+
+
Shares

सन्तान वियोगको पुनरावृत्ति : १० वर्ष पहिले छोरा बिते, अहिले छोरी इनिसा

चार वर्षे छोरा इसानलाई गुमाएका इन्द्रबहादुर र तिला विक दम्पतीले १० वर्षपछि छोरी इनिसालाई पनि गुमाएको छ ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ चैत ३ गते १०:०८
इनसाको घर र घटनास्थल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतमा १६ वर्षीया इनिसा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएकी छन् र प्रहरीले चार नाबालकलाई पक्राउ गरेको छ।
  • इनिसाका बुवा इन्द्रबहादुरले १० वर्षअघि ४ वर्षीय छोरा गुमाएका थिए र अहिले छोरीको बलात्कारपछि हत्या भएको घटनाले परिवार शोकमा डुबेको छ।
  • प्रहरीले वैज्ञानिक अनुसन्धान अघि बढाइरहेको छ र पोस्टमार्टम रिपोर्टले जबरजस्ती करणीका कारण मृत्यु भएको पुष्टि गरेको छ।

३ चैत, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१ स्थित रेडियो नेपाल नजिकै एउटा नयाँ एकतले घर छ । घरको रङरोगन र फिनिसिङ भर्खरै सकिएको छ । इन्द्रबहादुर विकले दुबईको प्रचण्ड गर्मीमा पसिना बगाएर ठड्याएको यो घर केबल इँटा र सिमेन्टको संरचना होइन, यो त छोरी इनिसाको ‘डाक्टर’ बन्ने सपनाको जग हो । तर, विडम्बना ! यो घरमा सन्तान वियोगको पुनरावृत्ति भएको छ । जुन घरमा खुसीका रङहरू भरिनुपर्ने थियो, आज त्यही घर शोकको सागरमा डुबेको छ ।

चार वर्षे छोरा इसानलाई गुमाएका इन्द्रबहादुर र तिला विक दम्पतीले १० वर्षपछि छोरी इनिसालाई पनि गुमाएको छ । २०७२ सालमा छोरालाई भक्तपुरको अस्पतालमा मृत भेटेका इन्द्रबहादुरले २०८२ सालमा सुर्खेत अस्पतालमा छोरीलाई पनि निष्प्राण देख्नुपर्‍यो ।

‘पढाइमा एकदमै तिक्ष्ण थिइन्, सानैदेखि डाक्टर बन्छु भन्थिन्,’ इन्द्रबहादुर भक्कानिन्छन्, ‘छोरीकै खुसीका लागि म खाडी पसेँ । तर आज मेरो कमाइले बनाएको यो घरमा ऊ नै छैन ।’

२३ गते बिहान वीरेन्द्रनगरको जनजागरण सामुदायिक वनमा इनिसा बेहोस अवस्थामा फेला परेकी थिइन् । अस्पताल पुर्‍याउँदा ढिलो भइसकेको थियो । चिकित्सकले मृत घोषणा गरे । पोष्टमार्टम रिपोर्टमा लेखिएको छ– बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिसाको मृत्यु ।

इन्द्रबहादुरका लागि यो पीडा नयाँ भने होइन । ठ्याक्कै १० वर्षअघि, २०७२ वैशाख ३० गते उनले आफ्नो ४ वर्षीय छोरा इसानलाई भक्तपुरको सिद्धी अस्पतालको आईसीयूमा गुमाएका थिए । तीन दिनको कडा ज्वरोले छोरालाई चुँडेर लगेको थियो । त्यतिबेला उनी सेनाको कमाण्डो तालिममा थिए ।

‘छोरा बित्दा भगवानसँग पुकारा गरेको थिएँ– यस्तो पीडा फेरि कहिल्यै नदेऊ भगवान् !’ उनी आँसु पुछ्दै भन्छन्, ‘तर भगवान् पनि निर्दयी रहेछन् । अहिले फेरि छोरीलाई शव गृहमा देख्नुपर्‍यो ।’

छोरीसँग अन्तिम सम्वाद

नेपाली सेनाको जागिरबाट अवकाश पाएपछि इन्द्रबहादुरले विश्राम रोज्न सक्थे । तर, १६ वर्षीया छोरी इनिसाको आँखामा उनले एउटा सपना देखेका थिए– सेतो कोट लगाएर बिरामीको सेवा गर्ने डाक्टर बन्ने सपना । सेनाको पेन्सनले त्यो खर्च धान्न मुस्किल थियो । त्यसैले ६ वर्षअघि उनी पुन: श्रम बेच्न दुबई पुगे ।

गत फागुन २२ गते बेलुका इन्द्रबहादुरले दुबईबाट भिडियो कल गरेका थिए । छोरीसँग पढाइका कुरा भए, केही अर्ती–उपदेश दिए । तर, भोलिपल्टको डिउटी सकिएर कोठामा फर्कंदा मोबाइल म्यासेज र मिस्डकलले भरिएको थियो । अर्को देशमा रहेका एकजना भाइले फोन गरेर सुनाए– इनिसा अब यो संसारमा रहिनन् ।

इन्द्रबहादुरले भने, ‘त्यो सुनेर एक्कासी शरीर काँप्न थाल्यो । मुटुले ठाउँ छोडेझैँ भयो । पछि साथीहरूले सम्हालेछन् ।’

२४ गते इन्द्रबहादुर दुबईबाट स्वदेश फर्कन खोजे तर सकेनन् । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विमानस्थल बन्द थियो । दुई दिन एयरपोर्टमा अलपत्र परे । पछि अर्को सहरको एयरपोर्टबाट तीन दिनपछि मात्र उनी नेपाल आए । २७ गते बेलुका घर पुगेका उनी २८ गते बिहान घटनास्थल पुगे, प्रदेश अस्पताल पुगेर छोरीको शव हेरे । प्रहरीलाई भेटेर अनुसन्धानबारे जानकारी लिए ।

इनिसाका बुवा इन्द्रबहादुर

दिनभरि प्रहरी प्रशासन, मिडिया, अधिकारकर्मी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले घेरिएका इन्द्रबहादुर बेलुका घर पुग्दा भक्कानिन्छन् । भेटघाटका लागि आउनेहरुको भिडमा पनि आफूलाई एक्लो पाउँछन् । छोरीको ती बच्पना हर्कतको यादले उनलाई सताउँछ ।

इन्द्रबहादुरका आँखाहरू, हरबखत इनिसालाई खोजिरहन्छन् । घरका कोठाहरूमा । भान्सामा, छतमा, आँगनमा । घर अगाडिबाट देखिने बाटोको परपरसम्म । ‘जति बेला पनि, कतिखेर एक्कासि पछाडिबाट उफ्रिँदै आएर बुई चढ्ले र बाबा कतिखेर आएको भन्दै सन्चो बिसन्चो सोध्लीझैँ लाग्छ,’ गहभरि आँसु पार्दै उनले भने ।

छोराछोरीकै सुन्दर भविष्यका लागि इन्द्रबहादुर सुरक्षा गार्डको काम गर्न ६ वर्षअघि दुबई गएका थिए । उनकी श्रीमती तीला छोरीलाई पढाउन वीरेन्द्रनगरमा भाडामा बस्न थालिन् । ‘श्रीमतीले वीरेन्द्रनगरमा राखेर छोरी पढाउँदै आएकी थिइन्, छोरी पढाइमा ट्यालेन्ट थिइन् । सानैदेखि डाक्टर बन्छु भन्थिन् । त्यसकै लागि कक्षा ११ मा विज्ञान विषय लिएर पढिरहेकी थिइन्,’ इन्द्रबहादुरले भने, ‘आर्मीको पेन्सनले छोरीको सपना पुरा गर्न सम्भव थिएन । त्यसैका लागि दुबई आर्मी मातहत सुरक्षा गार्डमा काम गर्न गएको थिएँ ।’

उनका अनुसार, इनिसा सारै मिलनसार थिइन् । पहिलो भेटमा प्रभाव छाड्न सक्ने उनको स्वभाव थियो । ‘ए’ ग्रेडमा एसईई उत्तीर्ण भएकी थिइन् । ‘बोलीले कसैलाई बिराइनन् । सधैँ हँसमुख । सबैकी प्यारी । पढाइमा तिक्ष्ण थिइन् । उनलाई त घर, स्कुल बाहेक बाह्य दुनियाँबारे थाहा पनि थिएन,’ छोरीको स्वभाव सम्झिँदै इन्द्रबहादुरले भने,  ‘उनीसँग त मोबाइल पनि थिएन । दुई महिना अगाडि घर आएको बेला मैले नै फोन ल्याइदिएको थिएँ ।’

‘कक्षा ११ मा पढ्ने भएपछि फोन त दिनुपर्छ सोचेर म आफैंले दिएको थिएँ । उनले त फोन पर्दैन बरु पढ्न सजिलो हुन्छ आइप्याड ल्याइदिनु बाबा भन्दै थिइन्,’ उनले भने, ‘मैले फोन, आइप्याड दुबै ल्याइदिएको थिएँ ।’

इनिसा एक जेहनदार, मिलनसार र असल विद्यार्थीका रूपमा सम्झिन्छन्  कक्षा ९ देखि उनलाई नेपाली पढाउँदै आएका शिक्षक इन्द्रप्रसाद चापागाईं । ‘शिक्षक र साथीहरूसँग हार्दिकतापूर्ण व्यवहार थियो, अहिलेसम्म उनका बारेमा कुनै पनि कम्प्लेन सुनिएको थिएन,’ उनले भने ।

इन्द्रबहादुरले राम्रोसँग पढ्न पाएनन् । तर छोरा–छोरीको सुन्दर भविष्यका लागि परिवारले थाकथलो छोड्यो । ‘मैले त देशै नै छोडेँ । रिटायर्ड जीवन राम्रोसँग बाँचौला भन्ने बेला खाडीको तातो घाममा पसिना बगाउन थालेँ,’ उनले भने ।

समाजको कुरुप ऐना

विछिप्त आमा र घटनास्थल

आफ्ना छोराछोरीलाई अशिक्षा, अभाव, जातीय विभेद र दलनको दलदलबाट माथि उकास्न चाहन्थे, इन्द्रबहादुर । ‘हामीले भोगेको अशिक्षा, असमानता, जातीय विभेद र गरिबी मेरा छोराछोरीले नभोगुन् भनेरै खाडीमा पसिना बगाउन गएको थिएँ,’ इन्द्रबहादुरले भक्कानिँदै अनलाइनखबरसँग भने, ‘छोराछोरीलाई लिएर हाम्रो आकाशजत्रो सपना थियो, तर नियतिले माटोमै मिलाइदियो ।’

इन्द्रबहादुर गरिबीसँग लडे, जातीय विभेदसँग जुधे र आर्थिक अभावलाई केही हदसम्म जिते । तर, आज उनलाई लाग्छ, उनले आफ्नै समाजको पितृसत्तात्मक र हिंस्रक सोचसँग हारेका छन् ।

‘इनिसालाई हामीले सधैँ सुखमा राख्यौं । अभाव कहिल्यै महसुस गराइनौं । तर हामीले यो समाजको कुरुप ऐना देखाउन बिर्सिएछौँ,’ उनी पश्चाताप गर्छन्, ‘हामीले भन्नुपर्ने रहेछ– छोरी, यो समाजमा तिमी जोसुकैबाट पनि मारिन सक्छौ, यहाँ यौन पिपासुहरू तिम्रो वरिपरि नै छन् । तिमी हरेक पाइला बचेर हिँड्नु पर्छ ।’

कहाँ पुग्यो अनुसन्धान ?

बलात्कारपछि हत्या गरिएकी इनिसाको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २३ गते एक जनालाई घटनास्थलबाटै पक्राउ गरेको थियो । २४ गते थप तीन जनालाई पक्राउ गरेको सुर्खेत प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जना नाबालक (१८ वर्ष मुनिका) हुन् ।

२५ गते परिवारले चार जनाविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी किटानी उजुरी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेका १६ वर्षीय किशोरले बयानका क्रममा किशोरीसँग शारीरिक सम्पर्क गर्दा अत्यधिक रक्तस्राव भएपछि मृत्यु भएको बयान दिएका छन् ।

अनुसन्धानको प्रगति के छ ?

यस घटनामा प्रहरीले वैज्ञानिक तवरले अनुसन्धान अघि बढाएको जनाएको छ । त्यसका लागि सीआईबीको एक टोली र पोलिग्राफसम्मको विज्ञ टोली अनुसन्धानमा सक्रिय छ । यी टोलीले बिहीबार नै सुर्खेत आएर अनुसन्धान अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिर राज शाहीले जानकारी दिए ।

नेपालगन्जबाट आएको पोलिग्राफ विज्ञ टोलीले अभियुक्तहरूको बयानलाई परीक्षण गर्छ र झुटो बोलेको भए पत्ता लगाउँछ । सीआईबी, पोलिग्राफसँगै नेपालगञ्जबाट नै सीडीआर विश्लेषक लगायतको अर्को विज्ञ टोली पनि अनुसन्धानमा खटिएको छ ।

‘अनुसन्धानको कुनै पाटो नछुटोस् भनेर थप विज्ञहरूको टोलीको सहयोगमा अनुसन्धान गरिरहेका छौं । पोस्टमार्टम रिपोर्ट आइसकेको छ । थप रिपोर्ट र पिडकको बयान सकिएपछि हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ,’ उनले भने ।

फरेन्सिक ल्याबहरूमा मोबाइल परीक्षणका लागि पठाइसकिएको छ । त्यस्तै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल रिपोर्टको लागि र बायो–सेरोलोजिकल परीक्षणका लागि पठाइएको छ ।

भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर गरेको पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको जनाएको छ । पोस्टमार्टम रिपोर्टमा सोही कारण हुनसक्ने भनिए पनि भिसेरा परीक्षणपछि यकिन गर्न सक्ने भनेको छ ।

न्यायको माग

इनिसाको बलात्कारपछि मृत्युको घटनापछि पीडित पक्षलाई न्याय र पीडकलाई कडा कारबाहीको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ । यसमा विभिन्न संघसंस्था र राजनीतिक दलसम्बद्ध संगठनहरु पनि संलग्न छन् ।

इनिसाका बुवा इन्द्रबहादुरको माग पनि त्यही छ ।

‘घटनाको अनुसन्धानलाई लिएर धेरै ठाउँमा आशंका गर्ने ठाउँ छ । विभिन्न तरिकाले तोडमोड गर्न खोजिएको छ,’ इन्द्रबहादुर भन्छन्, ‘न्याय नपाएसम्म छोरीको शव नबुझ्ने जानकारी प्रहरीलाई प्रशासनलाई गराएको छु । घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरेको छु ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?