक सागसब्जी, गाईको दूध, दही र मोही उपलब्ध गराइन्छ । साथै, भक्तजनको सुविधाका लागि आश्रम परिसरमा फ्रि वाइफाइ सुविधासमेत उपलब्ध छ ।

स्वर्गद्वारी पुग्न दुई वटा मुख्य सडक मार्ग छन्, दाङको भालुवाङबाट प्युठानको भिंगृ हुँदै जाने मार्ग र दाङको घोराहीबाट होलेरी हुँदै जाने मार्ग । भालुवाङबाट भिंगृसम्म ५५ किलोमिटर पक्की सडक रहेको छ, त्यहाँबाट धरमपानी बजार हुँदै सिँढीमार्फत आश्रम पुग्नुपर्छ । पैदल हिँड्न नसक्नेहरूका लागि घोडा सवारीको व्यवस्था छ ।

स्वर्गद्वारीको अधुरो विकास

हाल भिंगृ–धरमपानी सडक पक्की भइसकेको छ, सिँढी निर्माण पनि सम्पन्न भएको छ । तर धरमपानीको ठूलो धर्मशाला ठेकेदारको लापरबाहीका कारण अधुरो छ । ‘गुरुयोजना बनेको छ, तर बजेट अभावले आवश्यक संरचना निर्माण अघि बढ्न सकेको छैन,’ प्रशासनिक अधिकृत अधिकारीले भने ।

लाखौं भक्तजनको आगमन भए पनि स्वर्गद्वारीको व्यावसायीकरण हुन सकेको छैन । धार्मिक पर्यटनको अपार सम्भावना बोकेको यो स्थलमा यात्रुले सम्झनाका लागि लैजान सक्ने चिनोको अभाव छ, र स्थानीयवासीले प्रत्यक्ष आर्थिक लाभ उठाउन सकेका छैनन् ।

प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले भने, ‘यदि भारतीय तीर्थयात्रीलाई केही दिन बस्न प्रेरित गर्ने वातावरण बन्यो भने धार्मिक पर्यटन थप दिगो र समृद्ध बन्न सक्छ ।’

स्वर्गद्वारीलाई प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाउन लुम्बिनी–स्वर्गद्वारी–गौमुखी–सुपादेउराली–ढोरपाटन–मुक्तिनाथ रुट विकास गर्न सके नेपालमा धार्मिक पर्यटनको नयाँ युग सुरु हुनसक्ने पर्यटन विज्ञहरूको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?