बसन्त बस्नेत अनलाइनखबर डटकमका प्रधान सम्पादक हुन् । मूलधारको पत्रकारितामा डेढ दशकयता सक्रिय उनले राजनीति, भूराजनीति, समाज, संस्कृति आदि विधामा रिपोर्टिङ विश्लेषण गर्दै आएका छन् । यसअघि कान्तिपुर मिडिया ग्रुपको नेपाल साप्ताहिकमा सम्पादक रहिसकेका उनी कान्तिपुर दैनिक, नागरिक, अन्नपूर्ण पोस्ट जस्ता मूलधारका सञ्चार संस्थामा नेतृत्वदायी तथा अग्रणी जिम्मेवारीमा रहिसकेका छन् ।
प्रधान सम्पादक बस्नेतका तीन वटा पुस्तक प्रकाशित छन् । तीमध्ये समकालीन इतिहास विधामा लिखित ‘७२ को विस्मय : संविधान मधेश नाकाबन्दी’ फाइनप्रिन्ट बुक्सबाट प्रकाशित छ । संविधानसभाबाट संविधान निर्माण, नेपालको शान्तिप्रक्रिया तथा उत्तर गणतान्त्रिक संक्रमणकाल अनि संघीयता लगायत विषयमा मधेश र सीमान्तकृत समूहले राखेका असन्तोषका साथै भूराजनीतिले बिथोलेको समग्र प्रक्रियाबारे यस पुस्तकमा सविस्तार लेखिएको छ ।
बस्नेतका दुई उपन्यास ‘महाभारा’ र ‘सिमसारा’ फाइनप्रिन्टबाटै प्रकाशित छन् । महाभारा उपन्यास प्रकाशनको छोटो अवधिमै बेस्टसेलर बन्न पुगेको थियो । यसमा नेपालको माओवादी द्वन्द्वकालीन समयमा पूर्वी पहाडले भोगेको संकट चित्रित छ । धर्म, राजनीति र प्रेमको त्रिकोणमा बुनिएको महाभारा उपन्यासले विचार निर्माता र समीक्षकहरूको ध्यान समेत तानेको थियो ।
हालसालै प्रकाशित दोस्रो उपन्यास सिमसारामा बस्नेतले पारिवारिक विघटनको त्रासदी भोग्दै गरेको किशोर अनि साहसी एकल महिलाको आँखाबाट आख्यानको संसारलाई चियाएका छन् ।
प्रतिक्रिया 4