+

एन्फा-राखेप विवाद : खेलाडीको प्रश्न- हामी देशका लागि खेल्ने कि तमासा हेर्ने ?

२०८२ चैत  १७ गते २२:०६ २०८२ चैत १७ गते २२:०६

सिरिजका लागि एन्फाले चैत ११ गते ३२ खेलाडीको प्रारम्भिक टोलीको घोषणा गरेको थियो । सोही दिन राखेपबाट एन्फा निलम्बनमा पर्‍यो । त्यसपछि खेलाडीहरूको क्याम्पसमेत हुन सकेको छैन ।

एन्फा-राखेप विवाद : खेलाडीको प्रश्न- हामी देशका लागि खेल्ने कि तमासा हेर्ने ?

१७ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको फिफा सिरिज- २०२६ मा नेपालले एक मात्र सिरिज खेल्ने उल्लेख छ । पछिल्लो तालिकाअनुसार अप्रिल १२ र १५ मा  नेपालले उक्त सिरिज खेल्नेछ ।

तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेपछि त्यही एक सिरिज पनि नेपालले खेल्न पाउनेमा शंका पैदा भएको छ ।

सिरिजका लागि एन्फाले चैत ११ गते ३२ खेलाडीको प्रारम्भिक टोलीको घोषणा गरेको थियो । सोही दिन राखेपबाट एन्फा निलम्बनमा पर्‍यो । त्यसपछि खेलाडीहरूको क्याम्पसमेत हुन सकेको छैन ।

अब राखेप र एन्फाले एकअर्कालाई दोष लगाउँदै उक्त सिरिजमा भाग नलिने मनसायमा देखिएका छन् । राखेपको निलम्बनका कारण क्याम्प अगाडि बढाउन नसकिएको एन्फा प्रवक्ता सुरेश शाह बताउँछन् ।  उनी भन्छन्, ‘हामीले क्लोज क्याम्पमा बोलाउने वित्तिकै धेरै खर्च भइहाल्छ । अहिले निलम्बनमा परेको अवस्था छ । यस्तोमा भोलि पेमेन्ट हुन्छ कि हुँदैन  क्लियर नभएकाले होल्ड गरेका छौँ ।’ निलम्बनमा रहेको एन्फाले के गर्न पाउने, के नपाउने प्रस्ट नभएको पनि उनले बताए ।

‘खेलाडीदेखि सबैकुराको तयारी छ । सोहीअनुसार सूचना पनि गरिसकेका छौं । नीतिगत कुरामा केही समस्या आएका कारण होल्डमा बस्नुपरेको छ,’ प्रवक्ता शाहले भने । राखेपबाट आउने प्रतिक्रियाअनुसार अघि बढ्ने तयारी रहेको उनले जानकारी दिए ।

थाइल्यान्डमा हुने उक्त सिरिजमा नेपालले अप्रिल १२ मा कंगोसँग खेल्ने तालिका छ । सिरिजमा थाइल्यान्ड, नेपाल र कंगोसहित अर्काे एक देशले प्रतिस्पर्धा गर्नेछन् । ओसियाना फुटबल कन्फेडरेसनबाट सहभागी हुने उक्त देशको टुंगो लाग्न बाँकी छ ।

दोस्रो खेल नेपालले अप्रिल १५ मा हुने तालिका छ । उक्त खेलको प्रतिस्पर्धी भने पहिलो खेलको नतिजाले निर्धारण गर्नेछ । पहिलो खेल हार्ने दुई टोली र जित्ने दुई टोली छुट्टाछुट्टै एकापसमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीले खेल्ने-नखेल्ने राखेपको हातमा रहेको एन्फा प्रवक्ता शाहको तर्क छ । ‘हामी आफ्नो तयारीमा छौं । सबै कुरा राखेपको हातमा छ । राखेपले पठाउन चाह्यो भने जाने हो । पठाउन चाहेन भने जान्नौँ,’ उनले भने ।

राखेपका सदस्य सचिव रामचरित्र मेहताले एन्फाले खेलाडी र खेलबारे कुनै जानकारी नदिएको बताए । ‘खेलबारे एन्फाबाट कुनै जानकारी आएको छैन । त्यसबारेमा कानुनी पाटोबाट जे हुन्छ, त्यहि गर्छाैं’, उनले भने । निलम्बनमा परेको एन्फाले आफ्नो दायित्वसमेत पूरा नगरेको सदस्य सचिव मेहताको आरोप छ ।

एन्फा र राखेपको विवाद पछिल्लो समय खेलमा पनि देखिँदै आएको छ । यसअघि चैत १२ गते दशरथ रंगशालामा हुने भनिएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि स्थगित भएको थियो । उक्त खेल नहुँदा राखेप–एन्फाले एकअर्कालाई आरोप लगाउँदै आफु पन्छिएका थिए ।

खेलाडीको गुनासो- हाम्रो मेहनतको कुनै मूल्य छैन ?

खेल हुने सम्भावना कम हुँदै गएपछि खेलाडीसमेत असन्तुष्ट बनेका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत खेल खेल्ने अधिकारबाट वञ्चित नगर्न माग गरेका छन् ।

नेपाली महिला फुटबल टोलीकी पूर्वकप्तान एञ्जिला तुम्बापो सुब्बाले फिफा सिरिज खेल्न नपाउने हल्लाले सारा खेलाडीको मनोबल गिरेको बताइन् । राजनीतिक विवादले फुटबललाई बन्धक नबनाउन उनको आग्रह छ ।

‘मैदानमा पसिना बगाउन हामी कहिल्यै पछि हटेनौं । तर कार्यकक्षको राजनीतिले हाम्रो बाटो छेक्दा मन रुन्छ,’ उनले भनिन्, ‘खेलकुद निकाय र सरकारलाई प्रश्न छ– के हाम्रो मेहनतको कुनै मूल्य छैन ?’

एन्जिलाको मागप्रति पूर्व कप्तान रेनुका नगरकोटी र रेखा पौडेलले पनि ऐक्यबद्धता जनाएका छन् ।

तोकिएको खेल नहुँदा खेलाडीहरूमा मनोवैज्ञानिक असर पर्ने गरेको एक पूर्व राष्ट्रिय महिला फुटबल खेलाडीको अनुभव छ । ‘सबै खेलाडीलाई नै मानसिक असर गर्छ । किनकि खेल खेल्ने थाहा पाइसकेपछि तयारी गरिराखेको हुन्छ । अब खेल नहुने भएपछि त उनीहरुको मोरल्ली डाउन हुन्छ,’ ती पूर्व खेलाडीले भनिन् ।

एन्फा-राखेप विवाद नेपाली फुटबल फिफा सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय