News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन आर्मी क्लबले एचजेएनबीएलमा रोएललाई १०२-७५ ले पराजित गर्दै नवौं जित हात पारेको छ ।
- आर्मीले १० खेलबाट १९ अंकसहित दोस्रो स्थान कायम राखेको छ भने गोल्डेनगेट पहिलो र टाइम्स तेस्रो स्थानमा छन् ।
- एचजेएनबीएलमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र विजेताले नगद ४ लाख पुरस्कार प्राप्त गर्नेछन् ।
१६ चैत, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा नवौं जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आइतबार राति सम्पन्न खेलमा आर्मीले रोएललाई १०२-७५ ले पराजित गरेको हो ।
आर्मीले पहिलो क्वाटरमा २४-२१ को अग्रता बनाएको थियो भने दोस्रो क्वाटरमा ३३-८ को फराकिलो अन्तरको अग्रता बनाउँदै हाफटाइसम्म ५७-२९ को अग्रता बनाएको थियो । तेस्रो क्वाटर आर्मीले २०-१८ ले आफ्नो पक्षमा पार्दा चौथो क्वाटर भने रोएलले २८-२५ ले आफ्नो पक्षमा पारेको थियो ।
आर्मीले १० खेल खेल्दा नवौँ जित हात पारेको हो । आर्मीसँगै गोल्डेनगेट र टाइम्सको पनि १० खेलबाट समान १९ अंक छ । अंक अन्तरमा गोल्डेनगेट अघि रहँदै पहिलो स्थानमा छ भने आर्मी दोस्रो र टाइम्स तेस्रोमा छ ।
आर्मीका लागि निश्चल महर्जनले सर्वाधिक २२ अंक स्कोर गरे । आर्मीका सयुन राई म्यान अफ दि म्याच घोषित भए ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।
यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।
प्रतिक्रिया 4