News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गत ‘रसियन फिल्म डेज’ को कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा औपचारिक शुभारम्भ भएको छ।
- रुसी कूटनीतिज्ञ रिनचिन रक्साएबले चलचित्रले समाजमा विशेष प्रभाव पार्ने र फरक चलचित्र उद्योगबीच सद्भाव कायम राख्नुपर्ने बताए।
- ‘रसियन फिल्म डेज’ अन्तर्गत ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द डिनो प्यामिली’ र ‘अल रङ गर्ल’ निःशुल्क प्रदर्शन हुनेछन्।
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘रसियन फिल्म डेज’ को औपचारिक शुभारम्भ भएको छ । कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम सुरु भएको हो ।
शुक्रबार आयोजित उद्घाटन समारोहमा रुसी कूटनीतिज्ञ रिनचिन रक्साएब र ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेको उपस्थिति थियो । सो अवसरमा रक्साएबले शुभकामना मन्तव्य दिँदै समाजमा चलचित्रको प्रभाव विशेष रहने र फरक चलचित्र उद्योगका व्यत्तिबीच पनि सद्भाव कायम राख्न जोड दिए ।
यसका लागि ‘रसियन फिल्म डेज’ ले निरन्तर प्रयास गर्दै आएको उनले बताए । उनले निफको नवौं संस्करणको ओपनिङ कार्यक्रममा नेपालको पहिलो रंगिन फिल्म ‘कुमारी’का निर्देशक, नायिका र छायाँकारसँग भेटेर विशेष अनुभव बटुलेको बताए ।
नेपाल र रूसको मित्रता भएको ७० वर्षको अवसरमा पारेर निफसँग रसियन फिल्म डेजले गरेको सहकार्यले विशेष अर्थ राख्ने ललितकलाका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले बताए ।
कार्यक्रमका दुई सभाध्यक्ष मध्येकी अनास्थासिया खक्खलोभाले निफ र रुसी सांस्कृतिक केन्द्रको सहकार्यमा भइरहेको चलचित्र महोत्सवको तथा रसियन हाउसमै निफ अन्तर्गत भइरहेको एआई फिल्म वर्कसपमा सहभागी हुन सम्पूर्णमा आग्रह गरिन् ।
निफ अध्यक्ष केपी पाठकले फेस्टिभल र ‘रसियन फिल्म डेज’ को सहकार्यले दुई देशको सम्बन्ध थप प्रगाढ हुने विश्वास जनाए । फिल्म ‘अगस्ट’ प्रदर्शनसहित कार्यक्रम सुरु भएको छ ।
यस ऐतिहासिक र थ्रीलर जनरामा बनेको फिल्म ‘अगस्ट’ दोस्रो विश्वको अन्तिमतिरको घटनामा आधारित छ । शत्रुलाई परास्त गर्न युद्धमा अगाडि बढेको सोभियत संघको रेड आर्मीलाई पछाडिबाट हुनसक्ने आक्रमण रोक्न ‘काउन्टर इन्टेलिजेन्स एजेन्सी’ले गरेको संघर्षको घटनामा आधारित रहेर यो फिल्म बनेको छ । इल्या लेबेदेव र निकिता वैसोत्स्कीले यो फिल्म संयुक्तरुपमा निर्देशन गरेका हुन् ।
रसियन फिल्म डेज अन्तर्गत ‘द च्यालेन्ज’, ‘द डिनो प्यामिली’ र ‘अल रङ गर्ल’ पनि प्रदर्शन हुनेछन् । अन्तरिक्षको घटनामा बनेको क्लिम शिपेन्कोद्वारा निर्देशित फिल्म ‘द च्यालेन्ज’ अन्तरिक्षमा छायाङ्कन भएको पहिलो फिल्म हो । एक चिकित्सक अन्तरिक्ष स्टेसनमा पुगेर त्यहाँका बिरामीको शल्यक्रिया गर्नुपर्ने जटिल र साहसिक कथामा यो फिल्म बनेको छ । शून्य गुरुत्वाकर्षणमा गरिने शल्यक्रियाले यो फिल्मलाई रोचक बनाएको छ ।
एडभेन्चर र पारिवारिक जनरामा बनेको फिल्म ‘द डिनो प्यामिली’को निर्देशक म्याक्सिम भोल्कोभ हुन् । एक किशोरी झुक्किएर डाइनोसर युगमा पुगेपछि जीवन रक्षाका लागि भिमकाय जनावरसँग गरेको द्वन्द्वको कथा यस फिल्ममा प्रस्तुत गरिएको छ ।
इभानोभा लेक्जान्ड्राद्वारा निर्देशित ‘अल रङ गर्ल’ले ‘बुलिङ’को मुद्दा उठान गरेको छ । १० कक्षामा पढ्ने किशोरी मोटोपनका कारण आफ्नो एकतर्फी प्रेमीका अगाडि अपमानित भएपछि उनले गर्ने विद्रोहको कथा फिल्ममा समेटिएको छ । यी फिल्महरू निःशुल्क हेर्न पाइने जनाइएको छ ।
प्रतिक्रिया 4