News Summary
Generated by OK AI. Editorially reviewed.- नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २३ चैतसम्म सुन्धारास्थित सिभिल मलमा सञ्चालन हुँदैछ।
- फेस्टिभलमा ४० देशका ८८ वटा फिल्म प्रदर्शन गरिने र ६ वटा चिनियाँ तथा ४ वटा रुसी फिल्म विशेष प्रदर्शन हुने आयोजकले बताए।
- उद्घाटन समारोहमा सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत, विभिन्न देशका राजदूत र चलचित्रकर्मी सहभागी थिए।
काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु भएको छ । २३ चैतसम्म चल्ने फेस्टिभल हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै सुरु भएको छ ।
सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा भएको उद्घाटन समारोहमा सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रुपमा सहभागी थिइन् ।
समारोहमा ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, पाकिस्तानी राजदूत अब्रार हास्मी, श्रीलंकाली राजदूत रुवन्थी डेलपिटिया, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र भारतीय निर्देशक तथा निर्माता रमेश सिप्पी विशेष अतिथिका रुपमा उपस्थित थिए ।
पहिलो रंगिन फिल्म ‘कुमारी’ का निर्देशक प्रेम बस्नेत, अभिनेत्री चैत्यदेवी सिंह, निर्देशक समुद्र रेग्मीलगायतका फिल्मकर्मी पनि समारोहमा सहभागी थिए ।
सञ्चार सचिव बस्नेतले निफले नेपाली फिल्मको बजार र अन्य चलचित्र उद्योगसँग सम्बन्ध विस्तारमा सहयोग पुग्ने आशा व्यक्त गरिन् । ब्राजिलका राजदूत हार्टोगले निफलाई सफलताको शुभकामना दिए ।

उनले आफ्नो देशबाट छनोटमा परेका फिल्मको कथाबारे पनि चर्चा गरेका थिए । पाकिस्तानी राजदूत हास्मीले निफलाई सफलताको शुभकामना दिँदै आफू यस महोत्सवमा तेस्रो पटक सहभागी भएको बताए ।
बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पीले एआईको वर्तमान समयमा चलचित्र महोत्सवबारे महत्वबारे बोलेका थिए । फेस्टिभल अध्यक्ष केपी पाठकले निम्तो स्वीकार गरी कार्यक्रममा उपस्थित हुने सबै अतिथि, चलचित्रकर्मी र पत्रकारप्रति कृतज्ञता व्यक्त गरे ।
फेस्टिभलमा ४० देशका ८८ वटा फिल्म प्रदर्शन गरिने तय भएको छ । ६ वटा चिनियाँ र ४ वटा रुसी फिल्म प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ ।
रुसी सांस्कृतिक केन्द्रमा ‘रसियन फिल्म डेज’ आयोजना गरिनेछ । अन्य दिन पनि यस स्थानमा प्रदर्शन हुने फिल्महरु निःशुल्क हेर्न पाइनेछ । यसपटक निफमा सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ ।
जस अन्तर्गत ६ वटा चिनियाँ सिनेमा र वृत्तचित्र प्रदर्शन गरिनेछ । पर्यटन बोर्ड र छायाँ सेन्टरमा यी फिल्महरू निःशुल्क हेर्न पाइनेछ । प्रतिस्पर्धामा रहेका मध्येका फिल्म सिभिल मल र छायाँ सेन्टरमा भने सशुल्क प्रदर्शन हुनेछ ।
निफ अन्तर्गत १० वटा अन्तक्र्रियात्मक कार्यकम राखिएको छ । जसमा विभिन्न देशका मेकरले अनुभव सेयर गर्नेछन् ।






प्रतिक्रिया 4