१६ चैत, काठमाडौं । वीर अस्पतालले सोमबारदेखि महिलाका लागि नि:शुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा वीर अस्पतालमा आजदेखि महिलाको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको नि:शुल्क परीक्षण सुरु गरिएको हो ।
क्यान्सर परीक्षण आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । परीक्षण शुभारम्भमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले क्यान्सर रोग समयमा पत्ता लगाउन सके जीवन बाँच्नसक्ने बताइन् ।
‘जाँच गरेर समयमा क्यान्सर पहिचान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ । जीवन बचाउन सकिन्छ’, उनले भनिन् । सोही क्रममा डंगोलले आफ्नो पनि क्यान्सर परीक्षण गरिन् ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले यसअघि समयमा क्यान्सर पहिचान गर्न नसक्दा यो डरलाग्दो बनेको उल्लेख गरे ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा. दिलीप शर्माले महिलाले पटकपटक क्यान्सर परीक्षण गर्नुपर्ने र क्यान्सर लाग्दैमा डराउनु नपर्ने बताए ।
महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीले देशभरिका जोसुकै महिलाले अस्पतालमा गएर क्यान्सर परीक्षण गराउनसक्ने बताए । उनकाअनुसार क्यान्सर परीक्षणका लागि महानगरका ३२ वटा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट रिफर पुर्जी लिएर वीर अस्पतालमा पुगेर क्यान्सर परीक्षण गराउन सकिनेछ ।
महिलाको क्यान्सर परीक्षणका लागि महानगरले अस्पताललाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । –रासस
प्रतिक्रिया 4