२० चैत, काठमाडौं । नेकपा एमालेले संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा पार्टीको कुनै निर्देशन, नियन्त्रण वा हस्तक्षेप नभएको बताएको छ ।
शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले यसबारे सार्वजनिक टिप्पणी नगर्न पनि पार्टी पंक्तिलाई आह्वान गरेको छ ।
उपमहासचिव लेखराज भट्टका अनुसार, बैठकले उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै प्रकारको निर्देशन, नियन्त्रण एवं हस्तक्षेप भएको थिएन भन्ने कुरा प्रष्ट पारेको छ ।
‘निर्वाचन समितिले निर्धारित प्रक्रिया पूरा गरेर पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो,’ भट्टले भने, ‘यो बैठक उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै प्रकारको निर्देशन, नियन्त्रण एवं हस्तक्षेप भएको थिएन भन्ने कुरा प्रष्ट पार्न चाहन्छौं ।’
साथै, उनले संसदीय दल नेताको निर्वाचनका सन्दर्भमा सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि बताए ।
‘चैत १८ गते सम्पन्न नेकपा एमाले संसदीय दल नेताको निर्वाचनका सन्दर्भमा सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । दल नेताको निर्वाचन दलको विधान बमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको हो,’ उनले भने, ‘लोकतान्त्रिक विधिबाट भएको यो निर्णयलाई सम्मान गर्न र सार्वजनिक रुपमा टिप्पणी नगर्न पार्टी पंक्तिलाई आह्वान गर्छ । खासगरी युवा पंक्तिबाट प्राप्त भएका सुझावलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ ।’
एमालेले संसदीय दलको नेतामा रामबहादुर थापालाई निर्विरोध निर्वाचित गरेको थियो । एमालेका युवा सांसद सुहाङ नेम्वाङले पनि उम्मेदवारी दिन तयारी गरेका थिए ।
यद्यपि समर्थक र प्रस्तावक नै नपाएपछि उनले अन्तिम समयमा उम्मेदवारी दर्ता गर्न पाएनन् ।
सो विषयमा एमालेकै युवा पंत्तिले आपत्ति जनाउँदै आएको थियो ।
प्रतिक्रिया 4