+
+
Shares

नराम्रो साथीबाट कसरी जोगिने ? ७ महत्वपूर्ण संकेत

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिन एज उमेरमा बच्चाको शरीर, मन, भावना र मूल्यहरूमा ठूला परिवर्तन आउँछन् र उनीहरू प्रायः अलमलमा पर्छन्।
  • नराम्रो साथीले बच्चाको पढाइ, व्यवहार र भविष्यमा नकारात्मक प्रभाव पार्न सक्छ, जसका लागि आमाबाबुको भूमिका महत्वपूर्ण हुन्छ।
  • आमाबाबुले बच्चालाई गलत साथीबाट बचाउन, खुला संवाद राख्न र सकारात्मक उदाहरण बन्नुपर्ने हुन्छ।

‘टिन एज’ उमेर यस्तो अवस्था हो, जसले बच्चाहरू कुन मार्गमा लाग्ने भन्ने कुराको सुरुवाती संकेत दिन्छ । यो उनीहरू स्वय‌ं र आमाबाबुका लागि सबैभन्दा चुनौतीपूर्ण र संवेदनशील समय हो ।

यो उमेरमा बच्चाको शरीरमा मात्र होइन, मन, दिमाग, भावना र मूल्यहरूमा पनि ठूला परिवर्तनहरू आउँछन् । उनीहरू बाल्यकाल र युवावस्थाको बीचमा हुन्छन्, जसले गर्दा उनीहरू प्रायः अलमलमा पर्छन् र सही–गलत छुट्याउन गाह्रो मान्छन् ।

यही कारणले गर्दा धेरै टिनएजरहरूले गलत साथी छान्ने गल्ती गर्छन् । नराम्रो संगतले उनीहरूको पढाइ, व्यवहार, आत्मसम्मान र सम्पूर्ण भविष्य नै प्रभावित पार्न सक्छ ।

यस उमेरमा बच्चाहरू अझै पूर्ण परिपक्व नभइसकेकाले आमाबाबुको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । आमाबाबुले उनीहरूलाई सही बाटो देखाउनु, दोस्तीको गुणस्तर चिन्न सिकाउनु र आवश्यक परेमा हस्तक्षेप गर्नुपर्छ ।

नराम्रो साथीका मुख्य संकेतहरू निम्नानुसार छन् । यी संकेतहरू देखिएमा तुरुन्त सतर्क हुनुपर्छ र बच्चालाई यस्ता व्यक्तिबाट दूरी बनाउन प्रोत्साहन दिनुपर्छ ।

१.घरमा नभन्नु भन्ने सल्लाह

यदि कुनै साथीले बारम्बार ‘यो कुरा घरमा आमाबाबुलाई नभन्नु’, ‘यो हाम्रो सिक्रेट हो’ भनेर जोड दिन्छ भने बुझ्नुपर्छ कि उसको मनमा खोट छ । राम्रो साथीले कहिल्यै गोप्य राख्नुपर्ने कुरा सिकाउँदैन । यस्तो साथीले बच्चालाई गलत बाटोतर्फ डोर्‍याउन सक्छ । आमाबाबुले बच्चालाई स्पष्ट रूपमा भन्नुपर्छ कि जुन कुरा घरमा भन्न डर लाग्छ, त्यो काम नगर्नु नै उत्तम हुन्छ ।

२.भावनात्मक दबाब दिने

दोस्रो संकेत भनेको भावनात्मक दबाब वा ब्ल्याकमेल हो । यदि साथीले ‘तँ मेरो साथी हो भने यो काम गर्नैपर्छ’, ‘नगरे तँ सँग साथी बन्दिन’ जस्ता कुराहरू गर्छ भने यो स्पष्ट खतरा हो । सच्चा साथीले कहिल्यै जबरजस्ती गर्दैन । यसले बच्चालाई कमजोर र निर्भर बनाउँछ । आमाबाबुले बच्चालाई सिकाउनुपर्छ– सच्चा साथीले स्वतन्त्रता र सम्मान दिन्छ, न कि दबाब ।

३.गतल कामलाई कुल भन्ने

गलत कामहरूलाई ‘कूल’ वा ‘स्टाइल’ भन्ने बानी पनि नराम्रो साथीको ठूलो संकेत हो । क्लास बंक गर्नु, चुरोट वा मदिरा खानु, कसैलाई कुट्नु वा गाली गर्नु जस्ता गलत कामहरूलाई ‘मजा आयो’, ‘आजकाल यस्तै चल्छ’ भनेर सामान्य ठान्ने साथीले बच्चालाई गलत दिशातर्फ लैजान्छ । यस्ता व्यक्तिसँग तुरुन्त दूरी बनाउनुपर्छ ।

४.पढाइलाई बोरिङ भन्ने

नराम्रो साथीको अर्को संकेत भनेको पढाइ र राम्रो बानीलाई ‘बोरिङ’ भन्ने हो । जो साथी राम्रोसँग पढ्छ, अनुशासित छ वा शिक्षकसँग राम्रो सम्बन्ध राख्छ, उसलाई ‘पढन्ते’, ‘बोरिङ’ वा ‘चम्चा’ जस्ता शब्दले होच्याउने साथीले बच्चाको प्रगतिमा डाह गर्छ वा ऊ आफू जस्तै तल झार्न चाहन्छ । राम्रो साथीले सधैं अर्कालाई अगाडि बढ्न प्रेरित गर्छ, कहिल्यै तल झार्दैन ।

५.बच्चामा नकारात्मक परिवर्तन देखा परेमा 

यदि कुनै आफ्ना बच्चामा नकारात्मक परिवर्तन देखिन थाल्छ भने खराब संगतमा परेको छ कि भन्ने ठूलो चेतावनी हो । बढी झूट बोल्न थाल्छ, सानातिना कुरामा रिसाउँछ, घरपरिवारसँग झगडा गर्छ, पढाइमा ध्यान दिँदैन वा मोबाइल तथा सोसल मिडियामा बढी समय बिताउन थाल्छ भने बुझ्नुपर्छ कि संगत राम्रो छैन । यस्तो अवस्थामा आमाबाबुले तुरुन्त ध्यान दिनुपर्छ ।

६.साथीको सीमालाई सम्मान नगर्ने

साथीको व्यक्तिगत सीमा नमान्ने बानी पनि खतरनाक हुन्छ । यदि बच्चाले ‘म यो काम गर्दिन’ भने पनि बारम्बार उक्साउने, जबरजस्ती गराउने वा सीमा मिच्ने गर्दछ भने त्यो सच्चा साथी होइन । राम्रो साथीले ‘नाइँ’लाई सम्मान गर्छ र दबाब दिँदैन । आमाबाबुले बच्चालाई ‘नाइँ’ भन्न सिकाउनु र आफ्नो सीमा राख्न सक्ने बनाउनु पर्छ ।

७.गलत काम गर्न उक्साउने

गलत काम गर्न प्रत्यक्ष उक्साउने साथी सबैभन्दा खतरनाक हुन्छ । घरबाट पैसा चोर्न लगाउने, बुबाको पकेटबाट पैसा निकाल्न भन्ने, परीक्षामा चिट चोर्न गर्न उकास्ने वा अश्लील सामग्री हेर्न प्रेरित गर्ने साथीबाट जति सक्दो चाँडो टाढा हुनुपर्छ । यस्तो संगतले बच्चाको जीवन नै बिगार्न सक्छ ।

अन्य ध्यान दिनुपर्ने कुरा

नराम्रो साथी चिन्नुका साथै आमाबाबुले केही महत्वपूर्ण कुराहरू पनि ध्यानमा राख्नुपर्छ । बच्चासँग खुला र विश्वासपूर्ण संवाद कायम राख्नुपर्छ ताकि उनीहरूले डर नमानी आफ्ना कुराहरू भन्न सकून् ।

कहिलेकाहीँ बच्चाका साथीहरूलाई घरमा बोलाएर वा स्कूल गएर उनीहरूको व्यवहार बुझ्नुपर्छ । राम्रो साथीहरूको प्रशंसा गर्नुपर्छ र उनीहरूसँग समय बिताउन प्रोत्साहन गर्नुपर्छ । आफैं पनि बच्चाका लागि सकारात्मक उदाहरण बन्नुपर्छ किनकि बच्चाहरू आमाबाबुको व्यवहारबाट पनि धेरै सिक्छन् ।

टिनएज उमेरमा नराम्रो साथीले एउटा बच्चाको सम्पूर्ण जीवन मोड्न सक्छ । तर आमाबाबुको सतर्कता, समझदारी, प्रेम र निरन्तर साथले बच्चालाई सही बाटोमा फर्काउन सकिन्छ । यो उमेरमा आमाबाबुको मार्गदर्शन नै बच्चाको सबैभन्दा ठूलो सुरक्षा कवच हो।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?