News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले ८ अर्ब ८८ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
- राष्ट्र बैंकले वाणिज्य बैंकमा ७ अर्ब १० करोड ४० लाख, विकास बैंकमा १ अर्ब ३३ करोड २० लाख र वित्त कम्पनीमा ४४ करोड ४० लाख रुपैयाँ लगानी गर्ने जनाएको छ।
- मुद्दती निक्षेप आगामी वैशाख ३ देखि ३ सय ६७ दिनका लागि राखिने र आवेदन चैत २२ गतेसम्म बुझाउनुपर्ने राष्ट्र बैंकले बताएको छ।
२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब ८८ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले सूचना प्रकाशन गरी विभिन्न कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा प्रतिशतका आधारमा लगानी हुनेछ ।
उक्त रकममध्ये वाणिज्य बैंकमा ७ अर्ब १० करोड ४० लाख, विकास बैंकमा १ अर्ब ३३ करोड २० लाख र वित्त कम्पनीमा ४४ करोड ४० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने गरी छुट्याइएको छ ।
राष्ट्र बैंकले आगामी वैशाख ३ देखि ३ सय ६७ दिनका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । उक्त रकम निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आगामी बिहीबार अर्थात् चैत २२ गतेसम्म माग आवेदन बुझाउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
उक्त रकम निक्षेपमा लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने छ । राष्ट्र बैंकबाट तोकिएको न्यूनतम कुल पूँजीकोष (बफर सहित) कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको लगायत सर्त पूरा गरेको हुनुपर्ने छ ।
प्रतिक्रिया 4