डेढदशक अघि धरानमा स्थापना भएको आउटसाइडर्स व्याण्डका प्रमुख भोकलिस्ट डिल्ली फोम्बोले हालै ‘पेली तोन्दुङ’ गीत सार्वजनिक गरेका छन् । म्युजिक भिडियोसहित सार्वजनिक गरेको यो गीत पूरै याक्थुङ लिम्बूको मुन्धुमी भाषा र लयमा फ्युजन गरिएको छ ।
पेली तोन्दुङको नेपाली अर्थ ‘दुईहात जोडेर विन्ती गर्छु’ भन्ने हुन्छ । याक्थुङ मुन्धुमको मुल दर्शन प्रकृतिमा आधारित सहअस्तित्व कायम राख्नु हो । त्यसै विषयलाई आधार बनाएर मुन्धुमी फ्युजन गायक फोम्बोले फरक शैलीमा पेलि तोन्दुङलाई श्रोता र दर्शकमाझ पस्किन सफल भएका छन् ।
याक्थुङ मुन्धुमी फ्युजन गायक डिल्ली फोम्बो गीत मार्फत भनिरहेका छन्, ‘हाग तुतुगेन तुम्याहाङ्से, हाग याक्लागेन सुहाङ्मासे, हाग पेलिधिक तोदुङ्लो, हाग पान्जाइन तोदुङ्लो, आनिग हाग लाजेबुङ्दाङ्वा, सिङ्बुङदाङ्बा, लुङबुङदाङ्बा, इक्सा खाम्बेक खेम्दुरो ।’ (भावार्थः भद्र महिला र पुरुषहरू ! सुन, हात जोडेर विन्ती चढाउछु, हामी त यो भूमिको संरक्षक हो, रनवन प्रकृतिको संरक्षक हो । त्यसैले यो पृथ्वी सुहाएको छ ।)
उनलाई महिला स्वरमा सामरा शाहीले साथ दिएकी छिन्, ‘सिक्कुम निङ्वा तङसुम्रो लाजेसिङबु खेम्दुरो, निवा इन् फाक्सुम्रो, सेसे लरिरो, साङसाङ लरिरो, सिक्कुम फाक्सुम्रो निङ्वाआङ फाक्सुम्रो ।’ (भावार्थः मन र विवेक एकसाथ मिलाऔं, तब यो भूमि र प्रकृति सुहाउछ, अव मन खोलौं है । मनैदेखि खुशी साटौं, चोखो ह्दयको धनी बनौं ।)
धरानमा हुँदा नेपाली लोकपप र लोकरक गाउन पोख्त फोम्बो केही वर्षअघि अस्ट्रेलिया पुगेका थिए । उनले यसअघि फुङ्वा साम्लो, युमा माङ बोलका गीतका म्युजिक भिडियो बनाएर दर्शक माझ आफ्नो उपस्थितिलाई कायम राखेका थिए ।
उनी आफैंले लय र संगीत भरेको यो म्युजिक भिडियोमा पूर्वमिस नेपाल माल्भिका वनेम सुब्बाले अभिनय गरेकी छिन् ।
याक्थुङ मुन्धुमी दर्शनमा आधारित यो गीतमा मानवीय प्रकृतिका कथा माल्भिकाको सुन्दर अभिनयसँगै बगेका छन् । गीतमा याक्थुङ लिम्बू जीवन दर्शन र सामाजिक पारिवारिक परिवेशमा युमा (आदि स्त्री)को स्थान उच्च हुने गरेको छ ।
युमाले मन पराएको वा छानेको कुनै पनि पात्रमा आउने मानसिक, शारिरिक अवस्था, त्यसपछिको प्राप्तीलाई निर्देशक सुल्तान इथिङ्गोले नेपाल र अष्ट्रेलियामा छायाङ्कन गरेर उत्कृष्ट बनाएका छन् ।
‘याक्थुङ मुन्धुमी ज्ञान, जीवन दर्शन, संस्कार, संस्कृति कुरोलाई नेपाल वा विदेशमा बसेका नयापुस्ता हस्तान्तरण गर्दै कुनै न कुनै माध्यममार्फत बुझाउन फ्युजन गरिएको हो ।
विदेशमै जन्मेर हुर्केका नयापुस्ताले याक्थुङ मुन्धुमी फ्युजनका गीतलाई कसरी लिन्छन् भनेर प्रयोग पनि गर्न खोजिएको छ ।’
प्रतिक्रिया 4