News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदेश राजधानी वीरेन्द्रनगरमा इमिसा विकको बलात्कारपछि हत्या भएको भन्दै परिवार र अधिकारकर्मीले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका छन्।
- प्रदर्शन मंगलगढी चोकबाट सुरु भएर जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइने र प्रहरी कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम रहेको छ।
- प्रहरीले घटनामा संलग्न चार जना १८ वर्षमुनिका नाबालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ र चिकित्सकीय रिपोर्ट आउन बाँकी रहेको जनाएको छ।
२७ फागुन, सुर्खेत । इमिसा विकको बलात्कार पछि हत्या गरिएको भन्दै प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन थालिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार, आफन्त र अधिकारकर्मीहरूले बुधबार दिउँसो वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् ।
‘इनिशालाई न्याय देऊ’, ‘दोषीलाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रर्दशन गरिरहेका उनीहरूले उक्त प्रदर्शनलाई ‘खबरदारी र्याली’ नाम दिएका छन् । महिलाहरूमाथि हुने हिंसा बलात्कार जस्ता जघन्य अपराध रोक्न माग गर्दै प्रर्दशन गरिएका छन् ।
प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको खबरदारी र्याली यरीचोक, वीरेन्द्र चोक हुँदै जिल्ला प्रशासन जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाइने बताइएको छ । प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएपछि जिल्ला प्रहरी कार्यालय अगाडी धर्नामा बस्ने कार्यक्रम रहेको मृतकका आफन्त चन्द्रबहादुर विकले जानकारी दिए ।

इनिसा २३ फागुन बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २५ फागुनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका नाबालक हुन् । सुर्खेत प्रहरीले २३ फागुन दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि २४ फागुनमा अरू तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
इनिसामाथि सामूहिक बलात्कार भएको वा नभएको विषयमा चिकित्सकीय रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया 4