News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमले ३ देखि ५ अप्रिलसम्म पश्चिम एसियामा विशेष उद्धार उडान सञ्चालन गर्ने भएको छ।
- परराष्ट्रमन्त्री शिशिर खनाको निर्देशनपछि नेपाल वायुसेवा निगमले विशेष उडान सञ्चालन गर्न लागेको हो।
- पश्चिम एसियामा विद्यमान तनावका कारण नियमित उडान २८ फेब्रुअरीदेखि स्थगित छन् र राष्ट्रिय बीमा कम्पनीले बीमा सहयोग गरेको छ।
१९ चैत, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पश्चिम एसियामा विशेष उडान सञ्चालन गर्ने भएको छ । शुक्रबारदेखि ३ दिनसम्म (३ देखि ५ अप्रिलसम्म) विभिन्न क्षेत्रमा विशेष उडान सञ्चालन गर्ने भएको हो ।
पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउनका लागि विशेष उडान गर्न लागिएको हो । भोलि ३ अप्रिलमा काठमाडौं–दुबई, ४ अप्रिलमा दुबई–काठमाडौं, ५ अप्रिलमा काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान भर्न लागेको हो ।
ती क्षेत्रमा रहेका नेपाली, स्वदेश फर्किन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पुर्याउनका लागि विशेष उडान सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाको चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीबीच बैठक बसेको थियो । उक्त बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

परराष्ट्रमन्त्रीको निर्देशनपछि नेपाल वायुसेवा निगमले विशेष उडान सञ्चालन गर्न लागेको हो । पश्चिम एसियामा विद्यमान तनाव तथा असुरक्षा अवस्थाका कारण ती क्षेत्रहरूमा नियमित उडानहरू २८ फेब्रुअरीदेखि स्थगित रहेको छ ।
उडानका दौरान आवश्यक बीमा व्यवस्था सहज बनाउन राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पश्चिम एसियामा विद्यमान तनावको अवस्थामा समेत विशेष उडान सञ्चालन गर्न योगदान र समन्वय गर्ने अन्य सरोकारवाला निकायलाई परराष्ट्र मन्त्रालयले धन्यवाद दिएको छ ।
प्रतिक्रिया 4