News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सभापति रवि लामिछानेले मधेशवादी दलका नेताहरूसँग संविधान संशोधन र आर्थिक विषयमा छलफल गरेका छन्।
- लामिछानेले जसपा नेपालका संरक्षक महन्थ ठाकुर र आमजनता पार्टी अध्यक्ष प्रभु साहलाई भेटेर समसामयिक विषयमा छलफल गरेको सचिवालयले जनाएको छ।
- ठाकुरले केही साथीहरू काठमाडौं बाहिर भएकाले एक हप्तापछि मधेशी मोर्चाको बैठक बस्ने जानकारी दिएका छन्।
१८ चैत, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले मधेशवादी दलका नेताहरूसँगको छुट्टाछुट्टै भेटमा संविधान संशोधन लगायतका विषयमा छलफल गरेका छन् ।
रास्वपा नेतृत्वको सरकारले प्रधानमन्त्रीका सल्लाहकार असिम शाहको नेतृत्वमा कार्यदल गठन भएको भोलिपल्ट लामिछानेले जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुर र आमजनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहलाई भेटेका हुन् ।
ठाकुर र साह निकट नेताहरूले लामिछानेले संविधान संशोधन, आर्थिक र समाजिक विषयमा चासो देखाएको बताएका छन् ।
लामिछानेसँगको भेटपछि मधेशी मोर्चाको बैठक बस्ने तयारी भइरहेको नेता ठाकुरले जानकारी दिए । उनले भने, ‘केही साथीहरू काठमाडौं बाहिर हुनुहुन्छ, एक हप्तापछि मोर्चाको बैठक बस्छ ।’
राष्ट्रिय सभा सदस्य समेत रहेका ठाकुरले संविधान संशोधन कार्यदल बनेको लामिछानेले जानकारी दिएको बताए ।
सभापति लामिछानेको सचिवालयले समसामयिक विषयमा छलफल भएको जनाएको छ ।
आजपा अध्यक्ष साहले राजनीतिक, आर्थिक र सामाजिक विषयमा छलफल भएको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘आर्थिक र विकास निर्माणका विषयमा पनि छलफल गर्यौं ।’
लामिछानेले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई नभेटेर ठाकुरलाई भेट्नु अर्थपूर्ण भएको मोर्चाका एक नेताले बताए । उनी राष्ट्रिय सभा सदस्य समेत भएकाले ठाकुरलाई महत्त्व दिएको हुन सक्ने बताउँछन् ।
राष्ट्रिय सभामा ठाकुर सहित जसपा नेपालका तीन सांसद छन् । गत १३ पुसमा ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपाल बीच एकता भएको थियो ।
प्रतिक्रिया 4