१७ चैत, सुर्खेत । इनिसा विक मृत्यु प्रकरणमा जोडिएका चारै जनालाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बाल इजलासका न्यायाधीश दीपक ढकालको एकल इजलासले मंगलबार आरोपित चारै जनालाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको हो ।
इनिसाको बलात्कारपछि हत्या भएको भन्दै आरोपित चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोग पत्र दायर भएको थियो । आरोपित चारै जना नाबालक छन् ।
हाललाई पुर्पक्षका लागि सुधार गृह पठाइए पनि मुद्दाको अन्तिम फैसला भने बाँकी नै रहेको अदालतका सूचना अधिकारी उज्वल रावलले जानकारी दिए ।
‘चारै जनालाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश भएको छ’, रावलले भने, ‘घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश भएको छ ।’
प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा इनिसामाथि सामूहिक नभई एकल करणी भएको निष्कर्षसहित चैत्र ११ गते प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । इनिसाका प्रेमी भनिएका १६ वर्षीय नाबालकले सहमतिमै यौन सम्बन्ध राखेको र उनी एक्कासि बेहोस भएको बयान दिएका थिए ।
पछि अस्पताल लैजान सहयोगका लागि आफ्ना साथीहरूलाई बोलाएको बताएका छन् । तर आइतबार सरकारी वकिल कार्यालयले योजनाबद्ध तरिकाले सामूहिक बलात्कार भएको भन्दै चारै जनाविरुद्ध मुद्दा अघि बढाउन अभियोग पत्र अदालतमा दायर गर्यो ।
अदालतले पनि मंगलबार चारै जनालाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको छ ।
गत फागुन २३ गते बिहान टिउसन पढ्न जान्छु भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर–१ कि १६ वर्षीय इनिसा घर वीरेन्द्रनगर–४, मा रहेको जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही दिन घटनास्थलबाट उनका प्रेमी भनिएका १६ वर्षीय एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । ती युवकको बयानपछि थप तीन जना किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
इनिसा मृत्यु प्रकरणमा न्यायिक निरूपण सुरु भइसकेको भए पनि पीडित परिवारले भने न्यायका लागि आन्दोलन जारी राखेका छन् । उनीहरूले घटनामा संलग्नहरूलाई कारबाही नभएसम्म शव नउठाउने अडान लिएका छन् ।
इनिसाको शव २४ दिनयता कर्णाली प्रदेश अस्पतालको शव गृहमा छ ।
प्रतिक्रिया 4