News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले पाँच खेलमा चार हार बेहोरेको छ ।
- कप्तान रोहित पौडेलले ५ खेलमा जम्मा ४९ रन मात्र बनाएका छन् ।
- एपीएफको बलिङमा नन्दन यादव र अविनाश बोहराले सीमित अवसर पाएका छन् ।
१८ चैत, काठमाडौं । घरेलु क्रिकेटमा बलियो मानिएको टोलीमध्ये एक हो, सशस्त्र प्रहरी बल (एपीएफ) क्लब । उक्त टोलीमा कप्तान रोहित कुमार पौडेलसहित राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरूको वर्चश्व छ । तर, उक्त टोलीले जारी प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा एकपछि अर्को हार बेहोरेको छ ।
बुधबार वीरगञ्जमा भएको खेलमा एपीएफ लुम्बिनी प्रदेशसँग स्तब्ध हुन पुग्यो । एपीएफले दिएको १२५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२४ रनमा रोकिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा लुम्बिनीले दिएको १५ रनको लक्ष्य पछ्याएको एपीएफले ६ रन मात्र जोड्न सक्यो । १९ वर्षीय युवा क्रिकेटर सन्तोष यादवको बलमा राष्ट्रिय टोलीका कप्तान रोहितसहित लोकेश बम र सन्दीप जोरा निरिह बन्न पुगे ।
राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण भएपनि जारी पीएम कपमा एपीएफले लय कायम गर्न सकेको छैन । पहिलो खेलमा बागमती प्रदेशविरुद्ध ७१ रनको जित निकाल्दै सुखद सुरुवात गरेको थियो । तर, त्यसपछि एपीएफ लयमा छैन । दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग १८५ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । तेस्रो खेल त्रिभुवन आर्मी क्लबसँग वर्षाका कारण रद्द हुँदा चौथो र पाँचौं खेलमा एपीएफ प्रदेशका दुई टोलीसँग पराजित हुन पुग्यो ।
घरेलु क्रिकेटमा हरबखत विभागीय टोलीको दबदबा रहने गर्छ । अधिकांश प्रतियोगितामा तीन विभागीयले नै उपाधि जितिराखेका छन् । राष्ट्रिय टोलीबाट खेलिराखेका खेलाडीहरूको वर्चश्व हुने कारण पनि प्रदेशका टोलीहरूले हतपत विभागीय टोलीलाई टक्कर दिन सक्दैनन् ।
तर, एपीएफ प्रदेशका एकपछि अर्को टोलीसँग निरिह बन्न पुगेको छ । गण्डकी प्रदेशसँग ४३ रनको हार बेहोरेको एपीएफ लुम्बिनीसँग सुपर ओभरमा पराजित हुन पुग्यो ।

एपीएफमा पौडेलसहित राष्ट्रिय टोलीबाट खेलिसकेका ओपनर आसिफ शेख, सन्दीप जोरा, लोकेश बम, नन्दन यादव, अभिनास बोहरा र कमलसिंह ऐरी छन् । तर, एपीएफ प्रदेशको टोलीसँग पनि हार बेहोरिरहेको छ । ५ खेलसम्म अधिकांश खेलाडीले लय समात्न सकेका छैनन् । ओपनर आसिफले पहिलो खेलमा शतक प्रहार गरेका थिए । त्यसपछि उनी पनि फ्लप भए । अन्य कुनै पनि खेलमा उनले २१ कटाउन सकेका छैनन् ।
५ वटै खेलमा कप्तान रोहितको ब्याट चल्न सकेको छैन । ५ खेलमा रोहितले मात्र ४९ रन बनाएका छन् । बलिङमा उनले ७ विकेट लिएका छन् । सन्दीप जोरा र लोकेशको हालत पनि यस्तै छ । सन्दीपले पहिलो खेलमा अर्धशतक बनाएका थिए । त्यसपछि चल्न सकेनन् । लोकेश कुनै पनि खेलमा चल्न सकेका छैनन् । सन्दीपले ५ खेलबाट ११२ रन र लोकेशले ६० रन बनाएका छन् ।
बलिङमा पनि यो सिजनबाट एपीएफमा भित्रिएका नन्दनले खासै अवसर पाएका छैनन् । २ खेलमा अवसर पाएका उनले २ विकेटसँगै ४९ रन बनाएका छन् । अभिनासले ३ खेलमा ३ विकेट लिएका छन् । कमलले पनि खास गर्न सकेका छैनन् । उनले ५ खेलबाट मात्र ४ विकेट लिएका छन् । ब्याटिङमा उनले ६६ रन बनाएका छन् । युवा बलरद्वय युवराज खत्री र अभिशेष गौतमले पनि चमत्कार गर्न सकेका छैनन् ।
५ खेलसम्म युवराजले ५ र अभिषेशले ६ विकेट लिएका छन् । सुमित महर्जन, भुवन कार्की र दीपक बोहरा पनि खास लयमा छैनन् । कुनै पनि खेलाडीबाट सुझबुझपूर्ण प्रदर्शन हुन नसक्दा एपीएफले एकपछि अर्को हार बेहोरिरहेको छ ।
खस्किँदै एपीएफको प्रदर्शन
प्रधानमन्त्री (पीएम) कपमा एपीएफको प्रदर्शन खस्किदो छ । रोहितले एपीएफको कप्तानी गरेसँगै एपीएफको प्रदर्शन खस्किदै गएको देख्न सकिन्छ । सन् २०२४ को संस्करणदेखि रोहितले एपीएफको कप्तानी गरेका थिए । उक्त सिजनमा एपीएफ पहिलोपटक पाँचौं भएको थियो । गत संस्करणमा एपीएफ तेस्रो बन्यो । यसपटकको संस्करणमा पनि एपीएफको सुरुवात राम्रो छैन ।
एपीएफले सन् २०२२ मा फाइनलमा आर्मीलाई हराउँदै उपाधि जितेको थियो । यस्तै २०२१ मा आर्मीसँगै पराजित हुँदा सन् २०१९ मा सेमिफाइनलबाट बाहिरिएको थियो । सन् २०१८ मा उपाधि जित्दा एपीएफ सन् २०१७ मा सेमिफाइनलबाट बाहिरिएको थियो ।
पीएम कपमा सन् २०१७ मा ज्ञानेन्द्र मल्ल, २०१८ र १९ मा वसन्त रेग्मीले कप्तानी गरेका थिए । २०२१ र २२ मा शरदले एपीएफको कप्तानी गरेका थिए । त्यसपछि रोहितले एपीएफको कप्तानी गर्दै आएका छन् ।
प्रतिक्रिया 4